दक्षिण कोरियाली विदेशमन्त्री चुङ इयु योङको प्रस्तावित नेपाल भ्रमण स्थगित भएको छ।
कूटनीतिक स्रोतका अनुसार दक्षिण कोरियाली विदेशमन्त्री चुङ दुईदिने भ्रमणमा डिसेम्बर ४ मा नेपाल आउने तय भएको थियो।
केही दिनयता कोरियामा कोरोना भाइरस संक्रमण बढेको कारण देखाउँदै विदेशमन्त्री चुङले नेपाल भ्रमण स्थगित गरेका हुन्।
नेपालस्थित दक्षिण कोरियाली दूतावासले विदेशमन्त्री चुङको नेपाल भ्रमण स्थगन भएको जानकारी परराष्ट्र मन्त्रालयलाई पठाएको छ।
भ्रमणको अर्को मिति तय नभएको स्रोतले बतायो। सन् २००९ यता दक्षिण कोरियाली विदेशमन्त्रीको नेपाल भ्रमण भएको छैन।
गत कात्तिक २३ मा नेपाल र दक्षिण कोरियाबीच संयुक्त परामर्श संयन्त्रको बैठक काठमाडौंमा आयोजना भएको थियो। बैठकमा कोरियाली विदेश मन्त्रालयका वरिष्ठ कूटनीतिज्ञ सग्र्योल ली नेतृत्वको टोली सहभागी भएको थियो।
उक्त बैठकमा नेपाल र कोरियाले द्विपक्षीय सम्बन्ध सुदृढ गर्न उच्चस्तरीय भ्रमण गर्ने सहमति गरेका थिए। कोरोना संक्रमणपछि दक्षिण कोरियासँग पहिलोपटक भौतिक उपस्थितिमै प्रतिनिधिमण्डलस्तरमा छलफल भएको थियो।
नेपाली कामदारको रोजगारीको आकर्षक र प्रमुख गन्तव्य हो, दक्षिण कोरिया। तर, भाषा परीक्षा उत्तीर्ण गरे पनि कोरोनाको कारण देखाउँदै कोरियाले करिब १० हजार नेपाली कामदार लैजान नमान्दा समस्या सिर्जना भएको थियो।
अहिले दक्षिण कोरियाले नेपालबाट कामदार लैजाने प्रक्रिया फेरि सुरु गरिसकेको छ।
रोजगार अनुमति प्रणाली (ईपीएस) अन्तर्गत ६० हजार नेपाली कामदार कोरियामा छन्। नेपालको ऊर्जा क्षेत्रमा लगानी बढाउने इच्छा देखाइरहेको छ।
Shares
प्रतिक्रिया