ad ad

राजनीति


२३ गते राति देउवाले के बोल्दैछन् बाइडेनले डाकेको ‘समिट फर डेमोक्रेसी’मा?

२३ गते राति देउवाले के बोल्दैछन् बाइडेनले डाकेको ‘समिट फर डेमोक्रेसी’मा?

सन्तोष घिमिरे
मंसिर १४, २०७८ मंगलबार २१:३०, काठमाडौँ

अमेरिकी राष्ट्रपति जो बाइडेनले मंसिर अन्तिम साता आयोजना गर्न लागेको ‘समिट फर डेमोक्रेसी’ मा प्रधानमन्त्री शेरबहादुर देउवा ११ सदस्यीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै सहभागी हुने भएका छन्।

भर्चुअल माध्यमबाट आयोजना हुन लागेको उक्त सम्मेलनमा प्रधानमन्त्री देउवाले मंसिर २३ गते राति मन्तव्य दिने कार्यक्रम तय भएको परराष्ट्र मन्त्रालयले जनाएको छ। नेपाली प्रतिनिधिमण्डल अमेरिकी समय अनुसार बिहान ८ः१५ देखि ९ः१५ सम्म सहभागी हुनेछ। 

अमेरिकी राष्ट्रपतिले बाइडेनले सम्बोधन गरेपछि अन्य सहभागी देशका प्रतिनिधिले समिटलाई सम्बोधन गर्नेछन्। अमेरिकी राष्ट्रपतिले मंसिर २३ र २४ गते ‘समिट फर डेमोक्रेसी’ को आयोजना गर्दैछन्। 

समिटमा प्रधानमन्त्री देउवाले नेपालले लोकतन्त्र, मानवअधिकार र महिला अधिकार रक्षाका लागि हालसम्म चालेका कदमबारे बोल्नेछन्। उनले लोकतान्त्रिक मूल्य र मान्यतामा आधारित शासन प्रणालीप्रति मुलुकका तर्फबाट प्रतिबद्धता जनाउनेछन्। 

त्यस्तै देउवाले लामो समयदेखि टुंगिन नसकेको संक्रमणकालीन न्यायका मुद्दा चाँडै टुंग्याउने प्रतिबद्धता पनि व्यक्त गर्नेछन्। लोकतन्त्रको सान्दर्भिकता र महत्वका अतिरिक्त सुशासन र कानुनी शासनका लागि नेपालमा भइरहेका प्रयासबारे समेत देउवाले धारणा राख्ने भएका छन्। 

प्रधानमन्त्री देउवाले लोकतन्त्रबारे दिएको मन्तव्य समेटिएको ‘प्रि—रेकडेर्ड भिडियो’ तयार गरी अमेरिकी विदेश मन्त्रालयलाई पठाइनेछ। जुन भिडियो अमेरिकी विदेश मन्त्रालयको वेबसाइटमा सम्मेलनअघि नै राखिनेछ। 

देउवासँगै सम्मेलनमा ककसले भाग लिँदै छन्? 
उक्त भर्चुअल सम्मेलनमा प्रधानमन्त्री देउवाका साथमा परराष्ट्रमन्त्री डा. नारायण खड्का, मुख्यसचिव शंकर दास बैरागी, परराष्ट्र सचिव भरतराज पौड्याल, परराष्ट्र मन्त्रालय र प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका वरिष्ठ अधिकारी सहभागी हुनेछन्। सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीका अनुसार सोमबार बसेको मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री देउवाको नेतृत्वमा समिट फर डेमोक्रेसीमा सहभागी हुने प्रतिनिधिमण्डलको टुंगो लगाएको हो। 

परराष्ट्र मन्त्रालय र प्रधानमन्त्री कार्यालयले प्रधानमन्त्री देउवाको सहभागिताका लागि तयारी गरिरहेका छन्। डेढ साताअघि नेपाल आएका अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लुसँगको भेटमा देउवाले समिटमा आफू सहभागी हुने बताएका थिए। अमेरिकाले गत महिना नेपाललाई उक्त समिटमा सहभागी हुन निमन्त्रणा पठाएको थियो। 

के हो समिट फर डेमाक्रेसी? 
समिट फर डेमोक्रेसी अमेरिकी राष्ट्रपति बाइडेनको व्यक्तिगत चाहना र तत्परतामा आयोजना हुन लागेको सम्मेलन हो। 

समकालीन विश्वमा लोकतन्त्रको चुनौतीका रुपमा देखापरेका अधिनायकवाद र भ्रष्टाचारविरुद्ध लड्न तथा मानवअधिकारको रक्षा गर्न ‘मन मिल्ने मुलुक’ मिलेर काम गर्ने संकल्प लिएर बाइडेनले समिट आयोजना गर्न लागेएको अमेरिकी राष्ट्रपति कार्यालयले जनाएको छ।

एक वर्षअघि राष्ट्रपतीय चुनावको अभियानका क्रममा बाइडेनले आफू निर्वाचित भए लोकतन्त्रबारे विश्व सम्मेलन आयोजना गर्ने घोषणा गरेका थिए।  

विश्वका लोकतन्त्र पक्षधर भनिएका ११० मुलुकले दुई दिने सम्मेलनमा अमेरिकी निम्तो पाएका छन्। समिटमा दक्षिण एसियाबाट नेपाल, भारत, पाकिस्तान र माल्दिभ्सलाई डाकिएको छ। तर, यस क्षेत्रका भुटान, बंगलादेश र श्रीलंकालाई निम्ता दिइएको छैन।

ताइवानलाई पनि बाइडेनको निम्ता, चीनद्वारा विरोध
अमेरिकी विदेश मन्त्रालयले गत साता सार्वजनिक गरेको समिटमा सहभागी हुने मुलुकको सूचीमा चीन छैन। तर, चीनले आफ्नो अभिन्न हिस्सा दाबी गर्दै आएको टापु ताइवान भने सूचीमा परेको छ। त्यसैले चीनले त्यसको विरोध गरेको छ। 

‘समिट फर डेमोक्रेसीमा सहभागिताका लागि ताइवानी अधिकारीलाई अमेरिकाले निमन्त्रणा गरेकाेप्रति हाम्रो कडा आपत्ति छ,’ चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता चाओ लिचियानले गत साता बेइजिङमा आयोजित पत्रकार सम्मेलनमा भने।

उनले जनवादी गणतन्त्र चीनले मात्रै सम्पूर्ण चीनको वैधानिक प्रतिनिधित्व गर्ने उल्लेख गर्दै भने, ‘विश्वमा एकमात्रै चीन छ। त्यो भनेको जनवादी गणतन्त्र चीन मात्रै हो।’ 

ताइवानकी डिजिटल मन्त्री अड्री ताङ र अमेरिकास्थित ताइवानका प्रतिनिधि हसियाओ बि—खिम समिटमा सहभागी हुने त्यहाँको विदेश मन्त्रालयले जनाएको छ।

चीनसँगको प्रतिद्वन्द्विता साँध्न अमेरिकाले ताइवानलाई सम्मेलनमा डाकेको विश्लेषण भइरहेको छ। कतिपयले यसलाई अमेरिकाले एक चीन नीति छाड्न लागेको संकेतको रुपमा पनि हेरेका छन्। यद्यपि दुई सातअघि चिनियाँ राष्ट्रपति सी चिनफिङसँगको भर्चुअल वार्तामा बाइडेनले आफू एक चीन नीतिप्रति प्रतिबद्ध रहेको बताएका थिए। 

ताइवानका कारण अमेरिका र चीनबीचको तनाव युद्धमा बदलिन सक्ने चिन्ता भूराजनीतिका जानकारहरुले व्यक्त गर्दै आएका छन्। 

केही समयअघि ताइवानमा अमेरिकी सैनिक तैनाथ रहेको ताइवानकी राष्ट्रपतिले बताएकी थिइन्। ताइवानमा सैन्य उपस्थिति बढाउँदै लगेर अमेरिकाले चीनलाई घेराबन्दी गर्न खोजेको आरोप चिनियाँ सरकारी सञ्चारमाध्यमले लगाएका छन्। 

बाइडेनको समिट फर डेमोक्रेसीलाई चीन र रुसले ‘अमेरिकी धुरीको लोकतान्त्रिक गठबन्धन’ को एक हिस्साको संज्ञा दिएका छन्। चीनका अलावा रुस र उत्तर कोरियालगायत मुलुक पनि उक्त समिटमा निम्त्याइएका छैनन्। चीन र रुसले अमेरिकी परिभाषाको लोकतन्त्र आफूलाई मान्य नहुने बताएका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .