नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अब दलहरुले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको बहिर्गमनको विकल्प सोच्ने बताएका छन्।
ज्ञापन पत्र बुझाउन पुगेको नेपाल बार एसोसियसनको टोलीलाई दलहरुले न्यायालयको समस्या न्यायालयले नै समाधान गरोस् भन्ने चाहेको भएपनि त्यसो नभएकाले अब गठबन्धनमा छलफल गर्ने बताएका हुन्।
‘यो समग्र राज्य प्रणालीसँग सम्बन्धित विषय हो। न्यायपालिकाको मात्रै समस्या होइन’, बारको टोलीलाई प्रचण्डले भने, ‘यसले अन्तर्राष्ट्रिय रुपमा पनि राम्रो सन्देश दिइरहेको छैन। अब मुख्य पार्टीका संसदीय दलका नेताहरु र सम्बन्धित समितिका सभापतिलाई बोलाएर एउटा निर्णयमा पुग्ने सोचेका छौं।’
सत्ता गठबन्धनले सर्वोच्च अदालतमा भइरहेका सबै कुरामा जानकार रहेको र बेला बेला यस विषयमा छलफल पनि हुने गरेको बताएका छन्।
‘सहजै मार्गप्रशस्त हुन्छ होला भन्ने हामीले सोचेका थियौं, तर हामीले सोचे भएन। अबको बाटो बारे हामीले सोच्दैछौं’, प्रचण्डको भनाई उदृत गर्दै नेपाल बारका एक पदाधिकारीले भने।
कानुन व्यवसायीले न्यायालयको सुद्धिकरणका लागि चलाएको अभियानको प्रशंसा गर्दै प्रचण्डले संवैधानिक आयोगका नियुक्तिले न्यायालयमा पहिल्यैदेखि विकृति र सेटिङ भएको पुष्टि गर्ने बताए।
द्वन्द्वको समयमा होस् वा अघि पछिका नेपालका परिवर्तनमा कानुन व्यवसायीले खेलेको भूमिकाको प्रचण्डले प्रशंसा गरे।
‘हामीले जनयुद्ध लड्दा पनि तपाईहरुले हाम्रा मुद्दा लडिदिनुहुन्थ्यो, गणतन्त्र ल्याउने कुरामा पनि तपाईहरुको भूमिका सह्रानीय छ। अब तपाईहरुलाई पनि गुण लगाउनुपर्छ होला’, प्रचण्डले हाँस्दै जवाफ दिए।
गत कात्तिक ७ गतेबाट प्रधानन्यायाधीश राणाको राजीनामा माग गर्दै आन्दोलन गरिरहेका छन्। कानुन व्यवसायीको आन्दोलनका कारण न्यायालय प्रभावित भएको छ।
प्रधानन्यायाधीश राणा भने बरु महाअभियोगको सामना गर्ने तर राजीनामा नदिने पक्षमा अडिग छन्। नेपाल बारको टोलीले प्रधानन्यायाधीशको बहिर्गमनका लागि भूमिका खेल्न आग्रह गर्दै दलहरुलाई ज्ञापन पत्र बुझाएको हो। यसअघि अन्य दललाई पनि बारले ज्ञापन पत्र बुझाएको थियो।
Shares
प्रतिक्रिया