राजनीति


दुई ‘सिंह’को जुँगाको लडाइँले सर्लाहीमा ९ वडाको अधिवेशन अन्योल

दुई ‘सिंह’को जुँगाको लडाइँले सर्लाहीमा ९ वडाको अधिवेशन अन्योल

शैलेन्द्र महतो
मंसिर १६, २०७८ बिहिबार १५:२८, काठमाडौँ

विवादको कारण सर्लाहीमा नेपाली कांग्रेसको ९ वटा वडाको अधिवेशन अन्योल बनेको छ। कांग्रेस संस्थापन पक्षका अमरेश सिंह, संस्थापन इतर निधि पक्षका वीरेन्द्र सिंह र पौडेल पक्षको त्रिपक्षीय विवादले ९ वडाको अधिवेशन अन्योल बनेको हो। 

जसमा दुई ‘सिंह’को विवादले बलरा नगरपालिकाकै चारवटा वडामा अधिवेशन हुन सकेको छैन। प्रतिनिधिसभा क्षेत्र ४ अन्तर्गत पर्ने बलरा नगरपालिकाको वडा नं. ५,७,९ र ११ मा वडा अधिवेशन पार्टी भित्रको विवादको कारण हुन नसकेको कांग्रेसका सर्लाही जिल्ला अध्यक्ष नागेन्द्र राय यादवले बताए। 

यस्तै प्रतिनिधि सभा क्षेत्र २ अन्तर्गतको कौडेना गाउँपालिका वडा नं.४, मलंगवा नगरपालिका वडा नं. १०, ब्रह्मपुरी गाउँपालिका वडा नं. १ र पर्सा गाउँपालिकाको वडा नं. ३ मा अधिवेशन विवादको कारणले अन्यौल बनेको छ। 

प्रतिनिधिसभा क्षेत्र नं. ३ अन्तर्गत कविलासी नगरपालिका वडा नं. ४ को अधिवेशन बाँकी रहेको जिल्ला अध्यक्ष रायले बताए। 

सर्लाही क्षेत्र ४ का प्रतिनिधिसभा सदस्य अमरेश सिंह र क्षेत्र नं. ४ (क) बाट प्रदेशसभा सदस्यमा निर्वाचित वीरेन्द्र सिंह पक्षबीच गएको आइतबार र सोमबार बलरा नगरपालिका वडा नं. ९ र वडा नं. ८ को वडा अधिवेशनमा झडप हुनुको साथै गोली समेत चलेको थियो।

सोमबार वडा नं. ८ को वडा अधिवेशनमा आएका मतदान अधिकृत उमेशचन्द्र झालाई अमरेश सिंह पक्षका कार्यकर्ताले नियन्त्रणमा लिन खोज्दा प्रहरीसँग झडप भएको थियो। झडपमा मतदान अधिकृत झा, तीन प्रहरी र एक स्थानीयसहित पाँचजना घाइते भएका थिए। वीरेन्द्र सिंह प्रदेश २ का महिला बालबालिका, युवा तथा खेलकुदमन्त्री छन्।

यी दुई नेताको जुँगाको लडाइँले बलराको चारवटा वडामा अधिवेशन हुन नसकेको जनाइएको छ। 

सर्लाहीमा २० पालिकामा २ सय वडा छन्। जसमा विवादको कारण ९ वटा वडामा हुन नसकेको अधिवेशन पछि गर्ने जिल्ला अध्यक्ष रायले बताए। 

‘भोलि शुक्रबारका लागि प्रतिनिधिसभा क्षेत्र र प्रदेश क्षेत्रको अधिवेशन हुने तय गरिएको छ। विवादित ९ वटा वडा अधिवेशन तत्काल छाडेर भोलि प्रदेश र प्रतिनिधिसभा क्षेत्रको अधिवेशन गर्ने सहमति भएको छ। २० वटै पालिका र जिल्ला अधिवेशन प्रदेश र केन्द्रको अधिवेशन पश्चात गर्ने तयारी छ’ जिल्ला अध्यक्ष यादवले नेपालखबरसँग भने।


 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .