राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को नयाँ नेतृत्व चयनका लागि अध्यक्षमा कमल थापा र राजेन्द्र लिङ्देनबीच चर्को प्रतिस्पर्धा देखिएको छ।
दुवैले फराकिलो मतान्तरसहित आफूले विजयी हुने दाबी गरिरहेका छन्। तर निर्वाचन हुन लाग्दासम्म कसले जित्ला? एकिन गर्न कठिन भएको छ।
उनीहरुको प्रतिस्पर्धामा खासगरी दुई नेता निर्णायक देखिएका छन्। ती हुन् : पशुपति शमशेर जबरा र विक्रम पाण्डे।
देशभर संगठन, नेता र कार्यकर्ता भएका यी दुई पात्र जता खुल्छन्, त्यतै पल्ला भारी हुने राप्रपाकै नेताहरु बताउँछन्।
एकजना अध्यक्ष प्रकाशचन्द्र लोहनीले लिङ्देनलाई सघाउने बताएका छन्। उता अर्का नेता लोकेन्द्रबहादुर चन्दले थापालाई सघाउने प्रष्ट पारिसकेका छन्।
तर, सकभर नेतृत्व सर्वसम्मत बनाउन लागिपरेका अर्का अध्यक्ष जबरा भने अहिलेसम्म कुनै पक्षमा खुलेका छैनन्।
राप्रपाको नेतृत्व चयनका लागि शनिबार मतदान हुँदैछ। ४३ सय ८१ प्रतिनिधिले आगामी ४ वर्षे कार्यकाल हाँक्ने नेता छान्दैछन्।
निर्वाचनमा १६ पदाधिकारीसहित २ सय ६६ जना प्रतिस्पर्धामा छन्।
त्यसैले जबरा र पाण्डे दुवै पक्षको तानातानमा परेका छन्। भृकुटीमण्डपमा उपस्थित प्रतिनिधिसमेत नेताहरुको निर्णय कुरेर बसेका छन्।
पाण्डेलाई थापा र लिङ्देन दुवै पक्षले आआफ्नो प्यानलको उपाध्यक्ष पदमा राखेका छन्। तर, पाण्डे शुक्रबार लिङ्देनसँगै चुनावी प्रचारमा देखिए।
यसैलाई लिङ्देन पक्षले पाण्डे आफनै पक्षमा खुलेको दाबी गरेको छ।
पूर्वमन्त्री र निर्माण व्यवसायी रहेका पाण्डेका पक्षबाट ५ सय बढी प्रतिनिधि भृकुटीमण्डप आएको उनीनिकट एक नेताले बताए।
यो संख्या कुनै पनि उम्मेदवारलाई जिताउन निर्णायक बन्न सक्छ।

पाण्डेभन्दा बढी प्रभावशाली जबराको पक्षमा कति प्रतिनिधि छन्, स्पष्ट छैन। लामो समय अध्यक्ष भएर राप्रपा हाँकेका जबराको पक्षमा देशभर राम्रो उपस्थिति रहेको उनीनिकट नेताहरु बताउँछन्।
थापा पक्षबाट महामन्त्रीका उम्मेदवार भुवन पाठकले आफ्नो पक्षले चुनाव जित्ने सम्भावना ७० प्रतिशत रहेको दाबी गरे। उनले जबरा र पाण्डेको समर्थन पनि आफूहरुलाई हुने बताएका छन्।
‘हाम्रो (कमल थापा) पक्षलाई पशुपति शमशेर जबरा, विक्रम पाण्डे, दीपक बोहरा, लोकेन्द्रबहादुर चन्द, जयन्त चन्द जस्ता हेभीवेटको समर्थन छ,’ पाठकले नेपालखबरसँग भने, ‘प्रदेश २ र गण्डकीबाहेक सबै प्रदेशमा हामी अग्रस्थानमा छौँ। यो नतिजा ७०/३० हुन्छ होला।’
थापा पक्षका अर्का नेता राजाराम बर्ताैलाले पनि चुनाव जित्ने कुरामा कुनै द्विविधा नभएको बताए।
‘कमल थापा प्यानलले चुनाव जित्ने कुरामा कुनै द्विविधा छैन,’ बर्ताैलाले भने, ‘सानदार चुनाव जित्ने योजनामा हामी छौँ।’
थापा पक्षमा लामो समय राप्रपाको कुनै न कुनै पदमा रहेर काम गरेका नेताहरु बढी छन्।
लामो समय पार्टी प्रमुख बनेका र सरकारमा महत्वपूर्ण मन्त्रालय सम्हालेका थापा अहिले प्रतिनिधिको पहुँचमा सजिलै पुगिसकेका छन्।
उनले आफू नेतृत्वमा हुँदै त्यो संयन्त्र बनाइसकेको बर्ताैला दाबी गर्छन्।
तर, मंसिर १५ गते उद्घाटनसत्रयता अर्का उम्मेदवार राजेन्द्र लिङ्देनको प्रचार–प्रसार आक्रामक देखिन्छ।
शुक्रबार पनि बिहानदेखि उनी प्रचारमै व्यस्त थिए। उनलाई नेपालगञ्ज उपमहानगरपालिकाका मेयर धवलशमशेर राणाले साथ दिएका छन्। यस्तै अभिनेत्री रेखा थापा पनि प्रचारमा छिन्।
लिङ्देनपक्षीय नेता राजेन्द्र गुरुङले हमाल, पहाड र तराई सबैतिर आफूहरुको पक्षमा माहोल बनेको बताए। प्रदेश १ र २ र गण्डकीमा सबैभन्दा राम्रो रहेको उनले बताए।
लिङ्देन पक्षले जबरा र पाण्डे आफ्नै पक्षमा खुल्ने दाबी गरेको छ।
‘जबरा राजा सा’वको भनिएका टप नेताहरु लिङ्देनतिर खुलिसक्नुभयो,’ एक नेताले भने, ‘रवीन्द्रप्रताप शाह, सगुनसुन्दर लावती, मोहन यादव, रामचन्द्र राय, कृष्णप्रताप मल्ल, धर्मराज जोशीलगायतका नेताले लिङ्देनलाई समर्थन गरिसक्नुभयो।’
पाण्डे चुनावी प्रचार अभियानमा दिनभर लिङ्देनसँगै हिँडेको उपाध्यक्षका उम्मेदवार दिलविकास राजभण्डारीले जानकारी दिए।
‘उहाँ दिनभर राजेन्द्र लिङ्देनसँगै चुनावी प्रचारमा हिँड्नुभयो,’ राजभण्डारीले नेपालखबरसँग भने, ‘उहाँले यता समर्थन गरेको वक्तव्य निकाल्ने तयारी गर्नुभएको छ।’
थापा पक्षको दाबी पनि त्यस्तै छ। नेता भुवन पाठकले पाण्डे बेलुका १० बजेसम्म कमल थापा पक्षमा खुल्ने दाबी गरे।
‘उहाँ विक्रम पाण्डे उम्मेदवारको अन्तिम नामावली प्रकाशित हुने बेलासम्म कमल थापा पक्षको प्यानलमै खुल्नुहुन्छ, अहिले माहोल बुझ्न मात्र उता जानुभएको हो,’ पाठकले थपे।
जबरा पनि आफ्नै पक्षमा रहेको उनी जिकिर गर्छन्।
टोली नेता महत्वपूर्ण
राप्रपाको महाधिवेशनस्थलमा दुई दिनदेखि देखिएको अर्काे दृश्य भनेको प्रतिनिधिहरुले आफ्नो विवेकमात्र प्रयोग गर्दैनन्, टोली नेताको पनि कुरा सुन्छन्।
कञ्चनपुरबाट प्रतिनिधि आएका एक नेताले भने, ‘टोली नेताले भनेअनुसार मत दिन्छौँ, उहाँले जसको पक्षको कुरा गर्नुहुन्छ, उसैलाई मत दिने हो।’
टोली नेतामा कोही जिल्ला अध्यक्ष छन्। कोही क्षेत्रीय अध्यक्ष छन्।
कैलालीका रंगप्रसाद न्यौपानेले पनि जिल्लाको नेतृत्वसँग बसेर मत दिने व्यक्ति टुंगो लगाउने बताए। तराईबाट आएका रामगोपाल मण्डलले पनि त्यही आशयको कुरा राखे।
‘अहिलेसम्म कसलाई मत दिने टुंगो भएको छैन, हामी समूहमा छलफल गर्छौँ,’ उनले भने।
नुवाकोटका कृष्णप्रसाद पाण्डेले शुक्रबार रातभरको बसाइले राप्रपाको नेतृत्व को हुने भन्ने टुंगो लगाउने बताए।
‘हाम्रो अध्यक्ष को हुन्छ? पदाधिकारी कसले जित्छ? आज रातभरीको बसाइले निश्चित हुन्छ,’ उनले भने।
थापालाई पुरानाको साथ, लिङ्देनलाई नयाँको भर
अध्यक्षमा थापालाई पुराना नेताको साथ छ। उनले भाषण र प्रचार पनि सोही अनुसार गरेका छन्।
लिङ्देन भने नयाँ युवा नेताहरुलाई तान्न प्रयासरत छन्। थापाले पटकपटक मन्त्री भएर केही काम नगरेकोले नयाँ नेतृत्व ल्याउनुपर्ने लिङ्देन पक्षको भनाइ छ।
स्याङ्जाबाट प्रतिनिधि रहेकी छमकला कुँवरले भनिन्, ‘अब राप्रपा जोगाउने हो भने नयाँ नेतृत्व आवश्यक छ। कम्तीमा नयाँ भयो भने केही गर्छ भन्ने त लाग्छ।’
Shares

प्रतिक्रिया