नेकपा माओवादी केन्द्रको प्रदेश कमिटी नेतृत्वमा दाबी गर्नेहरु राष्ट्रिय सभाका सदस्यदेखि प्रदेश सभा सदस्यसम्म छन्।
केही त केन्द्रीय सदस्य बनिसकेकाहरु पनि छन्। माओवादीले केन्द्रीय सदस्य भएकाहरुलाई सकभर प्रदेश कमिटीमा नलाने निर्णय गरेको छ।
तर, केन्द्रीय सदस्यबाट राजीनामा दिएर प्रदेशमा जान तम्सिने नेताहरु पनि छन्।
जसकारण नेतृत्व चयनमा रस्साकस्सी भइरहेको छ। प्रदेश १, २, लुम्बिनी प्रदेशमा नेतृत्वकै विषयमा कुरा मिल्न सकेको छैन।
माओवादीको २५ र २६ गते भएको सम्मेलनबाट प्रदेश कमिटीमा नयाँ नेतृत्व चयन गर्न लागिएको हो। तर, मूल नेतृत्वमै कुरा नमिल्दा त्यो प्रक्रिया लम्बिदै गएको छ।
प्रदेश १ मा तीन नेताको दाबी
प्रदेश १ मा सुरेश कुमार राई, हेमराज भण्डारी र इन्द्र आङ्बो अध्यक्षका दाबेदार छन्।
राई संघीय सांसद हुन्। यस्तै भण्डारी केन्द्रीय सदस्य हुन् भने आङ्बो प्रदेशसभा सदस्य र अहिले मन्त्री छन्।
शेरबहादुर देउवा मन्त्रिमण्डलमा मन्त्री बन्ने चर्चामा रहेका राईलाई अध्यक्ष प्रचण्डले प्रदेश १ को संयोजक बनाएर पठाएका थिए।
त्यही आधारमा उनी प्रदेश १ को अध्यक्ष बन्ने सम्भावना बलियो रहेको नेताहरु बताउँछन्।
त्यसो त भण्डारी र आङ्बो पनि निर्वाचन गरेरै भए पनि नेतृत्व चयन गर्नुपर्ने पक्षमा उभिएपछि त्यहाँ पदाधिकारी चयन हुन सकेको छैन।
प्रदेश २ मा ३ गते बन्दसत्र
प्रदेश २ को बन्द सत्र नै सुरु भएको छैन। मंसिर २५ गते प्रचण्डले उद्घाटन गरे पनि प्रदेश कमिटीले बन्दसत्र पुस ३ गते गर्ने निर्णय गरेको माओवादी केन्द्र पर्सा जिल्लाका इन्चार्ज विजय महतोले नेपालखबरलाई बताए।
उनका अनुसार प्रदेश कमिटीको भोलि (मंगलबार) बैठक बोलाइएको छ।
‘भोलि बैठक बोलाएका छौँ, बन्दसत्रको तयारीको लागि सो बैठक बोलाएका हौँ,’ महतोले भने, ‘अहिलेसम्म नेतृत्वका विषयमा कुरै उठेको छैन भोलिबाट उठ्छ होला।’
बागमती प्रदेश : पाँच नेताको दाबी
बागमती प्रदेशमा अध्यक्ष पदका पाँच नेताले दाबी गरेका छन्।
दीनानाथ गौतम (काभ्रे), देवीप्रसाद ढकाल (डिपी) भक्तपुर, सरल सहयात्री (सिन्धुपाल्चोक), विशाल खड्का (दोलखा) र अनिल शर्मा लगायतले दाबी गरेका छन्।
तीमध्ये माओवादी नेतृत्वले सहयात्रीलाई अध्यक्ष बनाउने प्रयास भइरहेको स्रोतले जनाएको छ।
बागमतीमा २ सय ७५ सदस्यीय कार्यसमिति टुंगो लागेको माओवादी केन्द्रका मुख्यसचिव श्रीराम ढकालले जानकारी दिए।
'२ सय ७५ सदस्यीय कार्यसमिति टुंगिएको छ', ढकालले भने, 'अब नेतृत्व टुंग्याउन भोलि (मंगलबार) बैठक बस्दैछ।
बागमती प्रदेशको नेतृत्व दाबी गर्नेसँग नेताहरुले व्यक्तिगत र सामूहिक छलफल चलाइरहेका छन्।
ती छलफलमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सहमति नभएका प्रदेशहरूमा निर्वाचनबाट नेतृत्व छान्न सुझाएका छन्।
गण्डकीमा गायत्री गुरुङ
अरु प्रदेशमा सकस भइरहेका बेला गण्डकीमा भने सर्वसम्मत नेतृत्व चयन भएको छ। त्यहाँको अध्यक्षमा गायत्री गुरुङ चयन भएकी छन्।
गण्डकी प्रदेशकी सांसद तथा प्रमुख सचेतक गुरुङलाई माओवादी केन्द्रको पहिलो अधिवेशनले अध्यक्ष चुनेको हो।
मंसिर २५ गते सुरु भएको अधिवेशन गायत्रीलाई अध्यक्ष बनाउँदै २०१ सदस्यीय प्रदेश कमिटी पनि तय गरेको छ। पदाधिकारी भने आउँदो बैठकले चयन गरिने बताइएको छ।
लुम्बिनी प्रदेश : गिजोलियो
लुम्बिनी प्रदेशले पनि २ सय १७ जनाको नाम टुंगो लगाएको छ।
प्रदेश कमिटी सदस्य बुद्धि जिसीले नेपालखबरलाई बताए अनुसार लुम्बिनी प्रदेश कमिटी २ सय ५३ सदस्य हुने छ।
त्यसमा क्लस्टर मिलाउन अहिले २ सय १७ जनाको नाम टुङ्ग्याइएको छ। बाँकी ११ जनामा सहमति गर्ने तयारी छ।
बाँकी नाम संख्या भने मनोनित गर्ने व्यवस्था छ। लुम्बिनी अध्यक्षमा प्रदेश सभा सदस्यसमेत रहेका सुदर्शन बराल र तुल्सीराम पुनले दाबी गरेका छन्।
बराल यसअघि लुम्बिनीमै सामाजिक विकास मन्त्री भइसकेका छन्। यस्तै पुन दाङ संयोजक हुन्।
‘उपाध्यक्ष, सचिव लगायत पदहरुमा नेताहरुको 'इन्ट्रेष्ट' नमिलेपछि लुम्बिनीको नेतृत्व टुंगो लगाउन समस्या भयो,’ एक नेताले नेपालखबरसँग भने, ‘त्यो मिल्यो भने सुदर्शन बराललाई अध्यक्ष बनाउन धेरै सहमत छन्।’
कर्णालीमा टुंगो छैन
उता कर्णाली प्रदेशमा माओवादी केन्द्रले कमिटी नै टुंगो लगाउन सकेको छैन।
केन्द्रीय सदस्य झकबहादुर मल्लका अनुसार प्रदेशमा २ सय ११ जनाकै नाम टुंगो लगाउने काम भइरहेको छ।
त्यहाँ अध्यक्षका आकांक्षीहरुमा मल्ल, रामदीप आचार्य र राजकुमार शर्मा छन्। मल्लले कमिटी नै नटुंगिएकोले पदाधिकारीको पनि निश्चित भइनसकेको बताए।
'अहिले हामी छलफलमै छौँ, हाम्रो २ सय ११ जनाकै नाम टुंग्याएपछि मात्रै पदाधिकारी छनौट अघि बढ्छ,’ मल्लले भने, ‘कर्णालीले सहमतिबाटै कमिटी चयन गर्छ।’
सुदूरपश्चिममा पाँचजना दौडमा
सुदूरपश्चिम प्रदेशमा पनि ६ जनाले अध्यक्षमा दाबी गरेका छन्। इन्चार्ज खगराज भट्टका अनुसार अहिले त्यहाँ बन्दसत्र चलिरहेको छ।
त्यहाँको अध्यक्षमा राष्ट्रियसभा सदस्य हरिप्रसाद चौधरी, शरदसिंह भण्डारी (अछाम), नरेन्द्र कुँवर (बैतडी), प्रदेशसभा सदस्य वीरमान चौधरी, नेपबहादुर चौधरी र हरि ज्ञवाली दौडमा छन्।
नेतृत्वको विषयमा सहमति नजुटेपछि सोमबारै टुंगो लाग्नुपर्ने प्रदेश नेतृत्व रोकिएको छ।
सकेसम्म सहमति नभए चुनाव
बागमतीमा कुरा नमिलेपछि खुमलटारमा भेट्न गएका नेताहरुसँग अध्यक्ष प्रचण्डले सकभर सहमति गर्ने तर नमिले निर्वाचनबाट नेतृत्व टुङ्ग्याउन सुझाव दिएको एक नेताले बताए।
'सकभर सहमति प्रयास गर्नुस्। नसके निर्वाचनमा गएर नेतृत्व टुङ्ग्याउनुहोला', प्रचण्डको भनाइ उद्धृत गर्दै एक नेताले भने, 'साथीहरुले आफ्नो आधार र हैसियत पनि निर्वाचनमा हेर्नुहुनेछ। हार्नुभयो भने फेरि मिहिनेत गर्नुपर्ने महसुस हुनेछ।'
प्रचण्डले कुनै हालतमा पार्टी संगठनलाई असर गर्ने गरी गतिविधि नगर्न पनि नेताहरुलाई निर्देशन दिएका छन्।
Shares

प्रतिक्रिया