ad ad

राजनीति


सूर्य लिएर उठेका हृदयशले खोले नयाँ पार्टी, कारबाही गर्ला एमालेले?

सूर्य लिएर उठेका हृदयशले खोले नयाँ पार्टी, कारबाही गर्ला एमालेले?

नयाँ दल घोषणा गर्दै हृदयश त्रिपाठी। तस्बिर : नेपालखबर


कृष्ण बहाब
मंसिर २८, २०७८ मंगलबार १८:२३, काठमाडौँ

स्वतन्त्र नागरिक समूह बनाएर राजनीति गरिरहेका हृदयेश त्रिपाठीले मंगलबार नयाँ पार्टी घोषणा गरेका छन्। 

२०७४ सालको प्रतिनिधिसभा चुनावअघि तत्कालीन राजपा छाडेर एमालेको सूर्य चिह्नबाट चुनाव जितेका त्रिपाठीले ‘जनता प्रगतिशील पार्टी’घोषणा गरेका हुन्।

तत्कालीन वाम गठबन्धनको बनेको बेला त्रिपाठीले एमालेको सूर्य चुनाव चिन्ह लिएर जितेका थिए। 

उनीसँगै बृजेशकुमार गुप्ता पनि कपिलवस्तुबाट सूर्य चुनाव चिन्हबाटै उठेका थिए। अब दुवैजनाले फरक पार्टी गठन गरेपछि सूर्य चिन्हबाट जितेका उनीहरूको सांसद् पद के होला चर्चा सुरु भएको छ।

एमाले फुटाएर नेकपा समाजवादी दर्ता गर्दा माधव नेपाल लगायत अन्य १४ जनालाई एमालेले हतार हतार कारबाही गरेको थियो। 
माधव नेपाल लगायतलाई हतारमा कारबाही गरेको एमालेले अब हृदयेश नेतृत्वमा गएकाहरूलाई के गर्छ भन्ने विषय चासो भएको छ। 

कानुन भन्छ : निर्वाचितले नयाँ दल खोले सांसद पद जान्छ

सूर्य चिन्ह लिएर चुनाव जितेकाले हृदयेश त्रिपाठीले नयाँ दल घोषणा गर्दा एमालेको नेतृत्वले सार्वजनिक अभिव्यक्ति त अहिलेसम्म दिएका छैनन्। 

तर, राजनीतिक दल सम्बन्धी ऐनले भने जुन पार्टीबाट सांसदहरू निर्वाचित भएका छन् त्यो दल त्याग गरे वा नयाँ दल बनाए सांसद् पद भने रिक्त भएको मानिन्छ।

दल त्याग गर्न नपाउने विषयमा राजनीतिक दलसम्बन्धी ऐन २०७३  को दफा ३० को उपदफा (१) भन्छ, 'कुनै दलको तर्फबाट उम्मेदवार भई निर्वाचित भएको सङ्घीय संसद्को सदस्य, प्रदेश सभाको सदस्य वा स्थानीय तहको सदस्यले त्यस्तो पदको पदावधि कायम रहेसम्म जुन दलको उम्मेदवार भई निर्वाचित भएको हो त्यस्तो दल त्याग गर्न सक्ने छैन।'
 
यदि कोही निर्वाचित प्रतिनिधिले दल त्यागेमा दफा ३० कै उपदफा २ अनुसार संसद् पद रिक्त हुने प्रावधान छ। 

उपदफा २ मा भनिएको छ, 'उपदफा (१) प्रतिकूल हुने गरी कुनै सदस्यले दल त्याग गरेमा निज निर्वाचित भएको पद निजले दल त्यागेको मितिदेखि स्वतः रिक्त भएको मानिनेछ।'

ऐनमा कुनै पनि राजनीतिक दलले दलका सदस्य तथा सांसदले दल त्याग गरेको सूचना सचिवालयमा दर्ता गराएको १५ दिनभित्र सदनमा जानकारी गराउन पर्ने उल्लेख छ। 

ऐनको दफा ३५ मा भनिएको छ, 'सूचना प्राप्त भएपछि सम्बन्धित सदन वा सभाको सभामुख वा अध्यक्षले त्यस्तो सूचना दर्ता भएको मितिले पन्ध्र दिनभित्र त्यस्तो सूचनाको जानकारी सम्बन्धित सदन वा सभामा दिनेछ।'

एमाले गर्ला कारबाही?

राजनीतिक दलसम्बन्धी ऐन २०७३ अनुसार सहजै हृदयेश त्रिपाठी लगायत सूर्य चिन्ह लिएर उठेकाहरुलाई एमालेले कारबाही गर्न सक्छ। तर, हृदयशले खोलेको पार्टीको विषयमा भने एमाले अझै बोलेको छैन।

नयाँ दल दर्ता गरेपछि एमालेका दोस्रो तहका नेताहरूसँग बुझ्दा यसबारेमा खास धारणा नबनेको बताएका छन्। 

एमाले संसदीय दलका प्रमुख सचेतक विशाल भट्टराईले त्रिपाठीले नयाँ पार्टी खोलेको विषयमा दु:ख मात्रै व्यक्त गरे।

'दल दर्ता गरेर सञ्चालन गर्न सबैसँग अधिकार छ, तर सूर्य चुनाव चिन्ह लिएर निर्वाचन जितेकोले नयाँ पार्टी गठन गरेको थाहा पाउँदा दुख लागेको छ', कारबाही हुन्छ भन्ने प्रश्नमा भट्टराईले भने, 'मैले भनिहालेँ दु:खद विषय हो भनेर, कारबाहीको सन्दर्भमा पार्टीमा छलफल हुन्छ होला।'

यदि त्रिपाठीलाई कारबाही गरेका एमालेको सांसद सङ्ख्यामा समेत असर पुग्छ। प्रतिनिधिसभाका २ जना संसद् स्वतन्त्र राजनीतिक समूहबाट सूर्य चुनाव चिन्ह लिएर उठेका थिए। दुई जनालाई कारबाही गर्दा सांसद् सङ्ख्या समेत घट्ने भएकाले एमालेले कारबाही गरिहाल्ने स्थिति कम छ।

एमालेका एक नेताले अध्यक्ष केपी ओलीसँग छलफल गरेरै नयाँ त्रिपाठीले पार्टी घोषणा भएको बताए। 

'प्राविधिक हिसाबमा त उहाँ एमालेकै संसद् हो तर, राजनीतिक रूपमा होइन', ती नेताले भने, 'यो पार्टी गठनमा समेत अध्यक्ष कमरेडसँग अन्डरस्ट्यान्डिङ भएको छ।'

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .