राजनीति


माओवादी केन्द्र प्रदेश २ सम्मेलन : सदस्य छनोट गर्ने जिम्मा जिल्लाहरूलाई

माओवादी केन्द्र प्रदेश २ सम्मेलन : सदस्य छनोट गर्ने जिम्मा जिल्लाहरूलाई

शैलेन्द्र महतो
पुस ४, २०७८ आइतबार १८:३८, काठमाडौँ

नेकपा माओवादी केन्द्र प्रदेश २ को बन्द सत्र सकिएको छ। २७१ प्रदेश समिति प्रदेश समिति बनाउने र राष्ट्रिय सम्मेलनका लागि प्रतिनिधि छनोट गर्ने निर्णय गर्दै सर्लाहीको लालबन्दीमा बन्द सत्र सम्पन्न भएको हो। 

बैठकले जिल्लाहरूलाई जिल्लामा भएका सक्रिय सदस्यबाट आरक्षण कोटा अनुसार प्रदेश सदस्य तथा राष्ट्रिय सम्मेलन प्रतिनिधि छनोट गरेर प्रदेश आयोजक समितिमा पेश गर्ने जिम्मा दिइएको प्रदेश २ का संयोजक प्रह्लाद बुढाथोकीले जानकारी दिए। 
 

उनका अनुसार जिल्लाबाट हाल कायम रहेको सक्रिय सदस्य, संगठन लगायतको आधारमा महिला ३५ प्रतिशत, युवा २० प्रतिशत, दलित १५ र मुस्लिम ५ प्रतिशत हुने गरी प्रदेश सदस्य छनोट गर्नुपर्ने छ। यस्तै, १५ सय सक्रिय सदस्यबाट एकजना राष्ट्रिय सम्मेलन प्रतिनिधि छनोट गर्ने निर्णय भएको आयोजक समितिका सदस्य तथा वाईसीएल प्रदेश २ का इन्चार्ज शंकर महतोले जानकारी दिए। 

यो नामावली छनोट गरेर जिल्लाले पुस २० गतेसम्म आयोजक समितिलाई बुझाउनु पर्ने छ। आयोजक कमिटीले त्यस पश्चात सोही २७१ सदस्यबाट पदाधिकारी चयन गर्ने संयोजक बुढाथोकीले बताए। उनका अनुसार सांगठनिक अवस्था र क्लस्टर अनुसार सदस्य छनोट गर्दा प्रत्येक जिल्लाबाट २५ देखि ४० जनासम्म सदस्य छनोट हुने छ।  

पुस २५ गते भव्य रुपमा घोषणा सभा आयोजन गरेर प्रदेश कमिटी घोषणा गर्ने सदस्य महतोले जानकारी दिए। गएको मंसिर २५ गते जनकपुरमा अधिवेशनको उद्घाटन सत्र गरेको माओवादी केन्द्र पुस २ गते बन्दसत्र गर्ने निर्णय गरेको थियो। तर पार्टी भित्रको विवादले बन्दसत्र स्थगित भएको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .