राजनीति


कांग्रेस प्रदेश २ नेतृत्व चयन गर्न मतदान सुरु, ६७ पदका लागि १७५ जना प्रतिस्पर्धामा

देउवा र निधि–कोइराला पक्षबीच कडा टक्कर
कांग्रेस प्रदेश २ नेतृत्व चयन गर्न मतदान सुरु, ६७ पदका लागि १७५ जना प्रतिस्पर्धामा

जनकपुरस्थित गोपाल धर्मशालामा आयोजित कांग्रेस प्रदेश २ अधिवेशनअन्तर्गत मतदान।


शैलेन्द्र महतो
पुस ८, २०७८ बिहिबार ९:२३, जनकपुर

नेपाली कांग्रेस प्रदेश २ को नेतृत्व चयनका लागि मतदान सुरु भएको छ। 

६७ पदका लागि बिहान ९ बजे सुरु मतदान दिउँसो ३ बजेसम्म चल्ने निर्वाचन समितिका सदस्य विनय सिंहले नेपालखबरलाई जानकारी दिए। 

जनकपुरधामस्थित गोपाल धर्मशालामा जारी कांग्रेसको प्रथम अधिवेशनमा ७२ पदका लागि १८० जनाले उम्मेदवारी दिएका छन्। तर यीमध्ये ५ सदस्य निर्विरोध चयन भइसकेका छन्।

बाँकी ६७ पदका लागि मतदान भइरहेकाे हो। 

प्रदेश २ का आठ जिल्लाबाट झण्डै २ हजार मतदाता निर्वाचनमा सहभागी छन्। 

मतदानका लागि चारवटा बुथको व्यवस्था गरिएको निर्वाचन समिति सदस्य सिंहले बताए। 

मतदान बिहीबार बिहान ८ बजे सुरु गर्ने भनिए पनि मतपत्र छपाइमा ढिलाइ भएकाले सुरुवात केही ढिला भएकाे हाे।

मतदानमा ढिलाइका विषयमा बुधबार सभापतिका उम्मेदवारद्वय कृष्ण यादव र रामसरोज यादव पक्षबीच कुटाकुटसमेत भएको थियो। सोही कारण आज बिहान ८ बजेसम्मका लागि मतदान स्थगन गरिएकाे थियो। 

नयाँ नेतृत्व चयनका लागि सभापति शेरबहादुर देउवा पक्षबाट कृष्ण र विमलेन्द्र निधि पक्षबाट रामसरोज प्यानलसहित चुनावी मैदानमा छन्। रामसरोजलाई शेखर कोइराला पक्षको पनि समर्थन छ। 

कृष्ण यादव रौतहट जिल्लाका पार्टी सभापति हुन् भने रामसरोज प्रदेश २ का कांग्रेस संसदीय दलका नेता तथा भौतिक पूर्वाधार विकास मन्त्री हुन्।

रामसरोज निधि र शेखर कोइरा पक्षका संयुक्त उम्मेदवार रहेकाले दुई उम्मेदवारबीच कडा प्रतिस्पर्धा हुने देखिएको छ। 

कृष्ण यादवको प्यानलबाट उपसभापतिमा प्रदेश २ का महिला तथा बालबालिकामन्त्री वीरेन्द्र सिंह (सर्लाही) र बाराका चन्द्रशेखर यादवले उम्मेदवारी दिएका छन् भने महामन्त्रीमा सिरहाका उपेन्द्र यादव र पर्साका वृहस्पतिकुमार श्रेष्ठ उम्मेदवार बनेका छन्। 

यस्तै सहमहामन्त्रीमा बाराका जयनारायण यादव, सप्तरीका परशुराम चौधरी र सप्तरीकै रीता यादवले उम्मेदवारी दिएका छन्। 

यस्तै रामसरोजको प्यानलबाट उपसभापतिमा रौतहटका धनलाल ठोकर र सर्लाहीका विनोद खनाल छन् भने महामन्त्रीमा सिरहाका नरेश यादव र सर्लाहीका हरेश महतोले उम्मेदवारी दिएका छन्।

यस्तै सहमहामन्त्रीमा पर्साका अरविन्द अमात्य, महोत्तरीको बलवा नगरपालिकाका नगरप्रमुख विनोद यादव र बाराकी निर्मला सुवेदी समेतले रामसरोजको प्यानलबाट उम्मेदवारी दिएका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .