ad ad

राजनीति


धरानमा सुल्झियो जेठ २ विवाद, अध्यक्षमा हर्कजंग एभेङ

धरानमा सुल्झियो जेठ २ विवाद, अध्यक्षमा हर्कजंग एभेङ

कृष्ण बहाब
पुस ११, २०७८ आइतबार २१:६, काठमाडौँ

जेठ २ विवादले नेकपा (एमाले) धरान उपमहानगरमा दुई वटा समानान्तर कमिटी बनेपछि उत्पन्न विवाद सुल्झिएको छ। एमाले धरान उपमहानगर कमिटीको विवाद समाधान गर्न गठित कार्यदलले अध्यक्षमा हर्कजंग एभेङलाई निरन्तरता दिने निर्णय गरेपछि विवाद टुङिएको हो।

जेठ २ पक्षधर कमिटीका अध्यक्ष नारायण सुवेदी जिल्ला कमिटी सदस्यसमेत थिए। सुवेदीलाई जिल्ला कमिटी सदस्यमा निरन्तरता सँगै धरान उपमहानगर इञ्चार्ज बनाउने निर्णय भएपछि विवाद मिलेको हो।


धरानको विवाद गठन गर्न एमाले सुनसरी जिल्ला कमिटीको बैठकले अध्यक्ष खेमराज पोख्रेलको अध्यक्षतमा ५ सदस्यीय कार्यदल गठन गरेको थियो। उक्त कार्यदलले धरानको विवाद समाधान गर्न एभेङलाई अध्यक्षमा निरन्तरता दिने निर्णय गरेको हो। 

यसैगरी, संस्थापन पक्षको उपाध्यक्ष सविता राईलाई जिल्ला कमिटीमा मनोनित गर्ने र उक्त खाली रहेको पदमा अर्को कमिटीका सचिव पारस काङमाङ राईलाई उपाध्यक्ष बनाउने पनि कार्यदलले निर्णय गरेको संयोजक एवं एमाले जिल्ला अध्यक्ष पोख्रेलले बताए।

जेठ २ पक्षको कमिटीका उपाध्यक्ष रहेका राजमणि निरौलालाई जिल्ला कमिटीमा लगेर उचित विभागको जिम्मेवारी पनि दिने कार्यदलको निर्णय छ। सचिवमा भने संस्थापन पक्षकै सुदेश चापागाईलाई निरन्तरता दिने कार्यदलले निर्णय गरेको छ।

उपसचिवमा दुवै तर्फबाट एक एक जना राखेर विवाद मिलाउने सहमति भएको छ। 

गत कार्तिक ९ गते धरानमा विवाद नमिलेपछि एमालेको नगर अधिवेशन दुई पक्षले अलग अलग गरेका थिए। संस्थापन पक्षले धरान १० सैनिक भवनमा अधिवेशन गर्दै एभेङको अध्यक्षतामा ८५ सदस्यीय कमिटी बनाएको थियो भने अर्को पक्षले धरान १५ होटल इजीराइडरमा अधिवेशन गर्दै नारायण सुवेदीको अध्यक्षतामा ८५ सदस्यीय कमिटी गठन गरेको थियो।

८५ सदस्यीय कमिटी र १० प्रतिशत मनोनित गर्दा ९४ सदस्यीय कमिटी बन्ने छ। दुवै कमिटीका केही सदस्यहरुलाई अन्य कमिटीमा व्यवस्थापन गरेर मिलाउने अध्यक्ष एभेङले बताए।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .