राजनीति


दिल्ली पुगेकै दिन मोदीसँग भेट, यस्तो बन्दैछ देउवाको भारत भ्रमण कार्यक्रम

२०–२५ जनाबाट अझै बढ्न सक्छ भ्रमण टोली
दिल्ली पुगेकै दिन मोदीसँग भेट, यस्तो बन्दैछ देउवाको भारत भ्रमण कार्यक्रम

फाइल तस्बिर


सन्तोष घिमिरे
पुस १२, २०७८ सोमबार १७:५०, काठमाडौँ

परराष्ट्र मन्त्रालयले प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमणको तयारी थालेको छ।

भ्रमणका सम्भावित एजेन्डाबारे परराष्ट्र सचिव भरतराज पौड्यालले आइतबार अर्थ, ऊर्जा र गृह लगायत विभिन्न मन्त्रालयका उच्च अधिकारीसँग छलफल गरेका छन्। 

‘प्रधानमन्त्रीको भ्रमणका लागि प्रारम्भिक तयारी बैठक बसेको हो’, परराष्ट्रका एक अधिकारीले नेपालखबरसँग भने, ‘अर्को बैठकमा मन्त्रालयहरुले आफ्ना तर्फबाट संभावित एजेन्डा पेश गर्नेछन्।’ 

प्रधानमन्त्री आगामी पुस २५ गते नयाँदिल्ली जाने गरी कार्यक्रम बनाइएको परराष्ट्र अधिकारीहरुले बताएका छन्। 

प्रधानमन्त्री देउवाको भ्रमण मन्त्रिपरिषद्बाट स्वीकृत हुन बाँकी छ।

‘२० देखि २५ जनाको टोली प्रधानमन्त्रीको भ्रमणमा सहभागी हुनेछन्। तर भ्रमण टोली अन्तिमसम्म बढ्नसक्छ’, ती अधिकारीले भने। 

भारतमा कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोन संक्रमित बढिरहेकाले त्यहाँको अवस्था हेरेर मात्रै भ्रमण निश्चित गरिने परराष्ट्र अधिकारीहरुले बताए। 

‘केही दिनमा प्रधानमन्त्रीको भ्रमणको टुंगो लाग्नेछ। तर भ्रमणको तयारीमा हामी जुटेका छौँ’, एकजना अधिकारीले भने। 

तर प्रधानमन्त्री देउवाको सचिवालयका एक सदस्यले पुस २५ गते प्रधानमन्त्री भारत जाने निश्चित भइसकेको बताए। 

उनका अनुसार प्रधानमन्त्रीले पुस २५ गते नै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग द्विपक्षीय भेटवार्ता गर्नेछन्। 

उनले त्यही दिन भारतीय राष्ट्रपति रामनाथ कोविन्दसँग शिष्टाचार गर्नेछन्। देउवाको भ्रमणलाई औपचारिक बनाउने गृहकार्य भइरहेको छ। 

एक दिने दिल्ली बसाइपछि देउवा पुस २६ गते प्रधानमन्त्री नरेन्द्र मोदीको गृहप्रदेश गुजरात पुग्नेछन्। 

गुजरातको गान्धीनगरमा आयोजना हुन लागको दशौँ ‘भाइब्रेन्ट गुजरात ग्लोबल समिट’ मा सहभागी हुन प्रधानमन्त्री देउवा जाने गरी कार्यक्रम बनाइएको छ। 

देउवाले परराष्ट्रमन्त्री डा. नारायण खड्कालाई भ्रमणको तयारी गर्न निर्देशन दिइसकेका छन्। 

गुजरात राज्य सरकारले आयोजना गर्ने उक्त ग्लोबल समिट मोदीले उद्घाटन गर्नेछन्। 

पुस २६ देखि २८ सम्म आयोजना हुन लागेको उक्त समिटमा नेपाल, श्रीलंका लगायत विश्वका विभिन्न मुलुकलाई साझेदार मुलुकका रुपमा आमन्त्रण गरिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्। 

मोदी गुजरातको मुख्यमन्त्री हुँदा सन् २००३ मा उक्त समिटको अवधारणा अघि सारिएको थियो। हरेक दुई वर्षमा यो समिट हुँदै आएको छ। यसपाली समिटको नारा ‘आत्मनिर्भर गुजरातदेखि आत्मनिर्भर भारत’ दिइएको छ। 

समिटमा विश्वका आर्थिक क्षेत्रका प्रभावशाली व्यक्ति, लगानीकर्ता र राजनीतिक व्यक्तित्व गरी १३५ देशका ४० हजार पाहुना सहभागी हुनेछन्।  

देउवा प्रधानमन्त्री भएयता पहिलोपटक भारत भ्रमणमा जान लागेका हुन्। असार २९ गते पाँचौं कार्यकालका लागि प्रधानमन्त्री बनेयता देउवा पहिलो विदेश भ्रमणमा बेलायतको स्कटल्याण्ड गएका थिए। 

उनी त्यहाँ संयुक्त राष्ट्रसंघीय जलवायु सम्मेलनमा सहभागी भए। स्कटल्याण्ड भ्रमणका क्रममा उनले भारतीय मोदीसँग साइडलाइन वार्ता थिए। भेटमा दुई जनाबीच भ्रमण आदानप्रदान गर्ने सहमति भएको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .