ad ad

राजनीति


माओवादीका १० धनाढ्य नेताको नाम सार्वजनिक गर्न माग

माओवादीका १० धनाढ्य नेताको नाम सार्वजनिक गर्न माग

सागर न्यौपाने
पुस १५, २०७८ बिहिबार १९:२३, काठमाडौँ

नेकपा माओवादी केन्द्रको आठौँ महाधिवेशनको बन्दसत्रमा पार्टी मध्यम र धनाढ्य वर्गको चंगुलमा फस्दै गएको कुरा प्रतिनिधिहरूले उठाएका छन्।

तीन दिनदेखि जारी बन्दसत्रमा बिहीबार बोलेका महाधिवेशन प्रतिनिधिहरुले पार्टीलाई पुँजीपतिहरूले कब्जा गर्दै लगेकोमा चिन्ता जनाएका हुन् 

उनीहरुले नेताहरुको अस्वभाविक जीवनशैलीलाई लिएर नेतृत्वमाथि प्रश्न उठाए।

बिहीबारको बन्द सत्रमा समूह २२ (बागमती प्रदेश) को तर्फबाट सुझाव दिँदै टोली नेता इन्द्रबहादुर थिङ `छिन्ताङ'ले नेताहरुको जीवनशैलीमाथि प्रश्न उठाए। 

थिङले माओवादीभित्र समानस्तरका नेताहरुका जीवन शैलीमा देखिएको असमानताबारे प्रश्न उठाएका हुन्।  

'माओवादीमा समानस्तरका नेताहरुको जीवन शैलीमा देखिएको असमानता अन्त्य हुनु पर्छ', उनले भने, 'नेताहरुमा देखिएको विलाशी जीवनशैलीबारे नेतृत्वले जवाफ दिन सक्नुपर्छ।'

यही क्रममा बिहीबार सुझाव दिने अन्य नेताहरुले पनि पार्टीमा आवद्ध १० धनाढ्य नेताहरुको नाम सार्वजनिक गर्न माग गरेका छन्। अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सोमबार पेश गरेको राजनीतिक प्रतिवेदनमा विश्वका दश धनाढ्यको विवरण रहेको भन्दै शान्ति प्रक्रियामा आएपछि धनी भएका माओवादी नेताहरुको पनि सूची सार्वजनिक गर्न प्रस्ताव पेश भएको हो।

माओवादी नेता सुदर्शन बराल

‘अध्यक्षको दस्तावेजमा विश्वका दश मुख्य धनाढ्यहरुको नाम उल्लेख छ,’ समूहगत रुपमा उठेको सुझाव राख्दै लुम्बिनी प्रदेश 'ख'बाट नेता सुदर्शन बरालले भने, ‘शान्ति प्रक्रियामा आएपछि माओवादीका नेताहरु पनि धनी भएका छन्। ती १० धनाढ्य नेताको नाम उल्लेख गर्न साथीहरुले मलाई मौखिक सुझाव दिनुभएको छ।’

यसअघि एकै परिवारका दुई जनालाई लाभ हुने ठाउँमा नपठाउन माग गरिएको थियो।​

अध्यक्ष प्रचण्डले पेश गरेको राजनीतिक प्रतिवेदनमाथि समूहगत रुपमा उठेका सुझाव दिने क्रममा गण्डकी प्रदेश अध्यक्ष गायत्री गुरुङले उक्त माग राखेकी थिइन्। 

‘हाम्रो समूह १० बाट अध्यक्षको प्रतिवेदनमाथि सुझाव दिने क्रममा साथीहरुले एकै परिवारका दुई जनालाई जिम्मेवारी र लाभका पदमा नपठाउने व्यवस्था गर्न माग गर्नुभएको छ’ गुरुङले सुझाव उदृत गर्दै भनिन्, ‘एक व्यक्ति दुई पटक भन्दा बढी लाभका पदमा जान नपाउने व्यवस्था गरियोस्।’

त्यसैगरी विभिन्न लाभको पदमा पुगेका नेताहरूको सम्पत्ति विवरण सार्वजनिक गर्न पनि माग भएको छ।​ पार्टीको तर्फबाट लाभको पदमा पुगेका सबैले सम्पत्ति विवरण सार्वजनिक गर्नुपर्ने माग यसअघि उठेको थियो।

राजनीतिक प्रतिवेदनमाथि सुझाव दिँदै उक्त माग लुम्बिनी प्रदेश र बागमती प्रदेशबाट उठेको थियो।

उता बिहीबर नै सुदूरपश्चिम प्रदेशको तर्फबाट नेता मानबहादुर धामी 'सन्तोष' ले सुझाव राख्ने क्रममा जनयुद्धका क्रममा भएका गल्तीका लागि पार्टीले आत्मालोचना गर्नुपर्ने बताएका थिए।

धामीले कम्युनिष्टको नजरमा आधारभूत वर्गबारे पनि परिभाषा चाहिने बताए।

'कम्युनिष्टको नजरमा आधारभूत वर्ग को हुन्? कम्युनिष्ट पार्टीलाई कसरी आधारभूत वर्गको बनाउन सकिन्छ भन्ने प्रश्न प्रतिवेदनमा स्पष्टसँग आउनुपर्छ', उनले भनेका थिए, 'विजातीय वर्ग कम्युनिष्टमा समाहित हुने अवस्था छ। निम्न मध्यम तथा मध्यम वर्गको पार्टीभित्र बाहुल्यता भएको अवस्थामा सर्वहाराकरणको प्रश्नलाई पार्टीले कसरी हल गर्छ भन्ने आउनुपर्छ।'

यो समूहले मालिकदेखि मजदुरसम्म एउटै पार्टीमा हुँदा कसले कसका लागि संघर्ष गर्ने भन्ने प्रश्न उब्जिने पनि बताएका छन्।

'मालिकदेखि मजदुरसम्म एउटै पार्टीमा हुने बेला कसले कसका लागि संघर्ष गर्ने र कम्युनिष्ट पार्टी नै कसका लागि भन्ने प्रश्न उब्जिन्छ। मार्क्सवादी मान्यताले आधारभूत वर्गले मात्रै सही ढंगले क्रान्ति गर्न सक्छ भन्छ, ' सुझावमा भनिएको थियो, 'तर हाम्रो आधारभूत वर्ग को हो त? पछिल्लो चरणमा पुँजीवादको विकाससँगै वर्ग चरित्र र संरचनामा परिवर्तन आएको छ। यसका आधारमा वर्ग विश्लेषण गर्नु अनिवार्य छ। यही आधारमा हाम्रा मित्रशक्ति को हुन्, सत्रुशक्ति को हुन् भन्ने निर्धारण हुन्छ।'

माओवादी केन्द्रको आइतबारदेखि जारी महाधिवेशनको बन्द सत्र बिहीबारबाट सकिएको छ। अध्यक्ष प्रचण्डले सोमबार ४५ पृष्ठको राजनीतिक प्रतिवेदन पेश गरेका थिए।

उक्त प्रतिवेदनमाथि सुझाव दिन २५ समूह बनाइएको थियो। त्यसक्रममा अध्यक्ष प्रचण्डले वाम बाटो छाडेर दक्षिणपन्थी मार्ग अवलम्बन गरेको सहित अनेक आरोप लागेका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .