राजनीति


बुद्ध र गान्धीलाई आदर्श ठान्ने सिके राउत किन बन्दैछन् अराजक?

बुद्ध र गान्धीलाई आदर्श ठान्ने सिके राउत किन बन्दैछन् अराजक?

शैलेन्द्र महतो
पुस १९, २०७८ सोमबार १५:५०, काठमाडौँ

स्वतन्त्र मधेशको मागसहित राजनीतिमा हामफालेका डा.सिके राउत गौतम बुद्ध र महात्मा गान्धीलाई आदर्श ठान्थे। राउतले गान्धी जस्तै अहिंसावादी आन्दोलन गर्ने प्रतिवद्धता जनतामाझ कयौंपटक गरे। 

मधेश विखण्डनको उद्देश्यसहित सुरु गरेको भूमिगत आन्दोलनका क्रममा उनी कैयौं पटक गिरफ्तार  भए। प्रहरी हिरासत र कारागार पुगे। तर आफू जेलमै सड्ने निश्चित देखेपछि २०७५ फागुन २४ गते तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओली समक्ष शान्तिपूर्ण राजनीतिमा आउन सहमत भए। र, मूलधारको राजनीति रोजे। 

त्यसपछि उनले शान्तिपूर्ण आन्दोलनबाटै मधेशसहित देश परिवर्तनको योजना बुने। स्वतन्त्र मधेश गठबन्धन पार्टीलाई विघटन गरी मूलधारको राजनीतिको लागि नयाँ जनमत पार्टी खडा गरे। तर, गान्धी र बुद्धलाई आदर्श ठानेर राजनीतिक यात्रा सुरु गरेका राउत एकदशक नपुग्दै अराजकताको बाटोतर्फ उन्मुख भएका छन्।  

कहिले सरकारी कर्मचारीलाई कालोमोसो दल्ने, त कहिले मजदुरको ट्रक जलाउने उनको समूहको दिनचर्या नै बनेको छ। मधेशका जिल्लाहरुमा राउतको प्रत्यक्ष निर्देशनमा उनका कार्यकर्ताले यस्ता गतिविधि जारी राखेका छन्। किसान आन्दोलन र भ्रष्टाचार विरुद्धको अभियानको नाममा अराजकता मच्चाइरहेका छन्। 

जनमत पार्टीको अराजक हर्कतविरुद्ध बोल्नेलाई उनका कार्यकर्ताले सामाजिक सञ्जालमार्फत जनकारवाही गर्ने धम्की दिने गरेको पाइन्छ। 

एकसाता अघि सिरहाको औरही गाउँपालिकाबाट आक्रोशित किसानले गहुँको बीउ लुटेर लगेका थिए। घटनाका आरोपीहरु पक्राउ परे। त्यहाँबाट जय जवान, जय किसानका नारासहित आउँदो चुनावका लागि माहोल बनाउन राउत नेतृत्वको पार्टीले मधेशका जिल्लाहरूलाई नियमित अशान्त बनाएको छ।

सिरहा, धनुषा, सप्तरी, सर्लाही, रौतहट, बारा लगायतका जिल्लामा शान्तिपूर्ण आन्दोलन भन्दै दिनहुँ चक्काजाम, सवारीसाधन तोडफोड, आगजनी, प्रहरीसँग मुठभेड जस्ता अराजक गतिविधि जारी राखेका छन्। 

उनी शान्तिपूर्ण राजनीतिमा हाम फाल्दा मधेशमा वर्तमान राजनीतिक दलको वैकल्पिक शक्तिको रुपमा उदय भएको चर्चा थियो। आशाको किरण पलाएको थियो मधेशमा। तर, पछिल्लो समय राजनीतिक स्टन्टका लागि राउतले अंगालेका अराजकताले उनीप्रति वितृष्णा फैलिँदै गएको राजनीतिक विश्लेषकहरु बताउँछन्। 

सिके राउत नेतृत्वको दल जनमत पार्टीको कर्मचारीलाई कालोमोसो दल्ने, जनताका सवारीसाधन तोडफोड, आगजनी लगायतका गतिविधिले उनीप्रति आमजनमानसमा वितृष्णा पलाउँदै गएको राजनीतिक विश्लेषक भरत विमल यादवको ठम्याइ छ।

‘सिके राउत स्वतन्त्र मधेशको मागसहित राजनीतिमा आउँदा पक्राउपछि उनको सपोर्टमा पहिलो पटक बोल्ने व्यक्ति म पनि हुँ। तर जुन हिसाबले अस्ति जनकपुरमा खानेपानीका कर्मचारीलाई कालोमोसो गरेर बजार घुमाए, दुव्र्यवहार गरे, त्यो दिनदेखि मलाई सिके राउतप्रति वितृष्णा भएको छ’ विश्लेषक यादवले भने, ‘पहिला सिके राउतप्रति जुन जनाधार, झुकाव थियो अब त्यो रहने।’

राउतको गतिविधिले उनकै राजनीतिक भविष्य अन्धकारमा पारेको यादवको ठम्याई छ।

‘उनको पछिल्लो व्यवहारले जनतामा नकरात्मकता पलाएको छ। सिके राउत ठीक मान्छे होइन । खतम मान्छे हुन् भन्ने भावना पलाएको छ’ यादवले भने, ‘यस्तो अराजक गतिविधिले सिके राउतको भविष्य म ठीक देखिरहेको छैन।’

त्यति मात्र होइन पुरानै दलहरूको सिको गर्दै सत्तामा पुग्न यस्ता अराजक नीति अबलम्बन गरेको चर्चा समेत मधेशमा चलेको छ। राउतले लासको राजनीति गर्न खोजेको राजनीतिक वृत्तमा चर्चा छ। त्यसैले केही दिन यता किसान आन्दोलनको नाममा कार्यकर्तालाई उक्साएर राजमार्गमा चक्काजाम, तोडफोड र प्रहरीसँग मुठभेड गराइरहेको अर्का थरीको बुझाइ छ। 

किसानको समस्या आजको होइन, दशकौंदेखि उस्तै छन्। किसानकै मुद्दा भजाएर बेलाबेला विभिन्न दल र तिनका नेताहरु सत्तामा पुगेका पनि छन्। तिनीहरु बदलिए। अगाडि बढे। तर, किसानको समस्या ज्युँका त्यूँ छन्। अब फेरि किसानकै मुद्दालाई सिँढी बनाएर सिके राउत चुनावी तयारीमा लागेको समेत चर्चा छ। 

सिके राउत वैचारिक रुपमा च्युत भएकाले अराजकता तर्फ उन्मुख भएको कतिपयले आरोप लगाउने गरेका छन्। सिके राउत वैचारिक रुपमा च्युत भएकाले मुठभेड, तनावको राजनीति गर्न थालेको वरिष्ठ पत्रकार समेत रहेका राजनीतिक विश्लेषक चन्द्र किशोरको बुझाइ छ। 

‘सिके राउतसँग अब विचार रहेन। राजनीतिमा विचार प्रवल कुरा हो। त्यसकारण मुठभेड दबाब, तनावको सहाराले मधेशमा आफ्नो प्रभाव बढाउन खोजिरहनु भएको छ’ उनले भने।  

व्यक्ति स्वयम् न्याय दिन लाग्यो भने राज्यको अवधारणा नै समाप्त हुने विश्लेषक झाको भनाइ छ। मधेशमा सुशासन र समाजिक न्याय कसरी आउँछ भन्ने सबालमा वैचारिक रुपमै राउत चुकेको चन्द्रकिशाेर बताउँछन्।

‘लोकतन्त्रमा शक्ति पृथकीकरण हुन्छ। व्यक्ति स्वयम् न्याय दिन लाग्यो भने राज्यको अवधारणा नै समाप्त हुन्छ। दण्ड दिने अधिकार राज्यसँग रहन्छ। त्यसैले राज्यले अधिकार दिन्छ र गलत गरेमा दण्ड पनि दिन्छ। व्यक्ति स्वयम् दण्ड दिन अगाडि बढ्ने अवधारणा आफैँमा गैर लोकतान्त्रिक हो। अराजक दृष्टिकोण हो। त्यसकारण राउतसँग विचार रहेन’ उनले भने, ‘राउतमा धेरै सम्भावना छ। संगठनको कौशल छ। तर दबाब र तनावको राजनीतिले जुन लक्ष्य लिरहनु भएको छ, जे सपना देख्नु भएको छ, सशक्त मधेश र नेपालको त्यो पुरा हुन सक्दैन।’  

लोकतन्त्रमा संस्था मजबुत बनाउनु पर्ने उनको तर्क छ। न्यायपालिका, कार्यपालिका, व्यवस्थापिका मजबुत होस्, शक्तिको पृथकीकरणको मान्यता महत्वपूर्ण हुन्छ। उनका अनुसार शक्तिको एकीकृतकरण आफैँमा अधिनायकवादी सोच हो। यो लोकतन्त्रमा स्वीकार्य नहुने उनको भनाई छ। यो परीक्षामा सिके राउत उत्रन नसकेको उनको तर्क छ।  

चन्द्रकिशाेर भन्छन्, ‘शान्तिपूर्ण राजनीतिको आफ्नै मर्यादा छ। तर राउतमा के देखिएको छ भने कुनै कर्मचारीलाई सार्वजनिक रुपमा निजत्वको अपमानित गर्छन्। कानुन आफ्नो हातमा लिन्छन्। हो, कोही भ्रष्टाचारी छन् भने त्यसको आफ्नो प्रकृया छ। तपाईं शान्तिपूर्ण ढंगबाट राज्यलाई दबाब दिनुस्। त्यो कार्य राज्यले गर्नुपर्छ।’ 

राउतले अहिलेको आन्दोलन किसानको रहेकाले बन्दको अवज्ञा गर्नेलाई कारबाही गर्ने चेतावनी दिने गरेका छन्। त्यसको जिम्मेवारी स्वयम् अवज्ञा गर्ने व्यक्ति हुने उनको तर्क छ। सिरहामा चक्काजाम खुलाउने क्रममा प्रहरीले जनमतका केही कार्यकर्तालाई पक्राउ गरेको थियो। आफ्ना कार्यकर्तालाई जाडोमा कपडा नदिएको, दुव्र्यवहार गरेको भन्दै सिके राउतको

सचिवालयले समाजिक सञ्जालबाट सिरहाका प्रहरी प्रमुख एसपी हिराबहादुर पाण्डेलाई ‘जनकारवाही’ गर्ने चेतावनी समेत दिएको थियो। 

जनकारवाही, तोडफोड, आगजनी गर्ने जस्ता गतिविधि नेतृत्व परिपक्वताको अभावमा हुने तर्क राजनीतिक विश्लेषक भरत विमल यादवको छ। 

‘सिके राउतमा नेतृत्व परिपक्वताको अभाव छ। कसैले अपराध गर्यो, भ्रष्टाचार गर्यो भने तिनलाई कारबाहीको लागि शान्तिपूर्ण आन्दोलन गर्नुस्, धर्ना दिनुस्। कार्यालयमा तालाबन्दी गर्नुस्। तर, कर्मचारीलाई कालोमोसो गर्नु, धम्की दिनु त अपराधिक गतिविधि हो। यसले बुझ्न सकिन्छ उनको ‘लिडरसीप’मा परिपक्वताको निकै अभाव छ।’

शान्तिपूर्ण आन्दोलन गर्दा सरकारले नसुनेकाले बाध्य भएर यस्तो कदम उठाउनु परेको सिके राउतको तर्क छ। 

विगतमा पनि माओवादी, मधेसवादी दलले यस्तो कार्य गरेको स्मरण गर्दै उनले किसानका लागि आफूहरुले आन्दोलन गर्दा कसरी बेठीक भयो भन्दै प्रतिप्रश्न गर्छन्।  

तर, राउत समूहले गर्ने राजनीति शान्तिपूर्ण हो की बन्दुकको, त्यो छुट्याउनु पर्ने विश्लेषक यादवको भनाइ छ।

‘माओवादीले त भन्थ्यो हामी जनयुद्ध गर्दैछौं भनेर। तपाईं (राउत) पनि क्लियर गर्नुस्’ उनले भने, ‘बन्दको अवज्ञा गरेपछि तोडफोड र आगजनी गरेको भन्नु जनतालाई दुःख दिनु मात्रै हो।’ 

भनाई र गराइमा फरक नपार्न आग्रह गर्दै उनले भने, ‘सरकारी अफिस घेराउ गर्नुस्। भनाइ र गराइमा धेरै फरक छ।’ 

हुन त सिके राउत राजनीतिमा रहस्यपूर्ण तरिकाले नै आएका र राज्य समक्ष रहस्यमय ढंगले आत्मसमर्पण गरेकाले उनले के गर्न खोजेका हुन् भन्ने ठम्याउन पनि गाह्रो रहेको राजनीतिक विश्लेषक चन्द्र किशोरको तर्क छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .