ad ad

राजनीति


देउवा नेतृत्वको नेविसंघका उपसभापति राष्ट्रिय सभाको ढोका ढकढक्याउँदै

देउवा नेतृत्वको नेविसंघका उपसभापति राष्ट्रिय सभाको ढोका ढकढक्याउँदै

सुदीप भण्डारी
पुस २०, २०७८ मंगलबार २०:३८, काठमाडौँ

नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा कुनै बेला पार्टीको भातृसंस्था नेपाल विद्यार्थी संघको केन्द्रीय सभापति थिए। २०२८ सालमा देउवा नेविसंघको सभापति भएका थिए।

देउवाकै कार्यकालमा बाँकेका युवराज शर्मा नेविसंघको केन्द्रीय उपसभापति थिए। 

नेविसंघका तत्कालिन सभापति देउवा दोस्रो पटक पार्टी सभापति र पाँचौ पटक प्रधानमन्त्री हुँदा उपाध्यक्ष शर्मा भने अहिले राष्ट्रिय सभा सदस्यको लागि ढोका ढकढक्याउँदै छन्। 

मंगलबार गठबन्धनको तर्फबाट लुम्बिनी प्रदेशबाट राष्ट्रिय सभाको उम्मेदवारी दिँदै गर्दा शर्माले ५० वर्षअघि नेविसंघमा सभापति देउवासँगको सहकार्य सम्झिए।

‘पूर्वाञ्चलबाट अशोक कोइराला, मध्यमाञ्चलमा दामोदर गौतम र मध्य तथा सुदूरपश्चिमको तर्फबाट म केन्द्रीय उपसभापति थिएँ’ उनले भने। 

विद्यार्थी जीवनमा नेविसंघको राजनीतिमा सक्रिय शर्मा २०२५ सालताका बिपीलाई भेट्न भारत गएका थिए। पञ्चायतविरोधी आन्दोलनको क्रममा उनी पटक पटक गरी तीन÷चार वर्ष जेल समेत बसेका थिए। 

२०४६ सालको जनआन्दोलनका बेला शर्मा कांग्रेस बाँकेको सभापति थिए। २०४५ देखि २०४९ सम्म उनी जिल्ला सभापति भएका थिए। त्यसपछि भने महाधिवेशन प्रतिनिधि र महासमिति सदस्य बाहेक न पार्टीको कार्यकारी भूमिकामा नै रहे न त संसदीय पदमा नै। 

सुशिल कोइरालासँग शर्माको सुरुमा राम्रै सम्बन्ध थियो। पछि वैचारिक द्वन्द्व बढ्दै गयो। सुशिल कोइरालासँगको द्वन्द्वका कारण उनी गिरिजाप्रसाद कोइरालाबाट पनि रुचाइएनन्। त्यसैले उनले संसदीय निर्वाचनमा टिकट पाउन सकेनन्। 

२०७० सालको चुनावमा समानुपातिकबाट उम्मेदवार बने तर सांसद बन्न सकेनन्। कांग्रेसको जिल्ला सभापति भएको झण्डै ३ दशकपछि शर्माले अहिले बल्ल राष्ट्रिय सभा सदस्यको लागि टिकट पाएर उम्मेदवार बनेका छन्।

माओवादी केन्द्र, एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चासँग गठबन्धन बनाएर चुनावमा लडेकाले कांग्रेसका उम्मेदवार शर्मालाई चुनाव जित्न केही सहज देखिएको छ।  

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .