ad ad

राजनीति


घर बनाइदिन गएकी मन्त्री झाँक्रीले जब राउटे युवतीसँग ‘मितेरी’ गाँसिन्...

घर बनाइदिन गएकी मन्त्री झाँक्रीले जब राउटे युवतीसँग ‘मितेरी’ गाँसिन्...

राउटे युवतीसँग मितेरी गाँस्दै मन्त्री झाँक्री। तस्बिर : मन्त्री झाँक्रीको सामाजिक सञ्जालबाट।


नेपालखबर
पुस २५, २०७८ आइतबार १६:२७, काठमाडौँ

लोपोन्मुख राउटे समुदायका मानिस एक ठाउँमा बस्दैनन्, उनीहरू फिरन्ते जीवन बिताउँछन्। यसैले उनीहरूलाई स्थायी बसोबासको व्यवस्था गर्न भनेर सरकारले चालु आर्थिक वर्षमा २ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ। 

त्यस रकमबाट सरकार राउटे परिवारका लागि आवास निर्माण गर्न चाहन्छ। सोही योजना कार्यान्वयन गर्न शुक्रबार सहरी विकासमन्त्री रामकुमारी झाँक्री टोलीसहित सुर्खेतको सिम्ता गाउँपालिका–४ कालीखोलास्थित राउटे बस्ती पुगिन्। र, उनीहरू जहाँ बसाइँ सर्न चाहन्छन्, त्यहीँ घर बनाइदिने प्रस्ताव राउटे अगुवाहरूसमक्ष राखिन्। तर फिरन्ते जीवन बिताउने बानी परेका उनीहरू यसमा तयार भएनन्। 

त्यसपछि मन्त्री झाँक्रीको टोलीले एउटा जुक्ति निकाल्यो– मित लगाउने। अनि मन्त्री झाँक्रीले स्थानीय सम्झना शाही र गाजलु शाहीसँग तथा भवन विभागका महानिर्देशक पदमकुमार मैनालीले प्रकाश शाहीसँग मित लगाए– उनीहरूको परम्पराअनुसार टोपी, कपडा र सरसामान आपसमा साटासाट गर्दै।

त्यसपछि भने राउटे अगुवाहरू हर्षित हुँदै मन्त्री झाँक्रीको प्रस्तावअनुसार भवनमा बस्न तयार भए। 

अब उनीहरूका लागि आवास निर्माणको काम चाँडै अगाडि बढ्ने जानकारी मन्त्री झाँक्रीले दिएकी छन्। 

यसैबीच यसका लागि राउटे समुदायलाई मनाउन मितेरी गाँस्दा मन्त्री झाँक्री भावुक भएकी छन्।

उनले सामाजिक सञ्जालमा लेखेकी छन्, ‘साइनो वास्तवमै प्रिय हुने रहेछ। गाजलु र सम्झनालाई अँगालोमा बेरेर धेरै टाढा नजानू, म फेरि आउनेछु भनेर छुट्टिँदा साह्रै नमीठो लाग्यो।’

उनले अगाडि लेखेकी छन्,  ‘मलाई त साँच्चै माया पनि लागेर आयो। प्रकाश शाहीले तिमी मेरो बहिनी हो भन्दा अझै रमाइलो लाग्यो। दाइ शब्दमा पनि जिम्मेवारी हुने रहेछ। उहाँले त्यो पनि दर्शाउनु भयो। फेरि भेट्ने केही वाचा हाम्रा सामूहिक छन्, केही वाचा मेरा, केही वाचा हाम्रो टिमका छन्। केही वाचा राउटेतर्फ मेरा आफन्तका छन्। छिट्टै हामीले केही डिजाइनसहित डेमो प्रस्तुत गर्नेछौं।’​

हेर्नुहोस् मन्त्री झाँक्रीको स्टाटस–

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .