ad ad

राजनीति


पार्टी बनिनसक्दै लोसपाभित्र चर्कियो विवादः पूर्वकांग्रेस एकातिर, सद्भावना समूह अर्काेतिर

पार्टी बनिनसक्दै लोसपाभित्र चर्कियो विवादः पूर्वकांग्रेस एकातिर, सद्भावना समूह अर्काेतिर

सागर न्यौपाने
पुस २८, २०७८ बुधबार २१:८, काठमाडौँ

नयाँ पार्टीका रुपमा मान्यता पाएको साढे ४ महिना नपुग्दै लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) भित्र तीव्र विवाद चुर्किएको छ। जसका कारण पार्टीका दुई गुटबीच विभाजनको रेखा देखिन थालेको छ।

भदौ ९ मै स्थापना भएको नेकपा एकीकृत समाजवादी पार्टीले देशभर संगठन विस्तार गरिसकेको छ। यो अवधिमा समाजवादी पार्टीले ७६ जिल्ला, ७५३ स्थानीय तह, प्रदेश तहमा कमिटी बनाइसकेको छ। केन्द्रीय तहमा स्थायी कमिटी, पोलिटब्युरो सहित नेताहरुको जिम्मेवारी समेत तोकेर संगठन बनाउन क्रियाशील छ।

तर, भदौ ९ मै गठित लोसपाले पार्टी कमिटीलाई पूर्णता दिनु त टाढाको कुरा, एकपटक पनि केन्द्रीय कार्यकारिणी समितिको बैठक राख्न सकेको छैन। लोसपा विधानमा हरेक १५ दिनमा केन्द्रीय कार्यकारिणी समितिको बैठक बस्नुपर्ने उल्लेख छ।

‘भदौ ९ पछि एक पटक पनि बैठक बसेको छैन, पार्टी गठन भएको साढे चार महिना नाघेछ,’ लोसपाका एक नेताले भने।

अध्यक्ष ठाकुरले नै बैठक राख्न नचाहेको ती नेताले आरोप लगाए। 

‘अध्यक्ष ठाकुरजीले बैठक नै राख्न चाहनुभएको छैन। कार्यकारिणी समिति सदस्यहरुको जिम्मेवारी बाँडफाँट पनि गर्नुभएन, सबै जिम्मेवारी आफैँ लिएर बस्नुभएको छ,’ उनले असन्तुष्टि जनाउँदै थपे।

त्यसो त बबरमहलमा रहेको पार्टी कार्यालयमा अध्यक्ष ठाकुर दैनिक पुग्छन् र दुईतीन घण्टा बस्छन्। तर, अहिलेसम्म बैठक बोलाउन कुनै सुरसार गरेका छैनन्।

लोसपाका केन्द्रीय कार्यकारिणी समिति सदस्य लक्ष्मणलाल कर्णले अब बैठक बस्ने तयारी भइरहेको बताए।

‘बैठक बोलाउने तयारी भइरहेको छ, अहिलेसम्म बैठक विभिन्न कारणले बस्न नसकेको हो,’ कर्णले नेपालखबरसँग भने, ‘नेताहरुसँग सरसल्लाह हुँदैछ।’

तर, लोसपाभित्र नेताहरुबीच चर्को मनमुटाव भइसकेको छ।

कार्यालय आउनै छाडे राजेन्द्र महतो
लोसपाका शीर्ष नेतामा पर्छन् राजेन्द्र महतो। जसपा विभाजन गरेर लोसपा गठन गर्न विशेष भूमिका खेलेका महतो पनि ठाकुरसँग असन्तुष्ट छन्। 

उनीनिकट एक नेताले बताएअनुसार महतोले केन्द्रीय कार्यालयमा पाइला नटेकेको डेढ महिना भइसकेको छ। उनले आफ्ना नेता–कार्यकर्तासँग गजेन्द्रनारायण सिंह अध्ययन केन्द्रमा भेटघाट गरिरहेका छन्। 

‘पार्टीभित्रको विवादको बारेमा राजेन्द्र महतोजी बोल्नुभएको छैन तर, उहाँ डेढ महिनादेखि केन्द्रीय कार्यालयमा आउनुभएको छैन,’ उनी निकट केन्द्रीय कार्यकारिणी सदस्यले नेपालखबरसँग भने, ‘अहिले उहाँले गजेन्द्रनारायण सिंह अध्ययन केन्द्र अनामनगर, कार्की भवनमा बसेर नेता कार्यकर्तासँग भेटघाट गर्नुहुन्छ।’

अध्यक्ष महन्थ ठाकुरमाथि नेताहरुले लगाएको अर्को आरोप हो– उनले जिम्मेवारी दिँदा तत्कालीन तराई मधेस लोकतान्त्रिक पार्टी (तमलोपा)मै रहेका नेताहरुलाई काखी च्याप्छन्।  

नेपाली कांग्रेसमा लामो समय राजनीति गरेका ठाकुरले २०६४ सालमा कांग्रेस छोडेर तमलोपा पार्टी गठन गरेका थिए। त्यसबेला उनी ५६÷५७ वर्षका थिए। त्यसपछि पहिलो संविधानसभा निर्वाचन (२०६४ चैत्र २८) मा तमलोपाले २० सिट जितेको थियो। 

यस्तै २०७० मंसिर ४ गते भएको दोस्रो संविधानसभाको निर्वाचनमा तमलोपाले समानुपातिक, मनोनित समेत ११ सिट पाएको थियो। 

२०७४ साल वैशाख ७ गते भने महन्थ ठाकुर नेतृत्वको तमलोपा, राजेन्द्र महतो नेतृत्वको सद्भावना पार्टी, शरतसिंह भण्डारी नेतृत्वको राष्ट्रिय मधेस समाजवादी पार्टी, महिन्द्र राय यादव नेतृत्वको तराई मधेस सद्भावना पार्टी नेपाल, राजकिशोर यादव नेतृत्वको मधेसी जनअधिकार फोरम (गणतान्त्रिक) र अनिल झा नेतृत्वको नेपाल सद्भावना पार्टीबीच एकता भई राजपा बनेको थियो।

फेरि, त्यो राजपा र उपेन्द्र यादव, डा. बाबुराम भट्टराईले नेतृत्व गरिरहेको समाजवादी पार्टीबीच २०७७ वैशाख १० गते पार्टी एकता गरेर जनता समाजवादी बनेको थियो।

ठाकुरले तमलोपामै हुँदाका नेताहरुलाई खोजीखोजी जिम्मेवारी दिएको भन्दै कार्यकारिणी समितिका बहुमत सदस्य रुष्ट छन्। 

१७ जिल्लाको अध्यक्ष र सचिव एकलौटी मनोनयन गरेको विषयले लोसपाभित्र झन् ठूलो विवाद चर्काएको छ।

‘अहिलेसम्म ठाकुरले संसदीय दलको प्रमुख सचेतकमा उमाशंकर अरगरिया, प्रदेश २ को अध्यक्षमा जितेन्द्र सोनल, सचिवमा रामविनोद चौधरी र तराईका १७ जिल्लाका अध्यक्ष, पर्यवेक्षक एकलौटी घोषणा गर्नुभयो,’ असन्तुष्टमध्येका अर्का एक कार्यकारिणी समिति सदस्यले नेपालखबरसँग भने, ‘राष्ट्रिय सभा चुनावमा श्यामसुन्दर सर्दार र रुपा यादवलाई उम्मेदवार बनाउने निर्णय एक्लै गर्नुभयो। यो अध्यक्षको मात्र पार्टी त होइन।’

अध्यक्ष ठाकुर आफैँले पनि नेताहरुलाई दिइएको जिम्मेवारीबारे कार्यकारिणी समितिलाई जानकारी दिएका छैनन्। सोही विषयले असन्तुष्ट बनेका महोत्तरी र धनुषाका नेताहरुले पुस ११ गते केन्द्रीय कार्यालय घेराउ गरे। 

उनीहरुसँग अध्यक्ष ठाकुरले वार्ता गरे पनि त्यो सफल भएन। जिल्ला फर्किएका उनीहरुले पार्टीमै नबस्ने चेतावनी दिएका छन्। 

तर, जिल्लाका अध्यक्ष, सचिव र पर्यवेक्षक बनाउने निर्णय अब बस्ने बैठकबाट अनुमोदन गराउने नेता लक्ष्मणलाल कर्णले बताए। 

‘बाहिर तमलोपाको भन्छन् तर पार्टीमा सबै पक्षका समेटिएका छन्, अब बस्ने बैठकमा ती सबै नामहरु अनुमोदन हुन्छ,’ कर्णले भने, ‘अध्यक्ष पनि सबैको साझा हो नि।’ 

‘जसपा किन विभाजन गरियो? कस्तो पार्टी बनाउन खोजिएको हो भन्ने कुनै रणनीति महन्थ ठाकुरबाट आएन, साथीहरु विस्तारै पार्टी छोड्न थालिसके,’ महतोनिकट नेताले नेपालखबरसँग भने, ‘महन्थजीले के गर्न चाहेकै बुझ्न सकिएन।’

पूर्वकांगेस र सद्भावना समूहबीच फाटो
लोसपामा अहिले रहेका शीर्ष नेताहरुमध्ये ठाकुर र शरतसिंह भण्डारी कांग्रेस पृष्ठभूमिका हुन्। लोसपा गठनदेखि ठाकुर र भण्डारी एकै ठाउँमा उभिएका छन्।

उता राजेन्द्र महतो र अनिल झा सद्भावना पार्टीबाट आएका हुन्। गजेन्द्रनारायण सिंहले २०४७ सालमा गठन गरेको पार्टीकै निरन्तरता महतो र झा ले बनाएको पार्टीले बोकिरहेको दाबी गर्दै आएका छन्। संस्थापक सिंहको निधनपछि सद्भावना पटकपटक विभाजित भयो।

सिंह बितेपछि बद्रीप्रसाद मण्डल नेतृत्वमा चलेको सद्भावना मण्डलसहित केही नेता तत्कालीन राजा ज्ञानेन्द्रको मन्त्रिपरिषद्मा सामेल भएपछि सो पार्टी टुक्रियो।

सिंहपत्नी आनन्दीदेवी सिंहलाई अघि लगाउँदै भरतविमल यादव, राजेन्द्र महतो, हृदयेश त्रिपाठीलगायतले सद्भावना पार्टी अघि बढाए।

२०७० सालताका सरिता गिरीले पनि सद्भावनाको नेतृत्व गरिन्। त्यसपछि अनिल झा नेतृत्वको संघीय सद्भावना पार्टीसँग २०७० फागुनमा एकीकरण गरेकी थिइन्।

सोही पार्टीमा रहेका महतो र झा एजेन्डाको हिसाबले अहिले एकै ठाउँमा आइपुगेका छन्। 

‘अहिले हाम्रो पार्टीमा अध्यक्ष ठाकुर र भण्डारी एकैठाउँ तथा महतो र झा अर्को ठाउँमा देखिनुभएको छ,’ एक नेताले भने। 
 
तमलोपाकै नेताहरुलाई अगाडि बढाउने रणनीति देखेपछि पूर्वसद्भावनाका नेताहरु एकै ठाउँमा देखिएको ती नेताले दाबी गरे। 


 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .