ad ad

राजनीति


एमाले अधिवेशन : कञ्चनपुरमा पूर्वमाओवादी र दसबुँदे पक्षको कन्तबिजोग!

एमाले अधिवेशन : कञ्चनपुरमा पूर्वमाओवादी र दसबुँदे पक्षको कन्तबिजोग!

फाइल तस्बिर : पूर्वमाओवादी–दसबुँदे पक्षधर गठबन्धनबाट उम्मेदवार बनेर अध्यक्षमा हारेका वीरबहादुर थापा (बायाँ) र सचिवमा पराजित अशोककुमार चन्द।


गोकुल जोशी
पुस २९, २०७८ बिहिबार ७:५४, महेन्द्रनगर

नेकपा एमाले कञ्चनपुरमा पूर्वमाओवादी र दसबुँदे पक्षधर निकै कमजोर देखिएका छन्। एमाले जिल्ला कमिटी चयनका लागि भएको निर्वाचनमा पूर्वमाओवादी र दसबुँदे पक्षधर नेताहरूले निकै कम मात्र मत पाएका हुन्। 

बुधबार राति सम्पन्न मतगणनाको नतिजाअनुसार ५ सदस्यीय पदाधिकारीमा माओवादी पृष्ठभूमि र एमाले विभाजन हुँदा माधवकुमार नेपालको साथ छाडेर दसबुँदे सहमतिका आधारमा एमालेमै बसेका नेताहरू हारेका हुन्। 

चुनावमा पूर्वमाओवादी र दसबुँदे पक्ष गठबन्धन गरेर प्यानलसहित प्रतिस्पर्धामा उत्रिएका थिए। 

तर एमाले कञ्चनपुरको ५ सदस्यीय पदाधिकारीमा यो गठबन्धन इतर समूह प्यानलसहित विजयी भएको छ। 

भीमदत्त नगरपालिकाका मेयर सुरेन्द्र विष्ट २८१ मतसहित अध्यक्षमा विजयी भएका छन्। 

एमाले अध्यक्ष केपी शर्मा ओलीनिकट विष्टलाई सुदूरपश्चिम सहइन्चार्ज कर्ण थापा र कञ्चनपुर इन्चार्ज निरुदेवी पालको समर्थन थियो। 

विष्टका प्रतिद्वन्द्वी एमाले सुदूरपश्चिम इन्चार्ज लेखराज भट्टनिकट निवर्तमान अध्यक्ष वीरबहादुर थापा (पातल) ले १८३ मत मात्रै ल्याउन सके। थापा माओवादी पृष्ठभूमिबाट एमालेमा प्रवेश गरेका नेता हुन्। 

तत्कालीन नेकपाको एकीकरणलाई भंग गर्दै सर्वोच्च अदालतले माओवादी र एमाले ब्युँताएपछि माओवादी केन्द्रका लेखराज भट्टसँगै थापा पनि एमालेमै समाहित भएका थिए।

पदाधिकारीको मतपरिणाम आएसँगै एमाले कञ्चनपुरका नेता तथा राष्ट्रिय युवा संघका पूर्वअध्यक्ष वचनबहादुर सिंहले नेतृत्वप्रति रुष्ट अभिव्यक्ति दिएका छन्। 

‘इन्चार्जको चाहनाअनुसार ९५ प्रतिशत प्रतिनिधित्व गर्ने समूह विजयी गराई ५ प्रतिशतको प्रतिनिधित्व गरेको समुह पराजित गराउन सफल हुनुभएकोमा इन्चार्ज र सहइन्चार्ज कमरेडहरूलाइ हार्दिक बधाई’, उनले सामाजिक सञ्जालमा लेखेका छन्। 

उपाध्यक्षमा विष्टको प्यानलकी लक्ष्मी बुढा २५४ मतसहित विजयी भएकी छन्। उनका प्रतिद्वन्द्वी महेश पन्तले २०५ मत मात्र गरे। 

सचिवमा विष्ट प्यानलका पल्लवराज भट्ट २३३ मतसहित विजयी भएका छन्।  थापा प्यानलका सचिवका उम्मेदवार अशोककुमार चन्द ७ मतले पछि परे। उनले २२६ मत प्राप्त गरे। 

चन्द तत्कालीन एमालेको नेपाल समूहका नेता हुन्। दसबुँदे सहमतिसँगै नेपालको साथ छाडेर उनी एमालेमै बसेका हुन्। 

यस्तै उपसचिवमा विष्ट प्यानलका कर्णबहादुर चन्द ३४७ मत र फैरु तामाङ २९६ मतसहित विजयी भएका छन्। उनका प्रतिद्वन्द्वी थापा प्यानलका शेरबहादुर चन्दले १९७ मत मात्रै ल्याउन सके।

माओवादी पृष्ठभूमि र दसबुँदे पक्षधर नेता एमालेको जिल्ला कमिटी बाहिर परेका छन्। 

‘यस्तै हुन्छ भनेर हामी चुनावमा जान चाहेका थिएनौं, त्यसैले लामो समय सहमतिको लागि प्रयास ग¥यौं’, एमाले कञ्चनपुरका एक नेताले नेपालखबरसँग भने, ‘तर सहमति जुट्न सकेन, चुनावमै जानुपर्याे।’

यो पनिकञ्चनपुरमा लेखराज भट्ट पक्ष ‘क्लिन स्वीप’, सुरेन्द्र विष्टकाे प्यानल विजयी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .