ad ad

राजनीति


‘राजनीतिमा युवा’का एक उदाहरण : कञ्चनपुरका ‘कान्छा’ वडाध्यक्ष

‘राजनीतिमा युवा’का एक उदाहरण  : कञ्चनपुरका ‘कान्छा’ वडाध्यक्ष

गोकुल जोशी
माघ १, २०७८ शनिबार ९:३६, महेन्द्रनगर

पछिल्लो समय प्रमुख राजनीतिक दलमा युवाको आकर्षण बढ्दै गएको छ।

महाधिवेशन सम्पन्न गरेका सत्तारुढ नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्र, प्रमुख प्रतिपक्षी नेकपा एमाले, राष्ट्रिय प्रजातन्त्र पार्टीले युवालाई राजनीतिको मूलधारमा ल्याउने प्रयास गरेका छन्।   

उनीहरूले तल्लो तहदेखि केन्द्रसम्म आफ्ना सांगठिनक संचरनामा युवालाई सक्दो समेटेका छन्। जिल्ला अधिवेशन गरिरहेको नेकपा एमालेले त ‘युवा सदस्य’ भनेर छुट्टै ‘क्लस्टर’ नै बनाएको छ। 

यसै क्रममा राजनीतिमा युवा सहभागिताको एक उदाहरण कञ्चनपुरको वेदकोट नगरपालिका–२ का वडाध्यक्ष नरेश सिंह पनि हुन्। 

जिल्लाका ‘कान्छा’ वडाध्यक्ष सिंह युवाको नेतृत्व गर्दै सर्वाधिक मत (२३३) सहित एमालेको जिल्ला सदस्य पदमा विजयी भएका हुन्। 

वेदकोट नगरपालिकाका नगर प्रवक्तासमेत रहेका उनको राजनीतिक यात्रा लोभलाग्दो छ। वडामा राम्रो छवि बनाएका सिंहले राजनीति थालेको धेरै भएको छैन। उनले एमालेको भ्रातृ संगठन अनेरास्ववियुमार्फत राजनीतिक यात्रा सुरु गरेका हुन्। 

तत्कालीन दैजी गाविस–६ मा जन्मिएका ३० वर्षीय सिंह बैजनाथ माध्यमिक विद्यालय (जडेपानी) मा पढ्दै गर्दा अनेरास्ववियुमा आबद्ध भए। वि.सं. २०६२ मा उनी त्यही विद्यालयको अनेरास्ववियु एकाइ कमिटी अध्यक्ष बने।

त्यसपछि २०६४/०६५ मा उनी अनेरास्ववियुको निर्वाचन क्षेत्र २ कमिटी उपाध्यक्ष हुँदै अध्यक्षसम्म बने। २०६६ सालमा सदस्य बनेर अनेरास्ववियुको जिल्ला कमिटीमा प्रवेश पाए। त्यसपछि सचिवालय सदस्य हुँदै २०७० सालमा उनी अनेरास्ववियुको कञ्चनपुर जिल्ला उपाध्यक्ष बने। 

उनी उपाध्यक्ष रहेकै बेला २०७४ सालमा स्थानीय तहको निर्वाचन भयो। र, सिंहले एमालेका तर्फबाट वेदकोट नगरपालिका–२ मा वडाध्यक्ष पदमा चुनाव लड्ने टिकट पाए। 

त्यहाँ उनले माओवादी केन्द्र र नेपाली कांग्रेसका उम्मेदवारलाई फराकिलो मतान्तरले हराउँदै वडाध्यक्ष पदमा विजय हासिल गरे।

त्यति बेला सिंहको उमेर जम्मा २६ वर्षको थियो। सानै उमेरमा अत्यधिक मत ल्याएर वडाध्यक्षमा जितेपछि उनी एकाएक चर्चामा आए। 

वडाध्यक्ष सिंहले कांग्रेसका तारादत्त जोशी र माओवादीका देशराज चौधरी भन्दा दोब्बर मत ल्याएका थिए। सिंहले ६८२ मत पाएका थिए भने जोशी र चौधरीले बराबर २९८ मत ल्याएका थिए। 

वेदकोट नगरपालिकामा मेयर र उपमेयर पद पनि एमालेले जितेपछि ‘प्रस्टवक्ता’ सिंहले नगरपालिकाको प्रवक्ताको जिम्मेवारी पनि पाए। 

विद्यार्थी राजनीति गर्दागर्दै सानै उमेरमा वडाध्यक्ष बन्न सफल उनै सिंह अहिले एमाले कञ्चनपुरको आठौं जिल्ला अधिवेशनबाट सदस्यमा सर्वाधिक मतसहित विजयी भएर पार्टीको मूलधारको राजनीतिमा पनि उदाएका हुन्।

जननेता मदन भण्डारीद्वारा प्रतिपादित ‘जनताकोे बहुदलीय जनवाद (जबज)’ मन परेर आफू एमाले पार्टीमा आबद्ध भएको सिंह बताउँछन्। 

‘एमालेको सिद्धान्त, विचार मन प¥यो, त्यहीबाट प्रभावित भएर राजनीति गर्न थालेको हुँ’, उनले नेपालखबरसँग भने, ‘जननेता  मदन भण्डारी मेरा लागि पे्ररणा स्रोत हुन्। उहाँले अघि सारेका विचारबाट प्रभावित भएर विद्यालय पढ्दादेखि नै राजनीतिमा लागेको थिएँ।’

पारिवारीक पृष्ठभूमि राजनीतिक नभए पनि नरेशले घरपरिवारबाट पूर्ण सहयोग पाए। अनेरास्ववियुमा संगठन विस्तारताकाका सम्झना उनमा अझै ताजै छन्। 

‘संगठन विस्तारमा गर्दा धेरै दुःखकष्ट सहनुपर्थ्याे। साइकलमा जिल्लाभर दौडिन्थ्यौं’, उनले भने, ‘कति दिन त भोकभोकै पनि हिडेका छौं।’

वि.सं. २०७२ मा भएको स्ववियू चुनावमा उनी आक्रमणमा पनि परे। चुनावमा सिंह बेलौरीको महाकाली बहुमुखी क्याम्पसमा खटिएका थिए। त्यही बेला उनलाई नेपाल विद्यार्थी संघका कार्यकर्ताले आक्रमण गरेका हुन्। 

‘अनेरास्ववियु स्ववियु जित्दै थियो। त्यति नेविसंघका कार्यकर्ताले हुलदंगा गरे’, स्ववियु चुनावका बेला भएको झडप सम्झिँदै सिंह भन्छन्, ‘ममाथि सांघातिक आक्रमण नै गरेका भएको थियो। त्यो बेला थोरैले बाँचेँ।’

पार्टीमा युवाको मुद्दा शसक्त ढंगले उठाउने सिंह बताउँछन्। 

‘अहिले कमिटीमा ३० प्रतिशतभन्दा बढी युवाको सहभागिता छ’, उनले भने, ‘राजनीतिमा युवाको आवश्यकता छ, हामी युवाको मुद्दा सशक्त रूपमा मुद्दा उठान गर्नेछौँ।’

युवा वर्गलाई राजनीतिक नेतृत्वमा ल्याएर समयसापेक्ष हिसाबले पार्टी संगठन बलियो बनाउँदै राष्ट्रलाई विकासको गति दिन सकिने उनको भनाइ छ। 

‘युवाले सही र छिटो निर्णय दिन सक्छन्। जनताको चाहना, इच्छा–आकांक्षालाई मध्यनजर गर्दै संगठनलाई चलायमान गराउँदै जानु पर्छ’, उनले भने, ‘आजको आवश्यकता नै यही हो।’

पार्टीलाई गुटरहित एकताबद्ध बनाएर लैजाने सिंह बताउँछन्। 

‘सबैको मनोभावनाको कदर गर्दै पार्टीलाई एकढिक्का बनाउनु छ’, उनले भने, ‘त्यसो भयो भने मात्रै निर्वाचन जित्न सकिन्छ। यसकै लागि पहल रहनेछ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .