ad ad

राजनीति


कटारी नगरपालिका फुटाउन, पाँच पालिकाका वडा टुक्र्याउन सिफारिस

कटारी नगरपालिका फुटाउन, पाँच पालिकाका वडा टुक्र्याउन सिफारिस

कृष्ण बहाब
फागुन १४, २०७८ शनिबार ६:३०, विराटनगर

स्थानीय तहको निर्वाचन आगामी वैशाख ३० गतेका लागि तोकिएको छ। चुनावको मिति घोषणा भइसकेको अवस्थामा प्रदेश १ सरकारले भने आफ्ना ६ वटा स्थानीय तहका सिमाना परिवर्तन गर्न संघीय सरकारलाई सिफारिस गरेको छ।

शुक्रबार बसेको प्रदेश मन्त्रिपरिषद्को बैठकले प्रदेशका ५ वटा पालिकाका वडा टुक्र्याउन र कटारी नगरपालिका फुटाएर अर्काे गाउँपालिका बनाउन भन्दै संघीय सरकारलाई सिफारिस गरेको हो। पालिकाका सिमाना हेरफेर गर्नुपर्दा स्थानीय सरकार सञ्चालन ऐन २०७४ अनुसार प्रदेशको सिफारिसमा संघीय सरकारले निर्णय गर्ने प्रावधान छ।

त्यसअनुसार प्रदेश १ सरकारले उदयपुरको कटारी नगरपालिकाका ५ वटा वडा मिलाएर छुट्टै पालिका बनाउन संघीय सरकारलाई सिफारिस गरेको हो। कटारी नगरपालिकाका ९,१०,११,१३ र १४ वडा समेटेर अर्कै पालिका बनाउन सिफारिस गरिएको हो। 

२०७३ सालमा स्थानीय तहका सीमा निर्धारण गरी ७ वटा गाविस र एउटा नगरपालिका मिलाएर कटारी नगरपालिका बनाइएको छ। जसमा साविक रिस्कु, लेखानी, मयंखु, हर्देनी, लिम्पाटार, सोरुङगछविसे तथा सिरिसे गाविस र कटारी नगरपालिका समेटिएका छन्। 

कटारीमा कूल १४ वडा छन्। जसमा वडा नम्बर ९, १०, ११, १३ र १४  वडा मिलाएर छुट्टै गाउँपालिका बनाउने तयारी स्थानीयले गरेका हुन्। 

त्यतिबेला सीमा निर्धारण गर्दा नै स्थानीयले सिखानी, सोरुङगछविसे, मयंखु, लिम्पाटार र हर्देनीको केही भाग मिलाएर छुट्टै पालिका बनाउनुपर्ने माग गरेका थिए। तर माग सम्बोधन गरिएन। कटारी नगरपालिका घोषणा भएपछि नगरसभाबाटै छुट्टै पालिका बनाउन सिफारिस गर्न त्यहाँका वडाध्यक्षहरू तयार भए।

‘राजनीतिक रूपमा त हामीलाई एकै नगरपालिका हुँदा फाइदा हुन्छ तर, जनताहरूको माग छुट्टै पालिका बनाउने भन्ने छ’, कटारी नगरपालिकाकी उपप्रमुख भीमाकुमारी राउतले भनिन्, ‘राजनीतिक रूपमा घाटा भए पनि जनताको हितका हिसाबले छुट्टै पालिका बनाउँदा राम्रो हुन्छ।’

वडा टुक्र्याउन चाहने पालिका  

इलामको सूर्योदय नगरपालिका
इलामको सूर्योदय नगरपालिकाले उतिबेलै वडा नम्बर १ टुक्र्याएर दुईवटा बनाउने निर्णय गरेको थियो। तर साविकका गोर्खे गाविस र माइजोगमाई गाविसका २ वटा वडा मिलाएर नगरपालिकाको एउटा वडा बनाइयाे। यसले गर्दा भूगोल ठूलो भएको तर्क नगरपालिकाको छ।

‘हामीले हाम्रो एक नम्बर वडालाई टुक्र्याउने निर्णय गरेको थियौं, असारको नगर सभाबाट’, सूर्योदय नगरपालिकाकी उपप्रमुख दुर्गादेवी भट्टराईले भनिन् ‘ठूलो भूभाग थियो। सेवा प्रवाहमा अलि समस्या भयो, त्यसैले एउटा वडालाई २ वटा बनाउने सिफारिस गरिएको थियो।’

इलामको माङसेबुङ गाउँपालिका
जम्मा ६ वटा वडा रहेको माङसेबुङ गाउँपालिकाले ७ वटा वडा बनाउनुपर्ने माग गरेको थियो। वडा नम्बर ३ टुक्र्याएर नयाँ ७ नम्बर वडा बनाउने प्रस्ताव गरिएको पालिकाका सूचना अधिकारी उपेन्द्र पौडेलले बताए।

खोटाङको दिप्रुङ चुइचुम्मा गाउँपालिका
खोटाङको दिप्रुङ चुइचुम्मा गाउँपालिकामा ७ वटा वडा छन्। गाउँपालिकाले वडा नम्बर ७ टेम्मालाई टुक्र्याएर दुईवटा वडा बनाउन सिफारिस गरेका थियो। गाउँपालिका उपप्रमुख सपना राईले भनिन्,  ‘७ नम्बर वडा ठूलो छ जनसंख्या र भूगोल दुवैमा। त्यसैले टुक्र्याउने सिफारिस गरेका थियौं।’

यस्तै ओखलढुंगाको मोलुङ गाउँपालिका र लिखु गाउँपालिकाका वडा पनि फुटाउन सिफारिस गरिएको छ।

तर कानुनी मान्यता नपाइने 
स्थानीय सरकार सञ्चालन ऐन २०७४ मा वडा र पालिकाका सीमा परिवर्तन गर्न सकिने व्यवस्था छ। ऐनको दफा ६ को उपदफा ४ अनुसार प्रदेशले सीमा हेरफेरका लागि गरेको सिफारिस संघीय सरकारले ६ महिनाभित्र कार्यान्वयन गर्नुपर्छ। 

पाँच वर्षअघि पनि राजनीतिक सहमतिका आधारमा १३ स्थानीय तह थप्ने निर्णय संघीय मन्त्रिपरिषद्ले गरेको थियो। प्रदेश १, लुम्बिनी र सुदूरपश्चिममा गरी १३ वटा स्थानीय तह थप गर्ने सूचना ११ जेठ २०७४ मा राजपत्रमै प्रकाशन गरिए पनि निर्वाचन घोषणा भइसकेकाले त्यो कार्यान्वयन हुन सकेन।

अहिले पनि स्थानीय तहको निर्वाचन मिति घोषणा भइसकेकाले प्रदेशले गरेको सीमा हेरफेरको सिफारिस कार्यान्वयन हुने स्थिति छैन। 

यस सम्बन्धमा ऐनको दफा ४ को उपदफा ५ मा भनिएको छ, ‘यस दफाबमोजिम वडाको संख्या र सिमाना हेरफेर गर्नुपर्दा गाउँपालिका र नगरपालिकाको निर्वाचन हुनुभन्दा कम्तीमा १ वर्षअगावै गरिसक्नु पर्नेछ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .