राजनीति


माओवादीबाट निर्वाचित वडाअध्यक्ष : जो पुरेत्याइँ पनि सँगसँगै गर्छन्

माओवादीबाट निर्वाचित वडाअध्यक्ष : जो पुरेत्याइँ पनि सँगसँगै गर्छन्

वडाअध्यक्ष केदारनाथ आचार्य वडाकाे काम र पुरेत्याइँ सँगसँगै गर्छन्। तस्बिर : राधिका अधिकारी


राधिका अधिकारी
फागुन २२, २०७८ आइतबार १४:२२, काठमाडौँ

सिन्धुपाल्चोक इन्द्रावती गाउँपालिका ८ का वडाध्यक्ष हुन, केदारनाथ आचार्य। उनी २०७४ को स्थानीय निर्वाचनबाटै वडा नम्बर ८ को अध्यक्ष बन्न चाहन्थे। 

त्यसबेला उनको सपना पूरा हुन सकेन। उनी निर्वाचित वडाअध्यक्ष बन्न पाएनन्। उनलाई हराउँदै नेपाली कांग्रेसका धनबहादुर श्रेष्ठ विजयी भएका थिए। 

आचार्यलाई हराउँदै इन्द्रावती गाउँपालिका–८ का वडाध्यक्ष बनेका श्रेष्ठले लामो समय कार्यभार सम्हालेनन्। 

२०७५ साल मंसिर १ गते श्रेष्ठको निधन भयो। उनी गाउँकै इन्द्रावती नदीमा मृत भेटिए। श्रेष्ठले इन्द्रावतीमा हाम फालेर आत्महत्या गरेको निष्कर्ष प्रहरीले निकाल्यो।  

श्रेष्ठको निधनपछि वडाध्यक्ष पद रिक्त रह्यो। मंसिर १४ गतेका लागि सरकारले उपनिर्वाचन तोकिसकेको थियो। 

उपनिर्वाचनमा आचार्यले उम्मेदवारी दिए। र, भारी मतान्तरसहित विजयी भए। अहिले उनी वडाका सम्पूर्ण काम आफैँ सम्हालिरहेका छन्। 

राजनीतिक यात्रा
यो वडा २०७४ नेपाली कांग्रेसले जितेको थियो। उपनिर्वाचनमा माओवादीले। गाउँपालिका अध्यक्ष कांग्रेसको पोल्टामा छ। 

आचार्यले माओवादी केन्द्रबाट उम्मेदवारी दिएका थिए। लामो समयदेखि माओवादी राजनीति मन पराएर अघि बढेकामध्ये एक हुन् उनी। 

माओवादीले बोकेको विचार उनलाई मन पथ्र्यो। माओवादीले देशमा ल्याउन खोजेको आमूल परिवर्तनको नाराले उनको मन छुन्थ्यो। 

यही वडाको ज्यामिरेमानेमा उनले ०७२ को भूकम्पपछि सानो घर बनाए। एक श्रीमती र दुई छोरीसहित उनी सानो र सुखी परिवारमा गुजारा गरिरहेका छन्। 

जनप्रतिनिधि
बाबुबाजेको पालादेखि नै गर्दै आएको पेशा हो, कर्मकाण्डी। उनी अहिले जननिर्वाचित जनप्रतिनिधि हुन्। तर, अहिले पनि समय मिलेमा उनी पुरेत्याइँ गर्न हिँडिहाल्छन्। 

अहिले पनि उनी वल्लो–पल्लो गाउँमा जजमानी गर्न पुगिरहेका हुन्छन्। एकातिर जनप्रतिनिधिको भूमिका छँदैछ, अर्कातिर पुरोहितको रुपमा उनलाई स्थानीयले नमस्कार गरिरहेका हुन्छन्। 

सशस्त्र युद्धमा हुँदा तत्कालीन माओवादीले हिन्दु धर्मलाई अफिमको संज्ञा दिन्थ्यो। हजारौं लडाकु र सर्वसाधारणले ज्यान गुमाउँदा तिनीहरुको किरिया कर्म आवश्यक नभएको बताउँथ्यो माओवादी।

तर, अब जुग फेरियो। समय पनि फेरियो। तिनै माओवादीहरू अहिले फेरिएका छन्। शीर्ष नेताहरुलाई अहिले गाउँभन्दा सहरको माया लाग्न थालेको छ। हिजो विरोधमा उत्रिएका तिनै माओवादी अहिले सनातन संस्कृतिमा रमाउन थालेका छन्, कोही कोही विस्तारै कर्मकाण्डी हुँदै गएका छन्। 

हिजोको आन्दोलन र आफ्नो पार्टीको मुद्दा बिर्सिएर कर्मकाण्डमा रमाएका पात्रमध्ये एक हुन् आचार्य। माघको दोस्रो साता सिन्धुपाल्चोकको सुन्दरीपुरस्थित ब्राम्हण परिवारमा लाखबत्ती बाल्न सहभागी आचार्यको आधा समय वडाकै कार्यमा देखिन्थ्यो। 

पूजामा संस्कृतका मन्त्र उच्चारण गरिरहेका आचार्यलाई पर्खिएर स्थानीय सेवाग्राही बसिरहेका देखिन्थे। 

उनी केही खाली हुनासाथ सेवाग्राहीहरुले आफ्ना समस्या भन्थे। उनी समस्या समाधानका लागि आश्वासन दिइरहन्थे। सेवाग्राहीसँग संवादपछि फेरि यजमानलाई कहिले चरु होम गर्न त कहिले फूल अक्षता चढाउन लगाउँथे। 

हुन त आचार्य पहिलेबाटै पुरोहित हुन्। उनका पिता पुर्खाले यही काम गरे। उनी त्यही बाटोमा हिँडेका मात्रै हुन्। 

तर, उनले राखेको राजनीतिक झुकाव र उनले गरिरहेको कामको तालमेल नमिलेको जस्तो देखिन्थ्यो। कारण उनले बोकेको पार्टीको सिद्धान्त माओवाद हो। उनले गरेको कर्म पुरातन संस्कृति र पुरेत्याइँ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .