ad ad

राजनीति


गठबन्धन जोगाउन स्थानीय निर्वाचन सार्न खोज्दै माओवादी र समाजवादी

संसद विघटन गराएर पहिले संघीय निर्वाचनमा जाने नयाँ विकल्प
गठबन्धन जोगाउन स्थानीय निर्वाचन सार्न खोज्दै माओवादी र समाजवादी

फाइल तस्बिर


केशव सावद
फागुन २२, २०७८ आइतबार १७:३५, काठमाडौँ

दुई सत्तारुढ दल नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी गठबन्धन जोगाउन स्थानीय तहको निर्वाचन पछाडि धकेल्न सक्रिय भएका छन्। 

सत्ताको नेतृत्व गरिरहेको नेपाली कांग्रेससँग चुनावी तालमेल हुने सम्भावना नदेखिएपछि माओवादी केन्द्र र एकीकृत समाजवादी स्थानीय तहको निर्वाचन पछाडि धकेल्ने प्रयासमा लागेका हुन्। 

गत माघ २४ गते बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले आगामी वैशाख ३० गते स्थानीय तह निर्वाचन एकै चरणमा गर्ने निर्णय गरेको थियो। 

सरकारले मिति घोषणा गरेसँगै निर्वाचन आयोगले स्थानीय तहको निर्वाचनको काम अघि बढाइसकेको छ। 

तर, सत्ता साझेदार माओवादी र एकीकृत समाजवादी प्रतिनिधिसभामा प्रमुख प्रतिपक्षी नेकपा एमालेको अवरोध देखाएर निर्वाचन धकेल्न सक्रिय भएका हुन्।

दुवै दलले गठबन्धन जोगाउने नाममा प्रतिनिधिसभा विघटन गरेर तीनै तहको निर्वाचन एकैसाथ गर्न कांग्रेसलाई फकाइरहेका छन्।  

गठबन्धन कायम राखेर कांग्रेससँगको चुनावी तालमेलसहित संघीय र प्रदेशसभा निर्वाचनमा जाँदा फाइदा हुने दुवै दलको बुझाई छ। 

‘स्थानीय तहको निर्वाचनमा तालमेल हुने सम्भावना देखिदैन,’ कांग्रेसका एक नेताले भने, ‘त्यही भएर उहाँहरु संघीय र प्रदेशको निर्वाचन चाहिरहनुभएको हो। कांग्रेससँग तालमेल गरे केही सिट बढी जित्न सकिन्छ भन्ने बुझाई देखिन्छ।’ 

आइतबार मात्रै एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले गठबन्धनमा प्रतिनिधिसभा विघटन गरेर तीनै तहको निर्वाचन एकैपटक गर्नेबारे छलफल भइरहेको बताएका छन्। 

‘एमालेले संसद् पनि चल्न नदिने, संसद्मा गन्जागोल कायम राख्ने, पंगु बनाउने र हामीलाई पनि दुःख दिने काम गरिरहेको छ’, नयाँ बानेश्वरस्थित संघीय संसद भवनमा पत्रकारहरुलाई उनले भने, ‘यस्तो अवस्थामा संसद् विघटन गरेर ‘अर्ली’ निर्वाचनमा जानु नै उत्तम हुन्छ।’

केही दिनअघि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पनि गठबन्धनको बैठकमै एमालेको अवरोध देखाउँदै संसद् विघटन गरेर निर्वाचनमा जानुपर्ने प्रस्ताव गरेका थिए।  

आठौँ राष्ट्रिय महाधिवेशनपछिको पहिलो केन्द्रीय समिति बैठकलाई गत शुक्रबार सम्बोधन गर्दै उनले गठबन्धनमा नयाँ निर्वाचनमा जाने प्रस्ताव पेश भएको बताएका थिए। 

एमालेको अवरोध खुलाउन पहल सार्थक नभए पेलेर संसद सञ्चालन गर्ने अथवा संसद विघटन गरेर निर्वाचनमा जाने विषयमा छलफल भएको प्रचण्डले बताएका छन्।

‘एमालेले संसद् निरन्तर अवरोध गरिरहेको छ। यसलाई खुलाउन पहल गर्ने यदि संसद खुल्ने अवस्था नभए पेलेर विधेयक पेश गर्ने र त्यसो गर्न सम्भव नभए नयाँ निर्वाचनमा जानुपर्छ,’ उनले केन्द्रीय समिति बैठकमा भनेका थिए। 

यसअघि फागुन १९ गते बालुवाटारमा बसेको गठबन्धन बैठकमा पनि अध्यक्ष प्रचण्डले एमालेले संसद्को अवरोध नखुलाए संसद् विघटनको विकल्प नभएको धारणा राखेका थिए।  

‘सधैँ रोस्टम घेराउ गरेर संसद्लाई बन्धक बनाइरहने हो भने यसको निकास संविधान, ऐन वा अदालतले पनि दिन सक्दैन,’ उनको भनाइ थियो, ‘संसद् नचल्ने अवस्थाको विकल्प भनेको विघटन नै हो।’

तर, कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले गठबन्धनको उक्त बैठकमा अमेरिकी सहायता परियोजना (एमसीसी) बारे मात्रै छलफल भएको दाबी गरेका छन्। 

‘अर्ली इलेक्सनबारे गठबन्धनमा केही छलफल भएको छैन,’ उनले नेपालखबरसँग भने, ‘अस्तिको बैठकमा एमसीसीबाहेक केही छलफल नै भएन।’

स्रोतका अनुसार उक्त बैठकमा ‘एमालेलाई संसद्को अवरोध हटाउन अनुरोध गर्ने, नभए अवरोधबीच सञ्चालन गर्ने, यदि त्यो हुन नसके विघटन गरेर निर्वाचनमा जाने’ विकल्पमा छलफल भएको थियो। 

गठबन्धन बैठकमा कांग्रेसका पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाले पनि एमालेको अवरोध जारी रहे संसद् विघटन गरेर निर्वाचनमा जान सकिने सुझाएका थिए। 

‘एमसीसीकै कारण झण्डै–झण्डै गठबन्धन भत्किसके​को थियो। अब गठबन्धन जोगाउने हो भने संघीय निर्वाचनमा जान सकिन्छ भनेर उहाँले राय दिनुभएको हो,’ सिटौलानिकट एक नेताले भने। 

कांग्रेस महामन्त्री गगन थापाले पनि संसद्को अवरोध जारी रहे समयअगावै संघीय निर्वाचन हुन सक्ने बताएका छन्। नेपाल निजामती कर्मचारी युनियनको आठौँ महाधिवेशन उद्घाटन समारोह सम्बोधनका क्रममा उनले एमालेले संसदको अवरोध नहटे आगामी मंसिरअगावै संघीय निर्वाचन हुन सक्ने बताएका हुन्। 

‘आमचुनाव मंसिरमा हुन्छ वा त्योभन्दा पहिला, मलाई थाहा छैन। संसद यसैगरी चल्दैन। यसैगरी चल्न नदिने अवस्था रहन्छ। संसदलाई उपहास गर्ने काम लगातार एमालेले गरिरह्यो,’ थापाले भने, ‘हामी संवादमा छौंँ। फकाउने कोसिस गरिरहेका छौँ। आउनुस् भनिरहेका छौँ। कुनै तरिकाले नसकिए संसद किन चलाइराख्ने भन्ने प्रश्न उठ्न सक्छ। त्यो बेलामा चुनाव अगाडि हुन पनि सक्छ।’ 

कांग्रेसका युवा नेता प्रदीप पौडेलले पनि संसद्को अवरोधलाई एमालेले नहटाएको अवस्थामा निर्वाचनमा जानुको विकल्प नभएको प्रतिक्रिया दिए। 

‘संसद् चल्न नदिने हो र संसद् नचलाइ चुनावमा पुग्ने हो भने चुनाव गर्नु राम्रो,’ उनले भने, ‘यसरी त संसद् भए नभएको अन्तर नै रहेन नि।’ 

कांग्रेसका एक पदाधिकारीले संसद् विघटन गरेर तीनै तहको निर्वाचनमा एकसाथ गर्ने विषयले ठोस निष्कर्ष पाइनसकेको प्रतिक्रिया दिएका छन्। ‘छलफलमा आएको छ। तर, अहिले नै ठोस कुरो भइसकेको छैन,’ ती पदाधिकारीले भने, ‘विषयगत रुपमा प्रवेश पाइसकेको अवस्था होइन।’

दलहरुबीचमा सहमति भए कांग्रेस पनि संसद् विघटन गरेर तीनै तहको निर्वाचनको प्रस्ताव स्वीकार गर्न सकारात्मक देखिन्छ। 

‘सहमति हुन्छ भने चुनावमा जाने कुरालाई नेपाली कांग्रेसले मान्न सक्छ,’ प्रधानमन्त्रीसमेत रहेका सभापति शेरबहादुर देउवानिकट एक नेताले भने, ‘तर, पूरै जोडघटाउ गरेर भने लाग्दैन।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .