राजनीति


बेनीको मेयरमा उठ्ने घोषणा गरेका निराजन थापासँग वार्ताः बुबाको पार्टी एमाले छाडेर किन स्वतन्त्र उम्मेदवारी?

बेनीको मेयरमा उठ्ने घोषणा गरेका निराजन थापासँग वार्ताः बुबाको पार्टी एमाले छाडेर किन स्वतन्त्र उम्मेदवारी?

यज्ञराज जोशी
फागुन २३, २०७८ सोमबार ८:३, काठमाडौँ

निराजन थापा (३६) आगामी वैशाख ३० गतेका लागि तोकिएको स्थानीय तहको निर्वाचनमा म्याग्दीको बेनी नगरपालिकाको मेयर पदमा स्वतन्त्रबाट उम्मेदवार बन्दै छन्। उनी फिनल्यान्डमा भाषा विज्ञान, अन्तर–सांस्कृतिक सञ्चार एवं भूमण्डलीकरणमा स्नातकोत्तर गरिरहेका छन्। विद्यालय पढ्दा अनेरास्ववियुको प्रारम्भिक कमिटी हुँदै जिल्ला सचिवसम्म भए पनि त्यसयता उनी पार्टीगत राजनीतिमा सक्रिय भएनन्। पूर्वशिक्षक समेत रहेका थापाले केही समय रेडक्रसमा पनि काम गरेका छन्। 

उनी जिल्लाका संघीय सांसद तथा एमालेका नेता भूपेन्द्रबहादुर थापाका छोरा हुन्। बुबाको पार्टी एमालेबाट राजनीतिमा अघि बढ्ने अवसर हुँदाहुँदै स्वाभिमान, जागरण र भद्र विद्रोहका रूपमा आफूले स्वतन्त्र उम्मेदवारी घोषणा गरेको उनी बताउँछन्। निर्वाचित प्रतिनिधिहरूले समग्र नागरिकको उत्थानका लागि सामूहिक प्रयत्न गर्नुभन्दा पनि ठालु प्रवृति मौलाउँदै गएको र त्यसमा सबभन्दा बढी जिम्मेवारी आफूजस्तै नेताका सन्तान भएकाले आफू अघि सरेको उनको भनाइ छ। 

उनको उम्मेदवारीका सन्दर्भमा नेपालखबरले गरेको वार्ता : 

किन मेयर पदमा उम्मेदवारी घोषणा गर्नुभएको?
स्थानीय निकायको निर्वाचन २०७४ पछि मैले ‘लक्ष्य २०७९’ अभियानको कल्पना गरेको थिएँ। यसले मूलतः युवाहरूलाई कुनै पनि दलको झण्डामुनि गोलबन्द नभई आफूलाई स्वतन्त्र रूपमा पेस गरून् भन्ने प्रेरित गर्दछ। खासगरी स्थानीय तहमा निर्वाचनकै माध्यमबाट आफूले चाहेको परिवर्तनका लागि काम गर्ने पहलकदमी लिनुपर्छ भन्ने मेरो बुझाइ हो। 

यो उम्मेदवारी दिनका लागि दिनुभन्दा परको विषय हो। खासमा विरासतमा प्राप्त हुने राजनीतिक विचारले आजका युवाहरूलाई सबभन्दा बढी दिग्भ्रमित गरेको छ। त्यसबाट बाहिर निस्किन जरुरी छ भन्ने सन्देश सम्प्रेषणका लागि नै मेरो उम्मेदवारी हो। बाहिर बसेर सधैं राजनीतिक नेतृत्वहरूको असक्षमतमाथि प्रश्न गर्ने, कुण्ठा पोख्ने र घृणा मात्र फैलाइराख्ने या आफू त्यो नभइरहेको काम गर्नलाई सक्षम छु भन्ने प्रमाणित गर्न अगाडि सर्ने? 

स्वतन्त्र उम्मेदवारी घोषणा गर्नु लहड मात्रै हो कि जित्छु भन्ने आशा पनि?
यो लहड, र जितहारभन्दा धेरै परको कुरा हो। यो स्वाभिमान, जागरण र भद्र विद्रोहको विषय हो। स्वतन्त्र रूपमा निर्वाचन लडेर विजयी हुने मनोकांक्षा राख्नु भगवानको मन्दिरमा गएर मागेको वर पूरा होला नि भन्ने अपेक्षा राखेजस्तै हो। त्यो होला नहोला आफ्नो ठाउँमा छ तर, कम्तीमा टोल, गाउँघरतिर कुनै पार्टीको झोला बोकेर हिँड्ने अरू ससाना नेताका छोराछोरीले मेरो साहसबाट प्रेरणा लिने प्रयत्न गर्नुभो भने भविष्यमा यो अभियान अझ सशक्त भएर जानेमा कुनै शंका गरिराख्नु जरुरी नहोला कि? 

तपाईंले बेनी नगरपालिकामा देखेका समस्या के के हुन्?
बेनी नगरपालिकाको मात्र हैन, नेपालभरिको स्थानीय निकायको समस्या नै के हो भने भइरहेका समस्याको बोध नगर्ने समस्या। समाधानका लागि पहिला त्यहाँ समस्या छ भन्ने कुराको ज्ञान हुनु अपरिहार्य छ। विशेषतः सानासाना व्यवस्थापकीय कमजोरीको समेत सुधार हुन सकेको छैन। उदाहरणका लागि कम्तीमा नगरपालिकाअन्तर्गतका कार्यालयहरूमा सेवा प्रवाह गर्दा कस्तो नीति अख्तियार गर्ने भन्नेमा ठोस पहलकदमी त लिन सकिन्छ होला नि? एउटा नगरवासीले नगरपालिकाको सेवा लिन जाँदा सधैं रैतीको व्यवहार बेहोर्नुपर्ने त साँचो हो नि, त्यसमा हामी के सुधार गर्न सक्दैनौं र? अतिक्रमित फुटपाथ, अस्तव्यस्त सडक, सामुदायिक विद्यालयहरूको खस्कँदो गुणस्तरमा सुधार लेराउनु के असम्भव छ र? 

सुधार्न तपाईं के गर्नुहुन्छ?
म मूलतः व्यवस्थापकीय रूपमा नगरपालिका सेवा व्यवस्थित र व्यावसायिक हुन भन्ने चाहन्छु। र, मेरो पूरा ध्यान त्यसैमा जान्छ। साथसाथै २०/३० हजारका लागि वैदेशिक रोजगारीमा जान बाध्य नगरवासीका लागि नगरपालिकामा नै स्वरोजगार, व्यावसायिक या रोजगार हुने व्यवस्था मिलाउन निजी क्षेत्रसँग ठोस सहकार्य गर्न चाहन्छु। कम्तीमा पनि ५ वर्षको कार्यकालमा वैदेशिक रोजगारीमा गएका १५० नगरवासीहरूलाई सधैंका लागि घर फिर्ता गरी रोजगार हुने अवसर दिलाउनु छ। शिशु स्याहार, बालशिक्षा, माध्यमिक तहको शिक्षा, आधारभूत स्वास्थ्य सेवामा गुणस्तरीय र एकरूपता कायम गर्ने, फोहोर व्यवस्थापनमा ठोस कदम चाल्ने, नगरक्षेत्रको सार्वजनिक यातायातलाई व्यवस्थित गर्ने र अवैध रूपमा भइरहेको प्राकृतिक स्रोतको दोहनमा लगाम लगाउनुपर्छ भन्ने मेरो मान्यता हो। 

उम्मेदवार हुँदा चुनौतीको आकलन गर्नुभएको छ?
स्थापित परम्परागत मान्यताका विपक्षमा मतैक्यता गराउन गाह्रो छ, यो चुनौतीपूर्ण त छ। तथापि आम नागरिकले, भुँइतहमा मतदान गर्ने कुरा नभई प्रदान गर्ने हो भन्ने सन्देश मात्र बुझ्नसके भने त्यो मेरा लागि काफी हुनेछ।

मेरो उम्मेदवारी पुरानो पार्टीका संचरना भत्काउने हैन, विनिर्माण गर्ने अभियान हो। म भत्काउने र ध्वंस गर्ने कुरामा विश्वास गर्दिनँ। मानिसहरूले परिवर्तनका लागि स्वविवेकी निर्णय गर्नुपर्छ। मैले कसैलाई पनि जबर्जस्ती गर्दिनँ। म त्यसमा विश्वास गर्दिनँ। बाइक र्याली, युवा परिचालन, भाषणबाजी मेरो चुनावी अभियान हुने छैनन्। सभ्य समाजमा चुनावी अभियान कस्तो हुनुपर्छ भन्ने उदाहरण म पेस गर्नेछु।

अहिलेसम्म केही नगरेको परीक्षण नभएको व्यक्तिलाई भोट दिँदैनन् भन्ने पनि प्रश्न आउँछन्। अहिलेसम्म परीक्षण भएका, काम भएका, वर्षौंदेखि देश बनाउने कसम खाएर हिँडेका हौं भन्नेहरूले के कति गर्नुभयो? पहिला त्यो समीक्षा गरौं। अनि बल्ल यो प्रश्नमा हामी सही रूपमा अवतरण हुन सकौंला कि?

बुबाकै पार्टीबाट चुनावमा होमिँदा अलि सहज हुन्थ्यो होला नि?
पार्टीबाटै चुनावमा होमिए पनि उम्मेदवारहरू त चुनावमा पराजित भएकै हुन्छन् नि हैन र? यो राजनीतिक दल वा संगठनभन्दा परको विषय हो। मैले फेरि दोहोर्याएर भन्छु– यो चेतनाको कुरा हो। र, व्यक्तिगत रूपमा राजनीति मेरो पेसा हैन। 

बहालवाला माननीय एवं देशकै सबभन्दा ठूलो दल एमालेको केन्द्रीय सदस्यको पुत्र हुनुका कारण मसँग धेरै अप्ठ्यारा, व्यवधान र नैतिक दबाब पनि छ। कि अहिले जे छ, त्यसैमा म रमाइलो मानेर केही नभएको स्वाङ पारिरहूँ। धेरैले यसलाई मेरो साहस या आँटभन्दा पनि बुवाको विरुद्वमा लागेको, बुवाको राजनीतिलाई धुलिसात् पार्न लागेको आरोप लगाउँछन्। तर देशमा एक जनप्रतिनिधिका हिसाबले गर्न सकिने अति सामान्य विषयतर्फ पनि निर्वाचित जनप्रतिनिधिहरूको ध्यान गएको पाइँदैन। समग्र नागरिकको उत्थानका लागि सामूहिक प्रयत्नबाट एउटा मुकाम हासिल गर्नुपर्नेमा आफ्नो शान शौकत कायम गरी नागरिकहरूमाथि शासन गर्ने इजाजतपत्र हासिल गरेको भन्ठान्ने एक किसिमको ठालु प्रवृति मौलाउँदै गएको छ। यो गलत भइरहेको छ, र यसमा निर्मम प्रहार गर्नुपर्ने देखिन्छ। मेरो बुझाइमा, यसमा सबभन्दा बढी जिम्मेवारी मजस्तै नेताका सन्तान सन्ततिहरूमा छ। आफ्ना नेता पिता–माताले जानअन्जानमा गरेका विभिन्न त्रुटि सच्याउने पहिलो जिम्मेवारी विशेषतः नेताका सन्तानका काँधमा आइपरेको छ। त्यसलाई मनन गर्नैपर्छ।  ​

तपाईंले उम्मेदवारी दिँदा बुबालाई अप्ठ्यारो पर्दैन?
स्वतन्त्र हुनु त कसैको पनि पक्ष या विपक्षमा नलाग्नु हैन र? स्वतन्त्रताले यदि पक्ष, विपक्षको कुरा बुझाउँछ भने हामीले यो शब्दको अर्थको पुनःपरिभाषा गर्नुपर्ने हुन्छ। स्वतन्त्र हुनु स्वतन्त्र हुनु हो। मेरो कारणले बुवालाई अप्ठ्यारो हुन्छ भने त्यो अप्ठ्यारो पार्नेहरूको विवेकमा भरपर्ने कुरा हो। बरु मेरो स्वतन्त्र उम्मेदवारीले त मेरो बुवाको गरिमालाई अझ उँचो बनाउँछ भन्ने विश्वास हो, मेरो। ३६ वर्षको एक शिक्षित, सचेत र आफ्नै अनुभव हासिल गरेको छोरालाई फेरि पनि बुवाकै हात समातेर टुकुटुकु गर्नुपर्छ भन्ने मान्यता हो भने म त्यो बुझाइको सख्त विरोध गर्दछु। 

अन्त्यमा मेरो समर्थन फलानाे पार्टी वा उम्मेदवारलाई छ भन्दै मैदान छाड्नु त हुन्न?
मैले अभियानको प्रारम्भदेखि नै भन्दै आएको छु कि यो न कसैको समर्थनमा छ, न त असमर्थनमा नै। यो स्वजागरणको विषय हो। मेरो दृढ विश्वास छ– आजपर्यन्त स्थानीय निकायमा स्वार्थको उल्झनबाट बाहिरै भएका कुनै पनि व्यक्ति दलबाट उम्मेदवार हुने स्थिति हुने छैन। दलबाट उम्मेदवारी प्राप्त गर्ने व्यक्तिको आफ्नै पेसा, व्यवसाय हुन्छ, ऊ दर्जनभन्दा बढी विभिन्न संस्थाको कार्यकारी पदमा रहेको हुन्छ। अब बुझ्नैपर्ने कुरो के छ भने त्यो एउटा व्यक्तिले एकैपटक कतिवटा जिम्मेवारी निर्वाह गर्न सक्छ? कि त्यस्तो व्यक्तिलाई दैवीशक्ति हो भनी घोषणा गर्नुपर्यो र हाम्रा वर्षौंदेखिका पीठहरूको पूजा आराधना नगरी त्यस्ता अलौकिक व्यक्तिहरूको पूजा गर्ने काम सुरु गर्नुपर्यो। नत्र, स्थानीय निकायको नेतृत्व दिन तयार मजस्तै व्यक्तिहरूका लागि साथ समर्थनको वातावरण निर्माण गर्नुपर्यो। अतः यहाँले जुन आशंका गर्नुभएको छ, त्यो मेरा हकमा अस्वाभाविक मात्र नभई असान्दर्भिक पनि छ।

किन परम्परागत पार्टीमा तपाईंजस्ता युवाहरू अटाउन सकेनन्?
स्वचेतना आर्जन गरेका युवाहरू परम्परागत मान्यतामा पूरा विश्वास गर्दैनन्। किनकि युवाहरूले विश्व अभ्यासलाई नजिकबाट नियालेका हुन्छन्। र, आजका प्रायः युवा ती घटना, परिघटना र अभ्यासलाई आफ्नै चेतनाको आलोकमा आलोचनात्मक रूपमा विश्लेषण गर्ने क्षमता राख्छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .