ad ad

राजनीति


काठमाडौँ महानगर : कांग्रेसबाट दुई पूर्वमन्त्रीसहित ११ जना मेयरको दौडमा

काठमाडौँ महानगर : कांग्रेसबाट दुई पूर्वमन्त्रीसहित ११ जना मेयरको दौडमा

फाइल तस्बिर


केशव सावद
फागुन २५, २०७८ बुधबार १४:९, काठमाडौँ

स्थानीय तह निर्वाचन मिति नजिकिँदै गर्दा नयाँ जनप्रतिनिधिका लागि दौड सुरु भएको छ।

खास गरी महानगर र उपमहानगरको नेतृत्वमा पुग्न दलका नेता कार्यकर्ताबीच दौड सुरु भएको हो। 

संघीय राजधानी समेत रहेको काठमाडौँ महानगरपालिकाको मेयरका लागि सत्तारुढ कांग्रेसमा आकांक्षीहरुको चर्चा सुरु भएको छ।

आगामी वैशाख ३० का लागि निर्धारित स्थानीय तह निर्वाचनबाट काठमाडौँ महानगरको मेयरका लागि दुई जना पूर्वमन्त्रीहरुकै चर्चा भइरहेको छ। 

को को चर्चामा?
२०७४ को स्थानीय तह निर्वाचनमा कांग्रेसले गुमाएको काठमाडौँ महानगरपालिकाको मेयर पदका लागि प्रतिनिधिसभा सदस्यसमेत रहेका पूर्व रक्षामन्त्री भीमसेनदास प्रधान र पूर्व स्वास्थ्य राज्यमन्त्री तीर्थराम डंगोलको नाम चर्चामा छ। 

काठमाडौँको मेयरका लागि गत निर्वाचनमा प्रतिष्पर्धा गरेका नेता राजुराज जोशी, वर्तमान उपप्रमुख हरिप्रभा खड्गी, महानगर कार्यसमिति सभापति तथा २५ नम्बर वडाका वडाध्यक्ष नीलकाजी शाक्य र शाक्यसँग महानगर सभापतिमा हारेका युवा नेता प्रगतिमान रञ्जितको पनि चर्चा भइरहेको छ। 

काठमाडौँको मेयरको सम्भावित प्रत्यासीका लागि चर्चामा आएका पूर्व रक्षामन्त्री प्रधान र पूर्व राज्यमन्त्री डंगोल कांग्रेस नेता कृष्णप्रसाद सिटौलानिकट मानिन्छन्। 

जोशी, खड्गी र शाक्य नेता प्रकाशमान सिंह र रञ्जित पार्टी सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवानिकट हुन्। 

रञ्जितलाई पालिका अधिवेशनमा संस्थापन समूहले महानगर सभापतिको उम्मेदवार बनाएको थियो। 

उनलाई सिटौला समूहले सघाएको थियो। रञ्जित नेता सिंहनिकट २५ नम्बर वडाका वडाध्यक्ष शाक्यसँग पराजित भएका थिए। 

पूर्व रक्षामन्त्री भीमसेनदास प्रधानले नेपालखबरसँगको कुराकानीमा कार्यकर्ता पंक्तिले आफूलाई महानगरको मेयरका लागि दबाब दिइरहेका प्रतिक्रिया दिएका छन्। 

‘रक्षामन्त्री भइसकेको मान्छे हो, तपाईंसँग भिजन छ भनेर साथीहरु मेयरमा उठ्न पर्छ भनिरहनुभएको छ,’ उनले भने, ‘मैले आफैं इच्छा देखाएको छैन। मलाई दुई पटक जिताएर पठाउनुभएका मतदातालाई म छोड्दिनँ। क्षेत्र छोडेर नगरमा जाने मेरो चाहना होइन।’

यस्तै गत निर्वाचनमा मेयरका प्रत्यासी जोशीले पनि आफूलाई शुभचिन्तकहरुले फेरि प्रतिष्पर्धामा उत्रिन सल्लाह दिइरहेको बताएका छन्। 

‘विगतमा म प्रत्यासी थिएँ। त्यही भएर मेरो पनि चर्चा हुने नै भयो,’ उनले भने, ‘साथीभाइहरु फेरि उठ्नु प¥यो भनिरहनुभएको छ। म सल्लाहमै छु।’

गत स्थानीय तह निर्वाचनमा जोशी नेकपा एमालेका विद्यासुन्दर शाक्यसँग मेयरमा पराजित भएका थिए। मेयरमा विजयी शाक्यले ६४ हजार ९१३ मत ल्याउँदा जोशीले ४५ हजार २६९ मत पाएका थिए। 

५८ हजार ९५२ मत ल्याएर उपप्रमुखमा विजयी कांग्रेस नेतृ खड्गी आसन्न स्थानीय तह निर्वाचनमा काठमाडौँ महानगरको मेयरका लागि आकांक्षी हुन्। चाक्सीबारीनिकट एक नेताले उनी मेयरको आकांक्षी भएको बताएका छन्।

‘उहाँ उपप्रमुख भएकाले अब जाने भनेकै मेयरमा हो,’ ती नेताले नेपालखबरसँग भने, ‘उहाँले इच्छा राख्नु स्वभाविकै हो। मेयरको उम्मेदवारका लागि लबिङमा हुनुहुन्छ।’

काठमाडौँ महानगरको मेयरका लागि प्रदेशसभा सदस्य नरोत्तम वैद्य, कांग्रेसका स्वर्गीय नेता नवीन्द्रराज जोशीकी धर्मपत्नी सपना जोशी, वडानम्बर १६ का वडाध्यक्ष मुकुन्द रिजाल, वडानम्बर ११ का वडाध्यक्ष हिरालाल तण्डुकार, कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ) का निवर्तमान महासचिव मनोज वैद्यले पनि आकांक्षा राखेका छन्। 

२०७४ सालको निर्वाचनमा काठमाडौं महानगरमा २ लाख ७९ हजार ५ सय ७५ मतदाता थिए । यसपाली २१ हजार मतदाता थपिएको बताइएको छ। 

महानगरको मेयरका आकांक्षी युवा नेता रञ्जित अघिल्लो निर्वाचनमा तीन आकांक्षीमध्ये आफ्नो नाम पनि रहेको भन्दै यसपटक आफूले टिकट पाउनेमा ढुक्क देखिन्छन्। २०४३ सालदेखि क्रियाशील रञ्जित पार्टी संगठनभित्र आफूलाई इमानदार र सक्रिय नेताका रूपमा सबैले चिन्ने दाबीसमेत गर्छन्। 

‘काठमाडौंमा नेवार समुदायको बाहुल्यता छ। तर, अन्य समुदायका मतदाताको संख्या पनि ठूलो छ,’ उनले भने, ‘म सबैसँग उत्तिकै सम्पर्कमा रहेर पार्टी काममा खटिँदै आएको छु। मेरो इमान्दारीता र सक्रियता सबैलाई थाहा छ। टिकट पाउँछु र जित्छु पनि।’ 

कांग्रेस काठमाडौँका सभापति कृष्ण सबुज बानियाँले स्थानीय तह निर्वाचन नजिकिएसँगै चर्चा सुरु भए पनि आकांक्षीहरूले खुलेर इच्छा देखाइ नसकेको बताउँछन्। 
उनले पार्टी कार्यालयमा आधिकारिक रुपमा दावी प्रस्तुत गर्न पनि कोही नआएको जानकारी दिए।

‘चुनाव आउन लाग्यो। चर्चा सुरु भएको होला। आफूनिकट नेता–कार्यकर्तासँग छलफल गरिरहेका हुनसक्छन्,’ उनले भने, ‘अफिसियल्ली कोही आएको छैन। हामी अभियान लिएर घरघर जाँदैछौँ। अब अभियानका क्रममा आकांक्षी आउलान्।’

कांग्रेसको विधानअनुसार महानगरपालिका कार्यसमितिले योग्यता पुगेकामध्ये प्रमुखका लागि एक महिलासहित बढीमा तीनजना सहमति हुन सके सहमतिअनुसार र यदि त्यसो नभए बहुमतबाट निर्णय गरी प्रदेश कार्यसमितिमा पठाउनुपर्छ। 

प्रदेश कार्यसमितिले ती नाममा आफ्नो राय सुझाव उल्लेख गरेर केन्द्रमा पठाउँछ। केन्द्रले प्राप्त नामको विवरण आफूसँग राखेर केन्द्रीय संसदीय समितिमा पठाउने व्यवस्था विधानले गरेको छ।

कांग्रेसको विधानमा भनिएको छ, ‘केन्द्रीय संसदीय समितिले प्राप्त नाममध्ये सहमति हुन सके सहमति, सहमति हुन नसकेमा बहुमतबाट निर्णय गरी उक्त निर्णय केन्द्रीय कार्यसमितिबाट अनुमोदन गराई पार्टीको तर्फबाट उम्मेदवारी घोषणा गर्ने र उम्मेदवारको मनोनयन दाखिला गर्ने व्यवस्था गर्नेछ।’ 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .