राजनीति


दलहरुले जनतालाई धोका दिए, मेयरमा स्वतन्त्र उम्मेदवारी विकल्पको खोजी हो : सुमित खरेल (अन्तर्वार्ता)

दलहरुले जनतालाई धोका दिए, मेयरमा स्वतन्त्र उम्मेदवारी विकल्पको खोजी हो : सुमित खरेल (अन्तर्वार्ता)

यज्ञराज जोशी
फागुन २५, २०७८ बुधबार २१:२२, काठमाडौँ

काठमाडौंको बूढानीलकण्ठ नगरपालिकाका मेयर उद्धवप्रसाद खरेलको सचिवालयमा चार वर्ष काम गरेपछि ३३ वर्षीय सुमित खरेलले यसपल्ट आफैँ मेयरको उम्मेदवारका उठ्ने भएका छन्।  गत फागुन ७ गते स्वतन्त्र उम्मेदवारी घोषणा गरेका सुमितको पारिवारिक राजनीति पृष्ठभूमि वामपन्थी हो। 

चार वर्ष स्थानीय जनप्रतिनिधिसँग काम गर्दा मेयरलाई चाहिने निश्चित सीप, ज्ञान र मानसिकतामा कमी देखिएको उनको बुझाइ छ। अहिलेको पुस्ताले खोजेको विकासको आकांक्षा, परिवर्तन र उनीहरुबाट डेलिभर हुन नसकेकाले आफूले स्वतन्त्र उम्मेदवारी दिन लागेको उनले बताए। 

मेयरमा तपाईंको उम्मेदवारी किन?
चार वर्षमा के महसुस भयो भने मेयर पोजिसनले एउटा निश्चित सीप, ज्ञान, मानसिकताको माग गर्दो रहेछ। त्यसमा हाम्रो हिजो जति पनि गोरेटो बाटो हिँडेर आएको पुस्ता छ, २०५४ सालदेखिकै जनप्रतिनिधि नै दोहरिए। उहाँहरुमा बाटो र ढलभन्दा माथि विकासको दृष्टिकोण देख्न सकिनँ मैले। मेरो र आउने पुस्ताले खोजेको विकासको आकांक्षा, परिवर्तन र डेलिभरी पूरा गर्न सकेन। राजनीतिले कुनै समस्या समाधान गर्न सकिरहेको छैन। चार वर्ष मेयर बन्दा पनि छोराछोरी पढाउन निजी स्कुलको भर पर्नुपर्छ भनेपछि मेयरले पनि त्यहाँ केही गर्न सकिरहेका छैनन्।

हामीले किन गर्न सकिरहेका छैनौँ भनेर म निराश पनि बनिसकेको थिएँ। अब के गर्ने, कि राजनीति छोड्ने? कि विदेश जाने वा अहिलेकै परिपाटीमा चुप लागेर बस्ने भनिरहँदा साथीहरुले मजस्तो बुझाइ, अनुभव पाएका मान्छेले राष्ट्रले प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा लगानी गरेको छ। त्यसो हुँदा किन समस्या समाधानको विधिमार्फत किन आफैँ चुनौती लिन तयार नहुने भनेर सुझाव आयो।

त्यसपछि हामीले दुई महिना १३ वटै वडामा सर्भे गर्यौँ। त्यसमा तीनवटा कुरा देखिए। एउटा, जनताले दलहरूबाट धोकाको महसुस गरिरहनुभएको छ, दोस्रो, चरम असन्तुष्टि छ, उहाँहरुले विकल्प खोजिरहनुभएको छ, विकल्प नभएको अवस्था छ। तेस्रो कुरा, हामीले राम्रोसँग तयारी गर्ने हो भने स्थानीय तहमा अहिलेको नेतृत्वको सञ्जाल तोड्न सकिन्छ भन्ने भएपछि समूह बनाएर मैले फागुन ७ गते स्वतन्त्र उम्मेदवारी घोषणा गरेको हुँ। 

के एजेन्डा लिएर चुनाव लड्नुहुन्छ?
एउटा विकासप्रतिको दृष्टिकोण नै हो। २०५२ सालमा अहिलेका राजनीतिक नेताहरुको दृष्टिकोण जे छ अहिले पनि त्यही देखिरहेको छ। तर अहिले समस्या फरक भइसके। हिजो प्रदूषणको समस्या थिएन, अहिले प्रदूषण ठूलो समस्या भइसकेको छ। फोहोर व्यवस्थापनको चुनौती भएको छ। हिजो खोलामा पुल थिएन भन्ने समस्या हुन्थ्यो भने अहिले प्रदूषण र बाढीले समस्या भइरहेको छ। सिँचाइ अभावले कृषिमा असर गरिरहेको छ। 

हाम्रो मुख्य एजेन्डा भनेको स्थानीय तहमा कुनै पार्टीभन्दा भूगोल र जनताप्रति वफादार हुने राजनीति गरौँ भन्ने हो। त्यसका लागि नागरिकको स्वास्थ्य, स्वस्थ खाना, स्वस्थ वातावरण र त्यसलाई चाहिने भौतिक पूर्वाधारमा काम गर्न चाहन्छौं। 

पहिलो वर्ष नै सुविधासम्पन्न नगर ल्याब बनाउने विचार छ। जसमा सम्पूर्ण स्वास्थ्य स्क्रिनिङका सुविधा गर्न सकियोस्। यस्तै, सार्वजनिक विद्यालयमा गुणस्तरीय शिक्षाका लागि काम गर्नेछौं। युवाका लागि युवा आविष्कार केन्द्र, उद्यमशीलता केन्द्र विकास गर्नेछौं। नगरपालिकाको सेवा प्रवाहलाई चुस्त राख्न हामीले एकद्वार प्रणाली र कल सेन्टर राख्नेछौँ। 

व्यवसाय र बहाल कर हामीले अहिले अलिकति बढी तिरिरहेका छौं, त्यसलाई पनि हामी आधा घटाउँछौँ। खानेपानीका स्थानीय आयोजनाले बजेट लगे पनि नगरपालिकामा न अडिट बुझाउँछन् न पारदर्शी तरिकाले हिसाबकिताब राखेका छन्। ती सबैलाई नगरपालिका मातहत ल्याएर त्यसको सञ्चालन र व्यवस्थापनको लागि पहलकदमी गर्नेछौं। 

एजेन्डा कार्यान्वयनका लागि चुनाव नै जित्नुपर्ने हुन्छ? सम्भव देख्नुहुन्छ?
गाह्रो चाँहि छ। लामो समयदेखिको लिगेसीसँग प्रतिस्पर्धा गर्नुपर्छ। हामीले २०६४ देखिको मत विश्लेषण गर्दा बूढानीलकण्ठका मतदाताले एउटै पार्टीलाई भोट दिएको देखिँदैन। यहाँको भोटिङ प्याटर्न हेर्दा मानिसले एउटाबाट अर्को पार्टीमा जानुभन्दा स्वतन्त्र उम्मेदवारलाई सफ्ट कर्नर राख्नसक्ने देखिएकाले हामी सुरुमै घोषणा गरेर अघि बढेका छौं। अहिले स्वतन्त्र नागरिक मञ्च र स्वतन्त्र युवा समितिमार्फत अभियानमा होमिएका छौं। बढेको युवा मतदाता र शहरी क्षेत्रको भोटिङ प्याटर्नले गर्दा हामी आशावादी छौं। संगठन हाम्रो कमजोरी हो। त्यही भएर सहयोग समूह बनाउँदै जान्छौं। त्यसले हामीलाई सहयोग गर्नेछ भन्ने हाम्रो बुझाइ हो। 

वामपन्थी पृष्ठभूमिको परिवारबाट आउनुभएका तपाईंलाई बरु पार्टीबाटै अघि बढ्दा सजिलो हुन्थ्यो होला नि?
सजिलो हुन्थ्यो। पार्टीमा नेतृत्वको जाम नै लागेको छ। हामीले पनि पार्टीमै जोडिएर काम गरेका थियौं। तर समाजको गतिलाई पक्डन सक्ने सीप स्थानीय कमिटीमा देखिएन। त्यसकारण नयाँ किसिमको प्रवाह पनि हुन्छ भनेर हामीले स्वतन्त्र रुपमा जान खोजेका हौं। वैकल्पिक पार्टी भनिएकाले पनि समर्थन गर्छु भन्नुभएको छ। तर, हामी उहाँहरुको उम्मेदवारका रुपमा अघि बढ्दैनौँ। उहाँहरूसँग सहकार्यसम्म हुन सक्छ। 

जित्नुभयो भने पाँच वर्षमा बूढानीलकण्ठमा के के परिवर्तन गर्नुहुन्छ?
विशेषमा सेवा प्रवाहमै सुधार ल्याउँछौँ। जित्यौं भने छिर्ने दिनमै ह्विल चियर जहाँसम्म जान सक्छ, त्यही कोठासम्म मेयरको कार्यकक्ष हुन्छ। हामी तीन महिनाभित्र कल सेन्टर, एकद्वार फाइल सिस्टम सुरु गर्छौं। स्थानीय राजनीतिमा ओझेलमा परेको विषय कानुन निर्माण हुन्छ। विकास निर्माणलाई नियमन र रेगुलेसन गर्न आवश्यक कानुनलाई चुस्त बनाउन चाहन्छौं। पहिलो वर्ष नै फोहोर व्यवस्थापनमा संकलन प्रणालीलाई व्यवस्थित गर्नेदेखि लिएर व्यावहारिक परिवर्तनमै काम गर्छौं। त्यसबाहेक हरियाली प्रवर्धन, ग्राउन्ड वाटर रिचार्जमा काम गर्न चाहन्छौं। पाँच वर्षभित्र खुशी, स्वास्थ्य, शिक्षित नागरिक र पर्यावरणीय सन्तुलन मिल्ने खालको नगरपालिका बनाउन चाहन्छौं। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .