राजनीति


‘वर्ल्ड एक्स्पो २०३०’ का लागि हुने मतदानमा साउदी अरबले माग्यो नेपालको समर्थन

‘वर्ल्ड एक्स्पो २०३०’ का लागि हुने मतदानमा साउदी अरबले माग्यो नेपालको समर्थन

सन्तोष घिमिरे
चैत १, २०७८ मंगलबार २२:२८, काठमाडौँ

साउदी अरबले ‘वर्ल्ड एक्स्पो २०३०’ आयोजनाका लागि अर्को वर्ष हुने अन्तर्राष्ट्रिय मतदानमा नेपालको समर्थन मागेको छ। 

नेपाल भ्रमणमा आएका साउदी अरबका विदेशमन्त्री फैजल बिन फरहान बिन साउदले प्रधानमन्त्री शेरबहादुर देउवा र परराष्ट्रमन्त्री नारायण खड्कासँग भएका भिन्दाभिन्दै भेटमा वर्ल्ड एक्स्पो आयोजनाका लागि विभिन्न देशबीच सन् २०२३ भित्र हुन लागेको मतदानमा समर्थन मागेका हुन्। 

सन् २०३० मा वर्ल्ड एक्स्पो आयोजनाका लागि विश्वका पाँच मुलुकले उम्मेदवारी दिएका छन्। जसमा साउदी अरब, इटाली, दक्षिण कोरिया, युक्रेन र रुस छन्। सन् २०२३ को अन्त्यसम्ममा मतदान हुनेछ। उल्लिखित पाँचमध्ये एक मुलुकले ग्लोबल एक्स्पो गर्न पाउनेछ। 

साउदीले वर्ल्ड एक्स्पो आयोजना गर्नका लागि पेरिसमा मुख्यालय रहेको अन्तर्राष्ट्रिय प्रदर्शनी ब्युरोमा गत वर्ष उम्मेद्वारी दिएको थियो। 

अन्तर्राष्ट्रिय प्रदर्शनी ब्युरो (बीआई) अन्तरसरकारी संगठन हो, जसले विश्वभर हुने अन्तर्राष्ट्रिय प्रदर्शनीको सुपरीवेक्षण तथा अनुगमन गर्ने गर्छ। उक्त अन्तरसरकारी संगठनमा नेपाल लगायत १७० देश सदस्य छन्। वर्ल्ड एक्स्पो आयोजना गर्न प्रतिस्पर्धामा उत्रने मुलुकले सदस्य मुलुकको समर्थन जुटाउनुपर्ने हुन्छ। बहुसंख्यक देशले समर्थन दिएमा साउदी अरबले राजधानी रियादमा ग्लोबल एक्स्पो आयोजना गर्ने योजना बनाएको छ। 

साउदीका विदेशमन्त्रीको नेपाल भ्रमणको एउटा मुख्य उदेश्य वर्ल्ड एक्स्पो आयोजनाका लागि नेपालको समर्थन जुटाउनु रहेको परराष्ट्र मन्त्रालयका अधिकारीहरुले बताए। 

मंगलबार भएको भेटमा वर्ल्ड एक्स्पो आयोजनाका लागि समर्थन गरिदिन साउदी विदेशमन्त्रीले गरेको प्रस्तावमा परराष्ट्रमन्त्री खड्काले सकारात्मक जवाफ दिएका छन्। नेपाल आउनुअघि साउदीका विदेशमन्त्रीले श्रीलंका भ्रमण गरेका थिए। उक्त भ्रमणमा श्रीलंकाले साउदी विदेशमन्त्रीले एक्स्पोका लागि मागेको समर्थनमा आफूले सघाउने वचन दिएको छ। नेपालबाट पनि साउदीले त्यही खालको समर्थन खोजेको हो। साउदीका विदेशमन्त्री मंगलबार बंगलादेशको ढाका प्रस्थान गरिसकेका छन्। ढाका भ्रमणमा पनि उनले ग्लोबल एक्स्पोका लागि समर्थनका लागि आग्रह गर्नेछन्। 

हालै यही खालको एक्स्पो अर्को खाडी मुलुक संयुक्त अरब एमिरेट्स (यूएई) ले आयोजना गरिसकेको छ। उक्त एक्स्पोका लागि नेपालले यूएईलाई समर्थन गरेको थियो। एक्स्पोमा नेपालका प्रधानमन्त्री शेरबहादुर देउवालाई निमन्त्रणा भए पनि उनी गएनन्।

साउदी अरबले तेलमा निर्भर आफ्नो अर्थतन्त्रलाई व्यापार विविधीकरणमार्फत् सन् २०३० भित्र नयाँ ढंगले रुपान्तरण गर्ने लक्ष्य लिएको छ। 

प्रधानमन्त्री देउवा र परराष्ट्रमन्त्री खड्कासँगको भेटमा साउदीका विदेशमन्त्री फैजलले साउदी अरबको समृद्धिका लागि अघि सारिएको ‘भिजन २०३०’ बारे विस्तृतमा बताएका थिए। त्यसका लागि साउदीले विज्ञान तथा प्रविधिलगायत विभिन्न क्षेत्रमा सुधारका काम अघि बढाएको छ। सामाजिक तथा आर्थिक रुपान्तरणका अलावा पर्यावरण, संस्कृति र सम्पदाका क्षेत्रमा पनि उसले विभिन्न लक्ष्य लिएको छ। ती लक्ष्य संयुक्त राष्ट्रसंघीय दिगो विकास लक्ष्यसँग समेत सम्बन्धित छन्। 

भिजन २०३० अन्तर्गत साउदीले रियादमा बृहत् रुपमा पूर्वाधार विकास पनि गरिरहेको छ। 

साउदीका विदेशमन्त्रीको यो नै पहिलो औपचारिक नेपाल भ्रमण हो। संयोगले साउदीका विदेशमन्त्रीको नेपाल भ्रमणकै दिन नेपाल र साउदीबीच कूटनीतिक सम्बन्ध स्थापनाको ४५ वर्ष पुरा भएको छ। सन् १९७८ मा खाडी मुलुक साउदीसँग नेपालको कूटनीतिक सम्बन्ध स्थापना भएको थियो।
 
मृत्युदण्ड सुनाइएका दुई नेपालीलाई आममाफीका लागि आग्रह 
परराष्ट्रमन्त्री खड्काले साउदी विदेशमन्त्रीसँगको भेटमा साउदीमा मृत्युदण्ड सुनाइएका दुई नेपाली सन्तबहादुर पुन र विवेक दाहालको जीवनरक्षाका लागि आग्रह गरेको परराष्ट्र मन्त्रालयका एक अधिकारीले बताए। ती नेपालीलाई आममाफीका लागि मन्त्री खड्काले गरेको आग्रहमा साउदी विदेशमन्त्रीले आफ्नो देशको कानुनअनुसार सम्भव भएसम्म आवश्यक पहल गर्ने बचन दिएका छन्। 

२३ सदस्यीय साउदी टोलीका साथ विदेशमन्त्री फैजल सोमबार साँझ काठमाडौँ आएका थिए। विदेशमन्त्री फैजलले मंगलबार राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री  देउवासँग पनि भेट गरे। 

राष्ट्रपति विद्यादेवी भण्डारीसँगको भेटमा दुई देशबीचको सम्बन्ध विस्तारबारे कुराकानी भएको राष्ट्रपतिका प्रेस विज्ञ टीका ढकालले बताए। उनका अनुसार नेपाल र साउदी अरबले द्विपक्षीय तथा अन्तर्राष्ट्रिय मञ्चमा मिलेर काम गर्नेबारे साउदी विदेशमन्त्री र राष्ट्रपतिबीच कुराकानी भएको थियो। 

राष्ट्रपतिले साउदीले नेपाललाई दिँदै आएको सहयोगका लागि धन्यवाद दिएकी थिइन्। साउदी विदेशमन्त्री फैजलले नेपाली कामदारले साउदीको अर्थतन्त्रमा दिँदै आएको योगदानको प्रशंसा गरेका थिए। उनले नेपालसँग सम्बन्ध सुदृढ गर्ने साउदी नरेशको चाहना सुनाएका थिए। 

नेपाल र साउदी अरबबीचको श्रम सम्झौता अझै अनिश्चित 
प्रधानमन्त्री देउवा र परराष्ट्रमन्त्री खड्कासँग साउदीका विदेशमन्त्रीले गरेको भेटवार्तामा नेपाल र साउदीबीचको बहुप्रतीक्षित श्रम सम्झौताबारे पनि चर्चा भएको थियो। साउदीमा हाल ४ लाख नेपाली युवा विभिन्न क्षेत्रमा कामदारका रुपमा छन्। नेपालले लामो समयदेखि श्रम सम्झौता गर्न साउदीलाई आग्रह गर्दै आएको छ। साउदी र नेपालबीच श्रम सम्झौताको मस्यौदा आदानप्रदान भइसकेको छ। तर नेपाल र साउदीबीच सम्झौतामाथि आआफ्नै अडान छन्। 

साउदीले नेपालीलाई घरेलु कामदारका रुपमा राख्न पाउनुपर्ने माग राख्दै आएको छ। तर नेपाल सरकारले नेपाली कामदारलाई विदेशी कामदारका रुपमा व्यवहार हुनुपर्ने माग राख्दै आएको छ। 

साउदीमा नेपालका महिला हाउसमेड छन्। यदि नेपाली कामदारलाई साउदीका घरेलु कामदारका रुपमा व्यवहार भए उनीहरुमाथि अन्याय हुनसक्छ। किनकि इस्लामिक कानुन लागू भएको मुलुक साउदीमा नेपाली महिलामाथि बिभिन्न बन्देज लाग्नेछ। यद्यपि अहिले पनि हजारौँ नेपाली महिला त्यहाँ बँधुवा कामदारका रुपमा काम गर्न विवश छन्। 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .