राजनीति


वाङको भ्रमणमा चीनको प्राथमिकता बीआरआई कार्यान्वयन सम्झौता, नेपाल अध्ययनकै क्रममा

वाङको भ्रमणमा चीनको प्राथमिकता बीआरआई कार्यान्वयन सम्झौता, नेपाल अध्ययनकै क्रममा

सन्तोष घिमिरे
चैत ५, २०७८ शनिबार २२:५६, काठमाडौँ

चिनियाँ विदेशमन्त्री वाङ यीे अर्को साता नेपालको दुई दिने औपचारिक भ्रमणमा आउँदैछन्।

भ्रमण कार्यतालिका अनुसार चिनियाँ विदेशमन्त्री चैत १२ र १३ गते दुईदिन काठमाडौँमा रहनेछन्। भ्रमणको पहिलो दिन परराष्ट्रमन्त्री डा. नारायण खड्का र चिनियाँ विदेशमन्त्री वाङबीच दुईपक्षीय भेटवार्ता हुनेछ। उनले दोस्रो दिन राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधामन्त्री शेरबहादुर देउवासँग भेट्नेछन्।

चिनियाँ विदेशमन्त्रीसँगै नेपाल यात्रामा हुनेछन् चिनियाँ कम्युनिस्ट पार्टी विदेश विभागका मन्त्री सङ ताओ। चिनियाँ कम्युनिस्ट पार्टीको केन्द्रीय सदस्यस समेत रहेका सङले हालै विदेश विभागको प्रमुखको हैसियतमा एमालेका अध्यक्ष केपी ओली, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालसँग भिडियो वार्ता गरेका थिए। राष्ट्रपति तथा पार्टी माहासचिव सी चिनफिङलाई सिधै रिपोर्ट गर्न सक्ने भएकाले सङ बेइजिङमा विदेशमन्त्री वाङपछि नेपाल मामिलामा प्रभावशाली मानिन्छन्।

७ देखि ९ जना जना चिनियाँ अधिकारी वाङ नेतृत्वको प्रतिनिधिमण्डलमा सहभागी हुने परराष्ट्र मन्त्रालयका अधिकारीहरुले बताएका छन्। नेपाल बसाईमा चिनियाँ दुई मन्त्रीले माओवादी अध्यक्ष प्रचण्ड र प्रमुख प्रतिपक्षी दल एमालेका अध्यक्ष ओलीसँग पनि भेटवार्ता गर्नेछन्। 

परराष्ट्रमन्त्री खड्काको निमन्त्रणामा चिनियाँ विदेशमन्त्री वाङ नेपाल आउन लागेका हुन्। खड्का र वाङबीच गत कार्तिक पहिलो साता भएको टेलिफोन कुराकानीमा भ्रमण आदान प्रदानको सहमति भएको थियो। त्यसलगत्तै मन्त्री खड्काले वाङलाई नेपाल भ्रमणका लागि निमन्त्रणा पठाएका थिए। मन्त्री खड्काले पनि आफू अनुकुल समयमा चीन आउने जवाफ दिएका थिए।

चिनियाँ विदेशमन्त्रीको भ्रमणका लागि नेपाल र चीनले गृहकार्य गरिरहेका छन्। काठमाडौँस्थित चिनियाँ राजदूत होउ यान्छीले प्रचण्ड, ओली र गृहमन्त्री बालकृष्ण खाँड तथा परराष्ट्रमन्त्री खड्कासँग वाङको भ्रमणका एजेन्डाबारे छलफल गरिसकेकी छन्।

चिनियाँ विदेशमन्त्री वाङको भ्रमणमा नेपालले सीमाबाट हुने आयात निर्यात खुलाउने, चीनमा अध्ययनरत नेपाली विद्यार्थीको चीन फिर्ती र सीमा समस्या समाधान लगायतका विषयलाई एजेन्डा बनाउने तयारी गरेको छ। उता चीनले चाहिँ बेल्ट एन्ड रोड अवधारणा (बीआरआई) प्रोजेक्ट इम्प्लिमेन्टेसन एग्रिमेन्ट (परियोजना कार्यान्वयन सम्झौता)लाई अन्तिम रुप दिन चाहेको नेपाली पक्षलाई बताएको छ। परराष्ट्र मन्त्रालय स्रोतका अनुसार उक्त सम्झौताको मस्यौदा चिनियाँ पक्षसँग साटासाट भइसकेको छ।

‘तर चिनियाँ विदेशमन्त्रीको भ्रमणमा बीआरआई परियोजना कार्यान्वयन सम्झौतामा हस्ताक्षर हुन्छ वा हुँदैन टुंगो भइसकेको छैन’, मन्त्रालयका एक अधिकारीले नेपालखबरसँग भने।

चिनियाँ पक्षले बीआरआई परियोजना कार्यान्वयन सम्झौताका लागि ताकेता गरेपनि परराष्ट्रमन्त्री डा. खड्काले अहिलेसम्म सम्झौता अध्ययनकै क्रममा राखेका छन्। 

चिनियाँ विदेशमन्त्रीको भ्रमण भूराजनीतिक हिसाबले महत्वपूर्ण समयमा हुन लागेको छ। किनकी पछिल्लो समय नेपालमा अमेरिकी सहयोग परियोजना एमसीसीसँगको सम्झौतालाई लिएर अमेरिका र चीनबीच भनावैरी भएको छ।

अमेरिकासँगको एमसीसी सम्झौता संसदबाट अनुमोदन गर्ने विषयमा नेपालमा तीब्र विवाद रहेका बेला अमेरिका र चीनबीच एकअर्कालाई घोचपेन गर्नेगरी वक्तव्यबाजी भएको थियो। नेपालमा विद्युत प्रशारण लाइन र सडक निर्माणका लागि अमेरिकाले दिने करिब ६० अर्बको अनुदान सम्झौता एमसीसी संसदबाट अनुमोदन गराउन अमेरिकाले दिँदै आएको दबाबप्रति बेइजिङले खुला रुपमै असन्तुष्टि जनाएको थियो। चीनले आफ्नो सुरक्षा चासो समेत दर्शाउँदै नेपालका राजनीतिक दलहरूलाई एमसीसी सम्झौता अनुमोदन नगर्न दबाब दिएको थियो।

चिनियाँ विदेश मन्त्रालयले अमेरिकालाई एमसीसी सम्झौता अनुमोदनमा दबाब नदिन र यदि दबाब दिए चीनले त्यसको प्रतिवाद गर्ने चेतावनी दिएको थियो। नेपालले १२ बुँदे व्याख्यात्मक घोषणासहित संसदबाट एमसीसी सम्झौता अनुमोदन गरेपछि चिनियाँ विदेश मन्त्रालयले त्यसलाई ‘जानकारीमा लिएको’ प्रारम्भिक प्रतिक्रिया दिएको थियो।

बेइजिङको दबाबका बाबजुद एमसीसी अनुमोदन भएको तीन सातापछि चीनका विदेशमन्त्री तथा स्टेट काउन्सिलरको नेपाल भ्रमण हुन लागेको हो।

एमसीसी सम्झौता संसदबाट पास भइसकेकाले अबका दिनमा अमेरिका र पश्चिमा मुलुकहरू नेपालमा थप सक्रिय हुने चिनियाँ पक्षको बुझाई रहेको देखिन्छ। यता नेपालमा अहिलेलाई चीनको प्रभाव घटेको अमेरिकी विश्लेषण रहेको पाइन्छ। विश्व महाशक्ति अमेरिका र उदाउँदो शक्ति चीनबीच विश्वव्यापी मुद्दामा देखिएको भूराजनीतिक प्रतिस्पर्धाको बाछिटा नेपालमा यसपटक एमसीसी सम्झौता अनुमोदन गर्ने क्रममा प्रस्टसँग देखिएको हो। अबका दिनमा चीन नेपालमा कसरी प्रस्तुत हुन्छ भन्ने चासो ब्याप्त रहेका बेला विदेशमन्त्री वाङको नेपाल भ्रमण हुन लागेको हो।

चीन सरकार निकट एक विज्ञले एमसीसीसँगको सम्झौता अनुमोदनपछिको नेपालको रणनीतिक माहौल बुझ्न चिनियाँ विदेशमन्त्री नेपाल आउन लागेको हुनसक्ने बताए।

‘नेपालमा एमसीसी सम्झौता पास हुँदा चीन आश्चर्यमा परेको थियो। अहिले चिनियाँ विदेशमन्त्रीको भ्रमण एमसीसी सम्झौता पास भएपछिको रणनीतिक माहौल बुझ्नकै लागि हुन लागेको हो’, चीनको फुदान युनिभर्सिटी अन्तर्गतको दक्षिण एसियाली अध्ययन केन्द्रका उप निर्देशक प्राध्यापक ली मिनवाङ्ले नेपालखबरसँग टेलिफोनमा भने।

रुस—युक्रेन द्वन्द्व चीनका लागि पनि एक चुनौतिका रुपमा देखिएको उनले बताए।

‘रुस—युक्रेन द्वन्द्वबाट उत्पन्न चुनौतिका साथ चीनले आफ्नो छिमेकमा कस्तो माहौल बनिरहेको छ त्यसलाई पनि नजिकबाट नियालिरहेको छ। नेपाल एक निकट छिमेकी मुलुक भएकाले यहाँको भूराजनीतिक माहौल बुझ्न चिनियाँ विदेशमन्त्रीको भ्रमण हुन लागेको हो भन्ने मलाई लाग्छ’, उनले भने।

मिनवाङ्ले बीआरआई अन्तर्गतका परियोजनालाई अघि बढाएर नेपालले लाभ लिनेबारे सोच्नुपर्ने बताए। 

चीनतर्फ विकासे घाँस निर्यातसम्बन्धि प्रोटोकलमा हस्ताक्षर हुनसक्ने 
भ्रमणबारे जानकार अर्का एक सरकारी अधिकारीले नेपाल र चीनबीच विकासे घाँस निर्यात सम्बन्धी एक प्रोटोकलमा हस्ताक्षर गर्नेबारे परराष्ट्र मन्त्रालय र कृषि मन्त्रालयबीच छलफल भइरहेको बताए। गत मंसिर दोस्रो साता बसेको मन्त्रिपरिषद् बैठकले गाईवस्तुको आहाराका लागि मकै, नेपियर (विकासे घाँस) र जौको हेलेज चीन निर्यात गर्न प्रोटोकल स्वीकृत गरेको थियो। नेपालले चिनियाँ पक्षलाई उक्त प्रोटोकलमा सहमति जनाउन आग्रह गर्दै पत्र लेखिसकेको छ।

‘यदि चीनले सहमति जनाए चिनियाँ विदेशमन्त्रीको भ्रमणमा नेपालको घाँस चीनतर्फ निर्यात गर्र्नेबारे औपचारिक रूपमा सम्झौतामा हस्ताक्षर हुनेछ’, कृषि मन्त्रालयका एक अधिकारीले नेपालखबरसँग भने। 

 


 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .