राजनीति


जसपाले पठायो सर्कुलर– राप्रपा र जनमत पार्टीबाहेक जोसँग पनि चुनावी तालमेल

जसपाले पठायो सर्कुलर– राप्रपा र जनमत पार्टीबाहेक जोसँग पनि चुनावी तालमेल

सागर न्यौपाने
चैत ६, २०७८ आइतबार २०:३४, काठमाडौँ

सत्ता साझेदार जनता समाजवादी पार्टी (जसपा) ले स्थानीय तहको निर्वाचनमा राप्रपा र जनमत पार्टीबाहेक अन्य दलसँग तालमेल गर्ने भएको छ। 

अर्घाखाँचीमा जसपासहितका पाँच दले चुनावमा गठबन्धन गर्ने घोषणा भइसकेको छ। यस्तै, कास्कीमा पनि गठबन्धनबीच तालमेल गर्ने प्रयास भइरहेको छ। वैशाख ३० गते हुने चुनावमा ८० दलले दल दर्ता गराएका छन्।

सीके राउत नेतृत्वको जनमत पार्टी र राजतन्त्र र हिन्दु राष्ट्र पुनर्स्थापनाको नारा बोकेको राप्रपासँग भने तालमेल गर्न नसकिने सो पार्टीका नेताहरुले बताए। त्यसबाहेकका जुन दलसँग मिल्दा जितिन्छ, त्यहीसँग तालमेल गर्ने योजनामा जसपा छ।

‘संसदीय राजनीति गर्ने हो भने सांसद जित्नुपर्छ, स्थानीय तहमा सरकार बनाउन नसके दलको प्रभाव हुँदैन,’ जसपा केन्द्रीय कार्यकारिणी समितिका एक सदस्यले नेपालखबरसँग भने, ‘हामी बलियो बन्ने योजनामा छौँ, त्यसका लागि जोसँग मिल्दा जितिन्छ, उसैसँग मिल्ने हो।’

स्थानीय तहको निर्वाचनमा पाँच दलीय गठबन्धनबीच तालमेल अनिश्चित भएपछि जसपाले नेकपा एमाले, आफ्नै पार्टीबाट विभाजन भएको लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)सँग पनि चुनावी तालमेल गर्ने निर्णय गरेको हो।

केन्द्रीय कार्यकारिणी समिति सदस्य नवराज सुवेदीका अनुसार स्थानीय चुनावमा पाँच दलीय गठबन्धनलाई पहिलो प्राथमिकता दिने, नभए राप्रपा र जनमत पार्टीबाहेकसँग तालमेल गरेर उम्मेदवारी दिन सक्ने सर्कुलर तल्लो तहमा पठाइएको  छ।

‘चुनावका लागि पाँच दलीय गठबन्धन कायम राख्न प्रयत्न गर्नेछौँ, गठबन्धन बने राम्रो हो। त्यसका लागि एकपटक शीर्ष तहमा वार्ता र छलफल हुन्छ,’ सुवेदीले नेपालखबरसँग भने, ‘यदि गठबन्धन बन्न ढिला भए एमाले र लोसपासँग पनि तालमेल हुन्छ, हाम्रो केन्द्रीय समिति बैठकले त्यही निर्णय गरेको छ।’

फागुन २९ र ३० गते जसपाको केन्द्रीय समिति बैठक बसेको थियो। बैठकले चैत २० गतेसम्म उम्मेदवार बन्ने नाम केन्द्रमा पठाइसक्न निर्देशन पनि पठाएको छ।

वैशाख ३० गते हुने निर्वाचनको लागि वैशाख ११ र १२ गते उम्मेदवार मनोनयन कार्यतालिका सार्वजनिक भएको छ।

‘चैत २० गतेसम्म उम्मेदवार टुंगो लगाउन निर्देशन पठाइएको छ’, सुवेदीले थपे, ‘साथीहरु फिल्डमा जान सुरु भइसक्यो।’

केन्द्रीय समिति बैठकमा पेस गरिएको निर्वाचन निर्देशिकामा पनि प्रतिस्पर्धी दलसँग आगामी निर्वाचनमा तालमेल गर्ने उल्लेख गरिएको थियो। सोही कुरालाई केन्द्रीय समितिले अनुमोदन गरेको हो। 

जसपाले आवश्यकताको आधारमा स्थानीय तहमा तालमेलको निर्णय गर्ने अधिकार तल्लो तहलाई दिएको मन्त्री समेत रहेकी कार्यकारिणी सदस्य रेणुकुमारी यादवले बताइन्।

‘स्थानीय तहको निर्वाचनमा आवश्यकताअनुसार तालमेल र गठबन्धन बन्छ। यसबारे निर्णय गर्ने जिम्मा स्थानीय तहलाई नै दिएका छौँ,’ यादवले नेपालखबरसँग भनिन्, ‘महानगर, उपमहानगर र नगरपालिकाबाहेकका निर्णय उनीहरुले गर्न सक्छन्। तर, प्रदेश र जिल्लासँग समन्वय भने गर्नुपर्छ।’

जसपाले कांग्रेससहितको गठबन्धन कायम रहने विश्वास गर्दै कति तहमा उम्मेदवारी दिने भन्ने निर्णय गरेको छैन।

६ महानगरपालिका, १२ उपमहानगरपालिका, २७५ नगरपालिका, ४६० गाउँपालिकासहित ७ सय ५३ स्थानीय तह छन्। 

जसपा मधेश प्रदेशमा बलियो छ। यस्तै, प्रदेश १ मा संगठन राम्रो हुँदै गएको र लुम्बिनी प्रदेशमा पनि जनाधार राम्रो रहेको निष्कर्ष सो पार्टीले निकालेको छ। वीरगञ्जको पर्सामा सोमबार ठूलो चुनावी कार्यक्रम राखेको सुवेदीले बताए।

सोमबार केही जनप्रतिनिधिसहित २०७४ का वीरगञ्जका मेयर उम्मेदवार राजेशमान सिंह जसपा प्रवेश गर्दैछन्। अध्यक्ष उपेन्द्र यादव र डा. बाबुराम भट्टराई सहितका नेताहरुले सो सभालाई सम्बोधन गर्दैछन्।

जसपाले २०७४ मा भएको स्थानीय तहको निर्वाचनमा अहिलेको उपेन्द्र यादव नेतृत्वको जसपा (तत्कालीन संघीय समाजवादी फोरम) ले १० नगरपालिका प्रमुख र २४ गाउँपालिका अध्यक्षसहित ३४ स्थानीय तहको प्रमुख जितेको थियो।

६ नगरपालिकामा उपप्रमुख र २६ गाउँपालिकामा उपाध्यक्ष सहित ३२ स्थानीय तहमा उपप्रमुख जितेको जसपाले वडाध्यक्ष २६२, महिला सदस्य २९०, दलित महिला सदस्य २८१ र खुला सदस्य ५४० सहित कुल १ हजार ४३९ जना जनप्रतिनिधि जिताउन सफल भएको थियो। 

साउन ९ गते जसपा विभाजन गरेर महन्थ ठाकुरले लोसपा पार्टी गठन गरेका हुन्।

केन्द्रीय समिति र कार्यकारिणी समितिको बैठक बस्न नसकेको अवस्थामा आवश्यक निर्णय लिन संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई, अध्यक्ष उपेन्द्र यादव र वरिष्ठ नेता अशोक राई रहेको तीन सदस्यीय हेडक्वार्टर गठन गरेर जसपा चुनावमा होमिएको छ।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad