राजनीति


चिनियाँ विज्ञ भन्छन्ः एमसीसी अनुमोदनपछिको रणनीतिक माहौल बुझ्न विदेशमन्त्री वाङको भ्रमण हुँदैछ

चिनियाँ विज्ञ भन्छन्ः एमसीसी अनुमोदनपछिको रणनीतिक माहौल बुझ्न विदेशमन्त्री वाङको भ्रमण हुँदैछ

लिन मिनवाङ, चाङ् सुविन र दाई योङहोङ


सन्तोष घिमिरे
चैत ६, २०७८ आइतबार २२:६, काठमाडौँ

चिनियाँ विदेशमन्त्री वाङ यी तीन दिने भ्रमणमा यही शुक्रबार काठमाडौँ आउँदैछन्। परराष्ट्रमन्त्री डा. नारायण खड्काको निमन्त्रणामा हुन लागेको सो भ्रमणलाई निकै चासोपूर्वक हेरिएको छ।

वाङको भ्रमण खासगरी बीआरआईअन्तर्गतका सम्झौता कार्यान्वयनमा केन्द्रित हुने बताइएको छ। नेपालमा भने बीआरआईका ठूला योजना ऋण होइन, अनुदानमा मात्रै बनाउनु पर्ने आवाज उठेको छ।

वाङको भ्रमणअघि अमेरिकी अनुदान परियोजना एमसीसी अनुमोदनको विषयलाई लिएर चिनियाँ विदेश मन्त्रालयले दुई पटक टिप्पणी गरेको थियो। जसका कारण कतिपयले एमसीसी अनुमोदनपछि नेपाल–चीन सम्बन्धमा असर पर्न सक्ने आशंका समेत गरेका थिए। 

नेपालमा एमसीसी अनुमोदन र त्यसलगत्तै हुन लागेको विदेशमन्त्री वाङको भ्रमणबारे चीनका तीन जना नेपाल मामिला विज्ञ नेपालखबरसँग यसो भन्छन् — 

एमसीसी सम्झौता अनुमोदन गर्दाको व्याख्यात्मक घोषणा अमेरिकाले स्वीकार गरेजस्तो लाग्दैन : दाई योङहोङ, सेन्जेन युनिभर्सिटीका प्राध्यापक 
नेपाल चीनको अत्यन्त निकट छिमेकी मुलुक रहीआएको छ। चीनले नेपालसँगको सम्बन्धलाई महत्व दिँदै आएको छ। विदेशमन्त्री वाङ यही साता नेपाल भ्रमणमा जाँदै हुनुहुन्छ। नेपालसँग राजनीतिक, आर्थिक, रणनीतिक र सांस्कृतिक सम्बन्ध थप सुदृढ गर्नु भ्रमणको उद्देश्य हो। राष्ट्रपति सी चिनफिङको नेपाल भ्रमणलगायत उच्चस्तरीय भ्रमणमा भएका सम्झौता कार्यान्वयनबारे भ्रमणमा छलफल हुने नै छ। बीआरआई फ्रेमवर्कभित्र रहेर दुई देशबीचको सम्बन्धलाई थप मजबुत बनाएर जान यो भ्रमण महत्वपूर्ण हुन्छ भन्ने लाग्छ। 

अर्को कुरा, अमेरिकासँगको एमसीसी सम्झौता नेपालको संसदबाट अनुमोदन भएको छ। यस घटनाक्रमलाई चीनले नजिकबाट नियालिरहेको छ। एमसीसी सम्झौता अनुमोदन गर्दा जारी भएको व्याख्यात्मक घोषणा अमेरिकी पक्षले मान्छ कि मान्दैन त? नेपाली नेताले दाबी गरेजस्तो यसलाई अमेरिकाले स्वीकार गरेजस्तो लाग्दैन। निकट छिमेकी मुलुक भएकाले एमसीसी सम्झौताको कार्यान्वयनबाट नेपालको राष्ट्रिय हितमा आँच नआओस् भन्ने चीनको चाहना छ। 

बीआरआईअन्तर्गतका योजना अनुदानमा मात्र बन्दैन : चाङ् सुविन, हवेई युनिभर्सिटीस्थित नेपाल स्टडी सेन्टरका निर्देशक 
मलाई लाग्छ, नेपालको पछिल्लो माहौल बुझ्न र मैत्रीपूर्ण सम्बन्ध र सहकार्यलाई बढावा दिन चिनियाँ विदेशमन्त्रीको भ्रमण हुन लागेको हो। 

नेपालका नेताले दाबी गरेझैं नेपालले अमेरिकासँग गरेको एमसीसी कम्प्याक्ट एक आर्थिक सहायता कार्यक्रम मात्रै हो भने त्यो नेपाललाई दिएको उपहार मात्रै भयो। त्यसभन्दा अरु त्यसमा सोच्नुपर्ने केही छ भन्ने मलाई लाग्दैन। किनकि नेपालले सबै मुलुकबाट वैदेशिक सहायता लिएर लाभ लिनसक्छ, तर आफ्नो स्वार्थमा हानि नहुनेगरी। 

संक्षिप्तमा भन्नुपर्दा, सबै मुलुकले नेपालमा आफ्नो सहकार्य र सम्बन्ध बढाउने परिस्थिति निर्माण हुनुपर्छ। नेपाल विश्व शक्तिराष्ट्रबीच प्रतिस्पर्धाका लागि क्रिडास्थल नबनोस् भन्ने हामी चाहन्छौँ। 

नेपालका धेरै साथीलाई बीआरआई अन्तर्गत पुरै अनुदानमा परियोजना बन्ने हुन् कि भन्ने लागेको हुनसक्छ। उनीहरुले बीआरआई अन्तर्गत चीनले सबै परियोजना अनुदान सहयोगमा बनाइदिन्छ भन्ने अपेक्षा रहेको हुनसक्छ। मैले विभिन्न सेमिनार तथा गोष्ठीमा भन्दै आएको छु– बीआरआईका परियोजनामा चीनले पुरै अनुदान दिने होइन। 

बीआरआई फ्रेमवर्कभित्र रहेर अर्को देश र चीनबीच आर्थिक सहकार्य हुने हो। दुवै देशले मिलिजुली परियोजना निर्माण गर्ने हो। नेपालको हकमा पनि हुने त्यही हो। बीआरआईमा नेपाल आबद्ध भइसकेको छ। तर त्यसअन्तर्गत परियोजना अघि बढ्न सकेका छैनन्। बीआरआई अन्तर्गतका परियोजना कार्यान्वयनबाट नेपाललाई दीर्घकालीन लाभ हुन्छ भन्ने लाग्छ भने नेपाल सरकारले त्यसलाई अघि बढाउन सहजीकरण गर्नु आवश्यक छ। 

एमसीसी अनुमोदनपछिको रणनीतिक माहौल बुझ्न भ्रमण हुँदैछ : प्रा. लिन मिनवाङ, फुदान युनिभर्सिटीस्थित दक्षिण एसियाली अध्ययन केन्द्रका उपनिर्देशक 
चिनियाँ विदेशमन्त्री वाङको भ्रमण नेपालले एमसीसी सम्झौता अनुमोदन गरेपछिको रणनीतिक माहौल बुझ्नकै लागि हुन लागेको हो। नेपालमा एमसीसी सम्झौता पास हुँदा चीन नै आश्चर्यमा परेको थियो। एमसीसी सम्झौता नेपालले अघि बढायो। 

दुई वर्षपछि चिनियाँ विदेशमन्त्रीको नेपाल भ्रमण हुँदैछ। यो भ्रमणमा चीन र नेपालबीचको द्विपक्षीय सहकार्यका सबै क्षेत्रबारे छलफल गर्न फलदायी हुने अपेक्षा गर्न सकिन्छ। विगतमा दुई देशबीच भएका सहमतिअनुसार बीआरआई फ्रेमवर्कभित्र रहेर परियोजना अघि बढाउन भ्रमणमा छलफल हुनसक्छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .