राजनीति


सबै स्थानीय तहमा सत्ता गठबन्धन तयारी, भागवण्डा र विधि तय गर्न संयन्त्र बनाइँदै

सबै स्थानीय तहमा सत्ता गठबन्धन तयारी, भागवण्डा र विधि तय गर्न संयन्त्र बनाइँदै

फाइल तस्बिर


सागर न्यौपाने
चैत ८, २०७८ मंगलबार २१:३७, काठमाडौँ

नेपाली कांग्रेससहितको सत्तारुढ गठबन्धनले ७ सय ५३ वटै स्थानीय तहसम्म चुनावी तालमेल गर्ने तयारी गरेको छ। त्यसका लागि गठबन्धनले भागवण्डा विधि टुंगो लगाउन संयन्त्र बनाउने भएको छ।  

गठबन्धनले महानगरपालिका र उपमहानगरपालिकाका साझा उम्मेदवारको निर्णय केन्द्रबाटै गर्ने तयारी गरेको छ। नगरपालिका र गाउँपालिकाका हकमा प्रदेश र जिल्ला समितिलाई अधिकार दिएर चुनावी तालमेलको निर्णय गराउने तयारी भइरहेको कांग्रेसका एकजना प्रभावशाली नेताले बताए। 

ती नेताका अनुसार गठबन्धनमा रहेका माओवादी केन्द्र, एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चालाई एमालेलगायत अन्य दलसँग तालमेल गर्न नदिने रणनीति अनुसार ७ सय ५३ वटै स्थानीय तहमा तालमेल गर्ने निष्कर्षमा कांग्रेस पुगेको हो। 

यसबारेको औपचारिक निर्णय चैत ११ गते बस्ने केन्द्रीय समिति बैठकबाट गर्ने कांग्रेसको तयारी छ।

माओवादी, जसपासँगै एमालेले पनि स्थानीय स्तरमा गठबन्धनका लागि खुला रहने निर्णय गरेपछि कांग्रेसले अहिलेको गठबन्धन जोगाएर जाने योजना बनाएको हो।

प्रधानमन्त्री समेत रहेका कांग्रेस सभापति शेरबहादुर देउवाले तीनै तहको चुनावमा गठबन्धन बनाएर जाने जनाउसहित तयार रहन नेताहरुलाई निर्देशन दिइसकेका छन्।

‘अहिलेको सत्तागठबन्धन जोगाइएन भने वामपन्थी गठबन्धन बन्छ,’ देउवाको भनाई उद्धृत गर्दै ती नेताले नेपालखबरसँग भने, ‘यदि वामहरु मिले भने हामीलाई गाह्रो पर्छ। वामलाई मिल्न नदिन पनि यो गठबन्धन तीनवटै चुनावसम्म कायम रहन्छ, त्यसै अनुसार तयारी गर्नू।’

वैशाख ३० गतेका लागि तय भएको स्थानीय तह निर्वाचनका लागि गठबन्धनको मुख्य दल कांग्रेस चुनावी तालमेलका लागि समयमै तयार नहुँदा अन्य दलहरूले एक्लै निर्णय गर्न थालेका थिए। 

जसपाले चुनाव जित्ने सर्तमा जनमत पार्टी र राप्रपाबाहेकसँग चुनावी तालमेल गर्न सक्ने निर्णय गर्दै तल्लो कमिटीमा सर्कुलर पठाएको छ।

माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीले पनि जुनसुकै दलसँग गठबन्धन गर्न सकिने निर्देशन तल्लो तहमा पठाइसकेको छ।

माओवादी केन्द्रले त चुनावी गठबन्धन बनाउन प्रदेश, जिल्ला र पालिकास्तरीय कमिटी बनाइसकेको छ। प्रत्येक कमिटीमा ३ जना सदस्य रहनेछन्। त्यसले केन्द्रसँग परामर्श गरेर गठबन्धनको निर्णय लिने अधिकार पाएको छ। 

वाम गठबन्धन वा कांग्रेस बाहेकका दलहरूको गठबन्धन बन्ने सम्भावना बड्दै गएको विश्लेषण गरेर कांग्रेसले सबै तहमा गठबन्धन बनाएर जाने रणनीति बनाएको हो। 

‘चैत ११ गते बस्ने हाम्रो पार्टीको केन्द्रीय समिति बैठकले तल्लो तहसम्मै गठबन्धन गरेर जाने निर्णय गर्छ,’ कांग्रेसका एक पदाधिकारीले नेपालखबरसँग भने, ‘गठबन्धनबाहेकका दलसँग तालमेल गर्न नपाउने सर्त भने राख्छौँ।’ 

गठबन्धनको एउटा प्रमुख दल माओवादी केन्द्र एमालेसँग कुनै पनि बेला मिल्नसक्ने डर कांग्रेसलाई छ। 

‘सर्त नराखी तालमेल गर्दा विगतमा जस्तै एमालेसँग गठबन्धन गरिदिन्छन्,’ ती नेताले थपे, ‘यसपटक गठबन्धनको निर्णय कांग्रेसले सोच विचार गरेर गर्छ। हचुवामा गर्दैन।’ 

स्रोतहरूका अनुसार स्थानीय तहमा तालमेल विधिबारे खाका निर्माण गर्न संयन्त्र बनाउने तयारी शीर्ष नेताहरूले गरेका छन्। 

गठबन्धनमा रहेका सबै दलबाट दुई दुईजना राखेर संयन्त्र बनाउने तयारी भइरहेको कांग्रेसका एक नेताले बताए।  

मंगलबार प्रधानमन्त्री देउवा, माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एकीकृत समाजवादी अध्यक्ष माधवकुमार नेपालबीच स्थानीय तह निर्वाचनका लागि संयन्त्र बनाउनेबारे छलफल भएको थियो। एक दुई दिनभित्र संयन्त्र बनाएर अघि बढ्ने तयारी छ।

संयन्त्रले सबै स्थानीय तहमा गरिने तालमेल र भागवण्डाबारे खाका बनाउनेछ। त्यो खाका गठबन्धनमा रहेका शीर्ष नेता समक्ष राखिनेछ। 

तालमेल गर्दा पार्टीको बलियो पक्ष, कमजोर पक्ष, जनाधार समेत अध्ययन हुनेछ। 

नेताहरुका अनुसार अहिलेसम्म एमालेले जितेका स्थान जति भागवण्डा गरेर जाने प्रस्ताव छ। राष्ट्रिय सभा निर्वाचनमा त्यही विधि अनुसार भागवण्डा गरिएको थियो। 

२०७४ मा काठमाडौं र पोखरा गरी दुई महानगरपालिका, ७ उपमहानगरपालिकासहित १२३ नगरपालिका र १७१ गाउँपालिका अध्यक्ष एमालेले जितेको थियो। 

यस्तै एक महानगरपालिका र ७ उपमहानगरपालिका सहित १३७ नगरपालिकाको उपप्रमुख र १९४ गाउँपालिकाको उपाध्यक्षमा जितेको थियो। 

२५६० वडामा वडाध्यक्ष जितेको एमालेले २७७६ महिला सदस्य, २६८० दलित महिला सदस्य र ५४५८ खुला वडा सदस्यसहित १४ हजार ९८ जनप्रतिनिधि निर्वाचित गरेको थियो। 

मेयर उपमेयर, अध्यक्ष, उपाध्यक्ष र वडाअध्यक्षसम्म मिलाएर भागवण्डा गराउने तयारी छ। 
तर, एमालेबाट विभाजन भएर बनेको एकीकृत समाजवादी पार्टीलाई कुन विधि अनुसार स्थानीय तहको नेतृत्व दिने भन्ने सकस परेको अर्का एक नेताले बताए।

‘माधव नेपालजीको समाजवादी पार्टी पहिलो पटक चुनावमा भाग लिँदैछ,’ ती नेताले भने, उहाँहरुको बलियो पक्ष र जनाधार कसरी मापन गर्ने भन्ने छ, जुन बनाउँदा सम्मानजनक हुन्छ त्यही गर्छौँ।’

गठबन्धनका दलहरुले देशभरबाट आफ्नो पक्षको माहौलबारे रिपोर्ट संकलन गरिसकेका छन्। कांग्रेसले यो अवधिमा एक महिने अभियान चलाइरहेको छ।

माओवादी केन्द्रले तीन वटा गैरभूगोलसहित दशवटै प्रदेशमा भेला र प्रशिक्षण राखेको छ। एकीकृत समाजवादीले पनि देशभर पार्टीको अवस्था बुझिरहेको छ। 

समाजवादी पार्टीका महासचिव बेदुराम भुसालले देशभरको अवस्थाको रिपोर्टिङ लिने काम भइरहेको बताए।

‘अहिले हामी देशभरको अवस्थाको रिपोर्टिङ लिइरहेका छौँ,’ भुसालले भने, ‘कुनै ठाउँमा दोहोर्याएर पनि वस्तुस्थिति बुझ्ने काम भइरहेको छ।’

गठबन्धन गरेर चुनावमा जाने सहमति भइसके पनि कुन विधिमा गर्ने टुंगो नलागेको उनले बताए।

अर्घाखाँची, कास्की र धनकुटामा जिल्ला तहबाटै कांग्रेससहितको गठबन्धन बनेको घोषणा भइसकेको छ।

यही मोडललाई आधार बनाएर चुनावी तालमेलबारे निर्णय हुने नेताहरु बताउँछन्। 

६ महानगरपालिका र ११ उपमहानगरपालिकामा चुनावी तालमेल गर्ने कुरा निश्चित भएपनि नगरपालिका र पालिकाहरुको टुंगो नलागेको अर्का एक नेताले बताए। 

६ महानगरमध्ये गठबन्धनका माओवादी केन्द्रले चितवनको भरतपुर र जसपाले पर्साको वीरगञ्ज जितेको थियो। कांग्रेसले ललितपुर र विराटनगर जितेको थियो।

११ उपमहानगरमध्ये एमालेले ७ वटा जितेको थियो। बाँकी चारमध्ये राप्रपाले नेपालगञ्ज उपमहानगरपालिका, जसपाले जनकपुर उपमहानगरपालिका र बाँकी दुई कलैया उपमहानगरपालिका र धनगढी उपमहानगरपालिका कांग्रेसले जितेको थियो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad