ad ad

राजनीति


वाङ यीः २० वर्षअघि नै नेपाललाई गुन लगाए, तीन वर्षमा तीनै पटक यता आए

वाङ यीः २० वर्षअघि नै नेपाललाई गुन लगाए, तीन वर्षमा तीनै पटक यता आए

सीताराम बराल
चैत ११, २०७८ शुक्रबार ८:४०, काठमाडौँ

भारत (१९९२–१९९७) र अमेरिका (१९९७–१९९९) का लागि राजदूत रहिसकेका रियाज खोकर पाकिस्तानको विदेशसचिव (२००२–२००७) बन्नुअघि चीनका लागि पाकिस्तानी राजदूत (१९९९–२००२) थिए। 

बेइजिङमै रहेका बेला एकदिन खोकरले चीनका लागि तत्कालीन नेपाली राजदूत प्राध्यापक राजेश्वर आचार्यसँग भेट्न समय मागे। हतार–हतार मागिएको भेटघाटको समय तय भएपछि राजदूतद्वय आचार्य र खोकरबीच कुराकानी भयो। 

‘तिमी त्यहाँ (बेइजिङमा) के गरेर बसेका छौ भनेर हाम्रो सरकार मसँग खुब रिसाएको छ,’ आचार्यसँगको कुराकानीमा खोकरले आफूलाई परेको अप्ठेरो सुनाए, ‘चीनले आफ्ना मुलुकका पर्यटक घुम्न जाने सूचीमा दक्षिण एसियाबाट नेपाललाई राखेछ। यो प्रयास हामीले धेरै पहिलेदेखि गरेका थियौँ। तर, अवसर नेपालले उछिट्याएछ।’

त्यसअघि बेइजिङस्थित नेपाली राजदूतावासले एक रात्रिभोज आयोजना गरेको थियो, जहाँ चिनियाँ विदेश मन्त्रालयको दक्षिण एसिया मामिला हेर्ने विभागका उच्च अधिकारीहरु निम्त्याइएका थिए।   

रात्रिभोजमा उपस्थित एक उच्च चिनियाँ अधिकारीले राजदूत आचार्यलाई चिनियाँ पर्यटकहरु घुम्न जाने सूचीमा दक्षिण एसियाबाट पहिलो पटक नेपाललाई समावेश गरिएको जानकारी दिएका थिए। राजदूतको कार्यभार सम्हाल्न २०५५ कात्तिकमा बेइजिङ पुगेपछि नै आचार्यले यसका लागि प्रयास जारी राखेका थिए। 

चीनले आफ्ना पर्यटकहरुलाई घुम्न जाने मुलुकको सूचीमा दक्षिण एसियाबाट नेपालको नाम समावेश गरेको समाचार सार्वजनिक भएलगत्तै पाकिस्तानलाई कसरी सूचीमा पार्न सफलता पाइएला भन्ने विषयमा जानकारी लिन पाकिस्तानी राजदूत खोकरले नेपाली राजदूत आचार्यसँग कुराकानी गर्न चाहेका रहेछन्।  

नेपाली राजदूतावासले आयोजना गरेको सो रात्रिभोजमा चिनियाँ पर्यटकहरु भ्रमणका लागि घुम्न जाने सूचीमा परेको पहिलो जानकारी दिने व्यक्ति वाङ यी नामका चिनियाँ अधिकारी थिए। 

उतिबेला चिनियाँ उपविदेशमन्त्री रहेका वाङको सद्भावकै कारण चिनियाँ पर्यटकको गन्तव्य मुलुकको सूचीमा दक्षिण एसियाबाट पहिलोपटक नेपाल पर्न सफल भएको थियो। 

‘यसबाहेक हामीले प्रस्तुत गरेका एजेन्डाहरुमा उहाँ सदैव सकारात्मक रहनुभयो,’ चीनका लागि पूर्व नेपाली राजदूत प्रा. आचार्यले सम्झे, ‘उहाँले सदैव नेपालको हित, चासो र अप्ठेरो बुझेर हामीलाई सहयोग गर्नुभयो। हामीले उठाएका विषयमा कहिल्यै ‘नो’ भन्नुभएन।’

तिनै वाङ यतिबेला चिनियाँ विदेशमन्त्री छन्। र, तीन दिने भ्रमणको सिलसिलामा शुक्रबार (११ चैत्र) काठमाडौँ आइपुग्दैछन्।​

प्राथमिकतामा नेपाल
उपमन्त्री हुँदा नेपालमा चिनियाँ पर्यटकहरुको आकर्षण बढाउन उतिबेला त्यति महत्वपूर्ण भूमिका निर्वाह गरेका वाङ यतिबेला प्रधानमन्त्री ली खछ्याङको नेतृत्वमा रहेको राज्य परिषद् (स्टेट काउन्सिल) को सदस्य तथा २०१३ देखि विदेशमन्त्री छन्। 

कोभिड–१९ को महामारी सुरुभएयता चिनियाँ राष्ट्रपति सी चिनफिङ देशबाहिर निस्केका छैनन्। त्यसैले, त्यसयता महत्वपूर्ण अन्तर्राष्ट्रिय फोरमहरुमा चीनको प्रतिनिधित्व अक्सर विदेशमन्त्री वाङले नै गर्ने गरेका छन्।   

यसैक्रममा दक्षिण एसियाली मुलुकहरु पाकिस्तान (८–१० चैत), अफगानिस्तान र भारत (१०–११ चैत) हुँदै विदेशमन्त्री वाङ नेपाल भ्रमणमा निस्केका हुन्। 

वाङको नेपाल सम्बन्धका सन्दर्भमा उल्लेख्य कुरा चाहिँ के हो भने विदेशमन्त्रीका हैसियतमा नेपालमा हुन लागेको यो पाँचौँ भ्रमण हो। २०७६ यताको तीन वर्षको अवधिमा वाङले तेस्रो पटक नै नेपाल भ्रमण गर्दैछन्। 

विदेशमन्त्री वाङ चिनियाँ राष्ट्रपति सीको १२–१३ असोज (२०७६) भएको नेपाल भ्रमणका क्रममा भ्रमणदलको सदस्यका रुपमा नेपाल आएका थिए।

सीको नेपाल भ्रमण सुरु हुनुभन्दा तीन हप्ताअघि पनि उनी तीन दिने भ्रमण (२२–२४ भदौ २०७६) मा नेपाल आएका थिए। वाङको त्यो भ्रमण चिनियाँ राष्ट्रपति सीको भ्रमणको तयारीका लागि भएको थियो।

दोस्रो भ्रमण १२ वैशाख (२०७२) को भूकम्पपछि पुनर्निर्माणका लागि अन्तर्राष्ट्रिय सहयोग जुटाउन १० असार २०७२ (२५ जुन २०१५) मा नेपालले आयोजना गरेको ‘नेपालको पुनर्निर्माणका लागि अन्तर्राष्ट्रिय सम्मेलन’ (आईसीएनआर) का क्रममा भएको थियो। सो सम्मेलनमा वाङले भूकम्पबाट तहसनहस बनेको नेपालको पुनर्निर्माणका लागि चीनको तर्फबाट ३.५ अर्ब चिनियाँ युआन दिने प्रतिबद्धता व्यक्त गरेका थिए। 

त्यसअघि विदेशमन्त्री भएपछि​ वाङले गरेको पहिलो नेपाल भ्रमण विशेष चर्चित रह्यो। १० पुस (२०७१) मा नेपाल भ्रमणमा आएका उनी दोस्रो संविधान सभा निर्वाचनपछि नेपाल आउने सबैभन्दा उच्च चिनियाँ अधिकारी थिए।

खासमा विदेशमन्त्रीका रुपमा वाङको त्यो पहिलो नेपाल भ्रमण (पुस २०७१) चिनियाँ राष्ट्रपति सीको सम्भावित नेपाल भ्रमणको तयारीका लागि भएको थियो। नेपाली उच्च पदस्थहरुसँग गरेको कुराकानीको प्रकृतिबाट पनि विदेशमन्त्री वाङको पहिलो भ्रमण राष्ट्रपति सीकै भ्रमणको तयारीको अंग थियो भन्ने अनुमान गर्न सकिन्छ। 

जस्तो, तत्कालीन परराष्ट्रमन्त्री महेन्द्रबहादुर पाण्डेसँगको कुराकानीमा उनले नेपाल–चीन सम्बन्धलाई व्यावहारिक रुप प्रदान गर्न नौ मुख्य ‘क्षेत्र’ र तीन मुख्य ‘पक्ष’ प्रस्तुत गर्दै ‘नौ क्षेत्र’ र ‘तीन पक्ष’ को व्याख्या समेत प्रस्तुत गरेका थिए।  

नेपाल–चीन सम्बन्धलाई अझ उचाइ प्रदान गर्न उनले प्रस्तुत गरेका ती नौ पक्ष थिए– व्यापार, कृषि, लगानी, पूर्वाधार, विज्ञान र प्रविधि, कनेक्टिभिटी, पयर्टन, जनताबीचको सांस्कृतिक सम्बन्ध, सुरक्षा र कानुनको कार्यान्वयन।  

उपरोक्त नौ ‘क्षेत्र’ मा सहकार्य अन्तर्गत चीनले नेपाललाई सहयोग गर्न सक्ने तीन पक्ष पनि उनले प्रस्तुत गरेका थिए। ती तीन पक्ष थिए, आर्थिक सहयोग, क्षमता अभिवृद्धिका लागि आवश्यक तालिम र स्थानीय तहमा दिइने सहयोग।

‘तीन पक्ष’ मध्ये कनेक्टिभिटीका लागि पूर्वाधार विकास गर्न अनुदान र ऋण सहयोग, क्षमता अभिवृद्धिका लागि अर्काे वर्ष ५ सय नेपालीलाई विभिन्न खालको तालिम र स्थानीय सहयोग अन्तर्गत चीनको स्वशासित क्षेत्र तिब्बतसँग जोडिएका नेपाली क्षेत्रमा विविध प्रकारको सहयोग गर्न सकिने बचन उनले नेपाललाई दिएका थिए।

खासमा चिनियाँ राष्ट्रपति सीले विदेश मामिलामा अत्यन्त विश्वास गरेका दुई शीर्ष चिनियाँ अधिकारी छन्। त्यसमध्ये एक हुन्, केन्द्रीय विदेश मामिला आयोगका निर्देशक याङ चिची। जसले चीनको समग्र विदेश मामिलाको नेतृत्व गर्दै आएका छन्। अर्का शीर्ष अधिकारीचाहिँ विदेशमन्त्री वाङ नै हुन्। 

‘विदेशमन्त्री वाङ नेपाललाई नजिकबाट र राम्रोसँग बुझेका शीर्ष चिनियाँ नेता हुनुहुन्छ’, चीन मामिलाका जानकार एवं परराष्ट्र मामिला अध्ययन प्रतिष्ठानका पूर्व उपकार्यकारी निर्देशक डा. रुपक सापकोटा भन्छन्, ‘कोभिड महामारीका कारण अन्तर्राष्ट्रिय मञ्चमा उहाँहरु दुई जनाले नै चीनको प्रतिनिधित्व गर्दै आउनुभएकाले विदेशमन्त्री वाङको यसपटकको भ्रमणको विशेष महत्व देखिन्छ।’

सी राष्ट्रपति निर्वाचित भएलगत्तै ९ वर्षअघि परराष्ट्रमन्त्रीको जिम्मेवारी पाएका वाङ अहिलेसम्म यो जिम्मेवारीमा रहेबाट पनि उनले राष्ट्रपतिको कति धेरै विश्वास प्राप्त गरेका रहेछन् भन्ने बुझ्न सकिन्छ।

समाधान दिने नेता 
खासमा विदेशमन्त्री वाङ चीनमा एसियाली मामिलाका जानकार मानिन्छन्। लामो समय एसिया मामिला हेर्दै आएका कारण चीनको सीमा जोडिएको मुलुक र महादेशभित्रै पर्ने नेपालबारे जानकारी हुने भइहाल्यो।  

उनी १९७८–८२ मा एसियाली–अफ्रिकी भाषासम्बन्धी विभागमा कार्यरत थिए। त्यो विभागले चिनियाँ कूटनीतिक कर्मचारीहरुलाई यी दुई महादेशमा बोलिने महत्वपूर्ण भाषासम्बन्धी कक्षाको संयोजन गर्ने गर्थ्यो। नेपाल आउने चिनियाँ कूटनीतिक अधिकारीहरुलाई नेपाली भाषा सिकाउने जिम्मेवारी यही विभागको थियो। 

१९८२ देखि १९८९ सम्म उनी विदेश मन्त्रालय अन्तर्गतको एसियाली मामिला विभागको उपमहानिर्देशक भए। यो जिम्मेवारीमा रहँदा पनि दक्षिण एसिया मामिला उनले नै हेर्थे।

विदेश मामिला अन्तर्गतका जिम्मेवारी सफलतापूर्वक निर्वाह गर्दै गएपछि वाङ सन् २००१ मा उपविदेशमन्त्रीमा बढुवा भए। उपविदेशमन्त्रीको जिम्मेवारी अघि उनी विदेश सहायकमन्त्री थिए। सन् २००४ देखि २००७ सम्म तीन वर्ष उनले जापानका लागि चिनियाँ राजदूतको जिम्मेवारी पनि सम्हाले।   

वाङ उपमन्त्री रहेका बेला जर्मनीका लागि पूर्व नेपाली राजदूत सुरेश प्रधान (२०६७–२०७१) बेइजिङस्थित नेपाली राजदूतावासमा उपनियोग प्रमुख थिए। एसियाली विभाग अन्तर्गत दक्षिण एसिया मामिला वाङले नै हेर्ने भएकाले प्रधान र वाङबीच भेटघाट–कुराकानी भइरहन्थ्यो। 

प्रधानका भनाइमा वाङलाई नेपालबारे प्रशस्त जानकारी थियो। त्यसअघि पटक–पटक नेपाल आइसकेको जानकारी पनि वाङले गरेको नगरकोटको वर्णनबाटै प्रधानले पाइसकेका थिए। त्यहाँबाट देखिने हिमश्रृङ्खला आफूलाई निकै रमणीय लागेको र नेपाल जाँदा प्रत्येक पटक नगरकोट जाने गरेको वाङले प्रधानलाई सुनाएका थिए। 

प्रधानका भनाइमा उनी बेइजिङमा रहँदा वाङसँग हुने वार्तामा वर्तमान चिनियाँ राजदूत होउ यान्छीपनि सँगै रहने गर्थिन्। 

प्रधानले भने, ‘राजदूत यान्छी उर्दु भाषाकी ज्ञाता हुन्। यो भाषा पढ्न विदेशमन्त्री वाङले नै लगाएका हुन्। त्यसैले, कूटनीतिक मामिलामा राजदूत यान्छीलाई विदेशमन्त्री वाङकी विद्यार्थी भन्दा हुन्छ।’

संयोग नै मान्नुपर्छ कि वाङ विदेशमन्त्री रहेका बेला यान्छीले नेपालस्थित चिनियाँ राजदूतको जिम्मेवारी पाइन्। यान्छीकै कार्यकालमा राष्ट्रपति सीको नेपाल भ्रमण सम्भव भयो, जुन चिनियाँ राष्ट्रपतिको तहबाट साढे दुई दशकपछि भएको पहिलो भ्रमण थियो। 

भ्रमण तयारीका लागि विदेशमन्त्री वाङ दुई पटक आफैँ नेपाल आए। तर दोस्रो (२०७६ भदौ) भ्रमणपछि मात्र राष्ट्रपति सीको भ्रमण सम्भव भयो। 

चीनमा उपनियोग प्रमुखको समेत जिम्मेवारी सम्हालेका पूर्वराजदूत प्रधानको उपरोक्त भनाइबाटै बुझ्न सकिन्छ, नेपाली दूतावासको जिम्मेवारी सम्हाल्न उनी बेइजिङ पुग्नुअघि नै वाङ पटक–पटक नेपाल आइसकेका थिए। 

राजा ज्ञानेन्द्रले १९ माघ (०६१) सत्ता हातमा लिएको केही समयपछि एउटा उच्चस्तरीय चिनियाँ प्रतिनिधि मण्डल नेपाल आएको थियो, वाङ पनि त्यो प्रतिनिधिमण्डलको सदस्य थिए। 

आचार्यले भने, ‘त्यो बेला म बेइजिङबाट फिर्ता भइसके पनि उहाँ काठमाडौँ आएकाले भेट भएको थियो।’ 

चीनका कारण नेपाल भूराजनीतिक उल्झनमा नपरोस् भनेर वाङले उतिबेला देखाएको सद्भाव–सतर्कताप्रति पूर्वराजदूत आचार्य अहिले पनि कृतज्ञ देखिन्छन्। 

‘भूपरिवेष्टित मुलुक भएकाले नेपालले चीनसँग पनि व्यापार तथा पारवहन सन्धि गर्नुपर्छ भनेर मैले प्रयास अघि बढाएको थिएँ,’ आचार्यले सम्झे, ‘सुरुमा उहाँले नेपाल यस विषयमा अडिरहन सक्छ भन्ने जिज्ञासा राख्नुभयो। पछि मैले यससम्बन्धी प्रक्रिया अघि बढाएपछि उहाँले अनावश्यक हल्लाखल्ला नहोस् भनेर ‘व्यापार तथा यातायातसम्बधी सम्झौता’ भन्ने नाम प्रस्तावित गर्नुभयो।’

चीनसँग ‘व्यापार तथा पारवहन सन्धि’ को प्रस्ताव गर्दा भारत सतर्क होला भन्ने कुरा उतिबेला आफूले ख्यालै नगरेको आचार्य बताउँछन्। तर, त्यसले नेपाललाई पार्नसक्ने अप्ठेरोको अनुमान वाङलाई रहेछ। त्यसैले, सन्धिको नाम संशोधन गरी ‘व्यापार तथा यातायात सम्झौता’ राख्ने प्रस्ताव गरे, ताकि चीनसँग पारवहन सम्झौताको कुराले भारत अनावश्यक रुपमा सशंकित नहोस्।

आचार्यले प्रस्तावित सम्झौताको मस्यौदा काठमाडौँ पठाए। तर, त्यससम्बन्धी प्रक्रिया यताबाट अघि बढेन। त्यसैबाट बुझ्न सकिन्छ, भूराजनीतिक जटिलता कति धेरै रहेछ! 

अमेरिकी विकास परियोजना ‘एमसीसी’ अनुमोदन भएको विषयले पक्कै पनि चीन सशंकित होला। तर, विदेशमन्त्री वाङको भ्रमणपछि नेपाल थप अप्ठेरोमा पक्कै पर्ने छैन। किनकि वाङ नेपालको भूराजनीतिक जटिलताबारे जानकार छन्। नेपाल थप अप्ठेरोमा नपरोस् भन्नेमा धेरै पहिलेदेखि संवेदनशील पनि छन्। 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .