राजनीति


कांग्रेसले निर्वाचन घोषणा पत्रमा पहिलो पटक ल्याउँदैछ नगर्ने कामको यस्तो सूची

कांग्रेसले निर्वाचन घोषणा पत्रमा पहिलो पटक ल्याउँदैछ नगर्ने कामको यस्तो सूची

केशव सावद
बैशाख १, २०७९ बिहिबार १९:४२, काठमाडौँ

स्थानीय तह निर्वाचनमा मतदाता आकर्षित गर्न राजनीतिक दलहरु घोषणा पत्र तयारीमा लागेका छन्। २०७४ मा घोषणा पत्रमा उल्लेख गरिएका अधिकांश प्रतिबद्धता पुरा गर्न नसके पनि दलहरु फेरि त्यस्तै ‘लोभलाग्दा’ बाचासहितका घोषणा पत्र तयार गर्दैछन्।

२०७४ को स्थानीय तह निर्वाचनमा उनीहरुले मतदाता तान्न घोषणा पत्रमार्फत् अनेक महत्वकांक्षी योजना अघि सारेका थिए। तर, कुनै पनि दलले आफूले जितेका स्थानीय तहहरुमा जनतासामु गरिएका प्रतिवद्धताहरु पूर्णतया पुरा गरेका छैनन्।

दलहरुले मतदाता तान्न निर्वाचन घोषणा पत्रमा असम्भव कामहरुलाई समेत लेख्ने गरेका छन्।

तर, सत्ताको नेतृत्व गरिरहेको नेपाली कांग्रेसले यसपटक घोषणा पत्र लेखनमा अलिकति अलग प्रयास गर्ने भएको छ। कांग्रेसले यसपटक नगर्ने कामहरुको सूची घोषणा पत्रमा लेख्ने भएको हो।

महामन्त्री गगन थापाको संयोजकत्वमा गठित ‘स्थानीय तह निर्वाचन—२०७९, घोषणा पत्र तयारी समिति’ ले पार्टीले जितेका पालिकामा नगर्ने काम समेट्ने तयारी गरिरहेको छ। 

‘घोषणा पत्रमा निर्वाचित भएपछि के–के गर्छौँ भनेर त सबैले भन्छन्,’ केन्द्रीय सदस्य तथा घोषणा पत्र तयारी समितिका सदस्य अजयबाबु शिवाकोटीले नेपालखबरसँग भने, ‘तर, हामीले निर्वाचित भएर आएपछि के गर्दैनौँ भन्ने कुराहरु यो पटक लेख्दैछौँ।’

स्थानीय तह निर्वाचनमा कांग्रेसले जितेका पालिकाहरुमा स्वागतद्वार, भ्युटावर निर्माण नगरिने, आफन्त र नातेदारलाई विजयी जनप्रतिनिधिले सचिवालयमा नराख्ने प्रतिवद्धता घोषणा पत्रमै गरिने उनको भनाइ छ।  

‘के गर्दैनौँ भन्ने सन्दर्भको कुरा गर्नुपर्दा यो पटक हामी निर्वाचित भएका स्थानहरुमा स्वागतद्वार बनाउँदैनौँ। हामी निर्वाचित भएर गएको ठाउँमा भ्युटावर बनाउँदैनौँ,’ शिवाकोटीले भने, ‘आफन्त, नातागोतालाई सल्लाहकार वा सचिवालयमा राख्दैनौँ। यस्ता खालका केही हामी गर्दैनौँ भन्ने विषयलाई घोषणा पत्रमा समेट्छौँँ।’  

घोषणा पत्र तयारी समितिका अर्का सदस्य किरण गिरीले पनि नवीन ढंगबाट घोषणा पत्रको तयारी भइरहेको बताए। उनले कांग्रेसले चुनाव लक्षित घोषणा पत्रलाई ‘प्रतिज्ञापत्र’ नाम दिएर ल्याइने पनि जानकारी दिए। 

‘नवीन ढंगले घोषणा पत्र ल्याउँदैछौँ। यसलाई हामी प्रतिज्ञापत्र भनेर ल्याउँछौँ,’ गिरीले नेपालखबरसँग भने, ‘प्रतिज्ञापत्रले प्रवेशद्वार, भ्युटावर निर्माणलाई प्रोत्साहन गर्ने छैन।’

जनजीविका र विकाससँग सरोकार राख्ने एजेन्डाहरु घोषणा पत्रमा समेटिने क्रममा रहेको उनको भनाइ छ।

समिति सदस्य गेजा शर्मा वाग्लेले पार्टीको घोषणा पत्रमा अनुत्पादक क्षेत्रमा लगानी नगर्ने कुरा उल्लेख गरिने जानकारी दिए। 

‘स्थानीय तहले धेरै खर्च अनुत्पादक क्षेत्रमा गरेको देखियो,’ उनले भने, ‘नेपाली कांग्रेसले अनुत्पादक क्षेत्रमा लगानी नगर्ने भनेर आउँछ।’ 

समितिले वैशाख ४ गतेभित्र मस्यौदा तयार गरेर लोकतन्त्र दिवसको अवसरमा वैशाख ११ गते सार्वजनिक गर्नेगरी घोषणा पत्र तयारीको काम गरिरहेको छ। घोषणा पत्रका लागि देशभरका नेता–कार्यकर्ता र सर्वसाधारणबाट सुझाव संकलन भइरहेको समितिले जनाएको छ। 

‘महाधिवेशन प्रतिनिधि, पालिकाका सबै सभापतिहरु, निर्वाचित पालिकाका प्रमुख–उपप्रमुख, अध्यक्ष–उपाध्यक्षहरुबाट सुझाव लिने काम भइरहेको छ,’ शिवाकोटीले भने, ‘सर्वसाधारणबाट पनि नेपाली कांग्रेसको घोषणा पत्रमा के–के विषय समेटियोस् भन्ने चाहनुहुन्छ भनेर पनि सुझाव लिइरहेका छौँ।’ 

घोषणा पत्र तयारीका लागि तयारी समितिले विषयविज्ञहरुसँग निरन्तर छलफल गरिरहेको र छलफलमार्फत् सुझावहरु आइरहेको उनले बताए। 

हरेक वर्ष जनप्रतिनिधिको मूल्यांकन
कांग्रेसले स्थानीय तह निर्वाचनका लागि तयार पारिएको घोषणा पत्रमार्फत् अर्को निर्वाचन नआउँदासम्म हरेक वर्ष पार्टी र जनप्रतिनिधिहरुको मूल्यांकन पनि गर्ने भएको छ।  

‘घोषणा पत्रको रुपमा मात्रै पेस गर्ने, चुनाव सकिएपछि खोजीनिति नगर्ने परिपाटी थियो,’ समिति सदस्य शिवाकोटीले भने, ‘यसपालिबाट निर्वाचित जनप्रतिनिधिहरुले प्रत्येक वर्ष घोषणा पत्रअनुसार काम भए–नभएको जाँच हुन्छ।’

घोषणा पत्रअनुसार काम भए–नभएको जाँचका लागि केन्द्रले सूचक बनाउने बताइएको छ। 

‘केन्द्रबाट इन्डिकेटरहरु तयार गरेर कार्यसम्पादनको मूल्यांकन हुन्छ,’ शिवाकोटीले भने, ‘स्वमूल्यांकन गर्ने विधि पनि हामी बनाउँछौ।’ 

पार्टीका तर्फबाट पनि मूल्यांकन हुने र त्यो भोलिका दिनमा टिकट पाउने–नपाउने आधार बन्ने ढंगबाट घोषणा पत्र तयारीको काम भइरहेको उनको भनाइ छ। 

घोषणा पत्र तयारी समितिका सदस्य गेजा शर्मा वाग्लेले पार्टीले स्वमूल्यांकन गर्ने गरी घोषणा पत्र तयार भइरहेको जानकारी दिए।

‘पार्टीले स्वमूल्यांकन गर्ने गरी घोषणा पत्र तयार गरिरहेका छौँ,’ उनले भने, ‘घोषणा पत्रमा कार्यान्वयनका ठोस आधारहरु तयार गरेर जनताले विश्वास गर्न लायकको बनाउँदैछौँ।’ 

घोषणा पत्र तयारीका लागि चैत १० गते प्रधानमन्त्रीसमेत रहेका सभापति शेरबहादुर देउवाले महामन्त्री थापको संयोजकत्वमा ‘स्थानीय तह निर्वाचन—२०७९, घोषणा पत्र तयारी समिति’ गठन गरेका थिए। 

संयोजक थापाले चैत २१ गते समिति विस्तार गरेका थिए। उक्त समितिमा डा. आरजु राणा देउवा, मधु आचार्य, प्रा.डा. गोविन्दराज पोखरेल, नृपबहादुर वड, कान्तिका सैजुवाल, गुरुराज घिमिरे, किरण गिरी, हरिप्रभा खड्गी, भीम ढुंगाना, दिलिपप्रताप खाण सदस्य छन्। 

यस्तै वंशलाल तामाङ, विजयशंकर यादव, उमा थापा मगर, भुपेन्द्र राई, ममता महतो, डा. जुगल भुर्तेल, गेजा शर्मा वाग्ले, जगदीश भट्टराई, प्रताप पौडेल, शंकर तिवारी, पुरुषोत्तम नेपाल, डा. इन्द्रा अधिकारी, डा. अभिमन्यु सिंह, डा. बुद्धिमान श्रेष्ठ, मनिष झा, जिमी लामा र शिलशिला आचार्य पनि उक्त समितिमा छन्। 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .