राजनीति


देउवासँग प्रकाशमानको ‘केमिस्ट्री’ मिले काठमाडौंमा मेयरको टिकट सिर्जनालाई

देउवासँग प्रकाशमानको ‘केमिस्ट्री’ मिले काठमाडौंमा मेयरको टिकट सिर्जनालाई

कांग्रेसबाट काठमााडौं महानगरको मेयरका दाबेदारहरु। तस्बिर : नेपालखबर


केशव सावद
बैशाख २, २०७९ शुक्रबार १७:४९, काठमाडौँ

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र चाक्सीबारीबीच ‘केमिस्ट्री’ मिले संस्थापक नेता गणेशमान सिंहको परिवारले पार्टीका तर्फबाट काठमाडौँ महानगरको मेयर पाउने देखिएको छ।

सभापति देउवा र उनलाई १४ औँ महाधिवेशनमा सघाएका नेता प्रकाशमान सिंहबीच ‘केमिस्ट्री’ मिले आसन्न स्थानीय तह निर्वाचनका लागि सिंह परिवारले पार्टीका तर्फबाट काठमाडौँ महानगरको मेयर पाउने देखिएको हो। 

चाक्सीबारीनिकट स्रोतले देउवा र सिंहबीच समझदारी बने सिंह पत्नी सिर्जना काठमाडौँ महानगरको मेयरका लागि अगाडि बढ्न सक्ने संकेत गरेको छ। यद्यपि, सिर्जनाले सार्वजनिक रुपमा आकांक्षा भने देखाएकी छैनन्। 

उनी सञ्चार माध्यमहरुको जिज्ञासामा महानगरको मेयर पदका लागि टिकट ‘न चाहेको’ र ‘न खोजेको’ प्रतिक्रिया दिँदै आएकी छन्। तर, सिर्जना आफ्नाबारे सञ्चार माध्यममा आएका समाचारहरु भने ट्वीटरमा साझा गर्दै आएकी छन्। 

उनले नेपालखबरसँगको कुराकानीमा अहिलेसम्म महानगरको मेयरका लागि प्रतिस्पर्धा गर्ने बारेमा कुनै निर्णय गरिनसकेको बताइन्। महानगरको मेयरका लागि चुनावी प्रतिष्पर्धामा उत्रिन आफूलाई चौतर्फी दबाब भने आइरहेको सिर्जनाको भनाइ छ। 

‘मैले मेयरमा लड्ने–नलड्ने बारे कुनै डिसिजन गरिसकेको छैन,’ उनले भनिन्, ‘पब्लिक प्रेसर एकदमै छ। नेविसंघका समकालीन, महिला संघ र शुभचिन्तकहरुले धेरै नै प्रेसर दिइरहनुभएको छ।’ 

नेता सिंहनिकट स्रोतले काठमाडौँ मेयरका लागि चाक्सीबारी निकट रहेका तीन जना सिर्जना, नीलकाजी शाक्य र हरिप्रभा खड्गीमध्ये कुनै एक जनाको सम्भावना प्रवल रहेको दाबीसमेत गरेको छ। 

‘सिर्जना भाउजु, नीलकाजी दाइ र उपमेयर (हरिप्रभा) मध्ये कुनै एक मेयरको उम्मेदवार बन्ने लगभग निश्चित हो,’ ती नेताले नेपालखबरसँग भने, ‘सभापति र प्रकाशमान दाइ बसेर भाउजु (सिर्जना) को पनि राम्रो छ भन्ने भयो भने उहाँ अगाडि बढ्नुहुन्छ।’

शाक्य कांग्रेसको महानगर कार्यसमितिका सभापति र खड्गी महानगरपालिकाका वर्तमान उपमेयर हुन्। दुवै जनाले वैशाख ३० गते हुन गइरहेको स्थानीय तह निर्वाचनमा महानगरको मेयर पदमा आकांक्षा राखेका छन्। 

यस्तै, महानगरको मेयरको टिकटका लागि पूर्वस्वास्थ्य राज्यमन्त्री तीर्थराम डंगोल र महानगरपालिका कार्यसमिति सचिव सुशन वैद्य पनि दौडमा छन्। डंगोल सभापति देउवा र वैद्य महामन्त्री गगन थापानिकट हुन्। 

महानगर कार्यसमितिले काठमाडौँको मेयरको टिकटका लागि आइतबार आकांक्षीहरुको नाम माथिल्लो कार्यसमितिलाई सिफारिस गरिने जनाएको छ। महानगरका एक पदाधिकारीले पछिल्लो समय मेयरको आकांक्षीको सूचीमा नेता सिंहपत्नी सिर्जनाको चर्चा चुलिएको बताएका छन्।

ती पदाधिकारीले महानगर कार्यसमितिले उम्मेदवारको नाम सिफारिसमा सिर्जनाको नाम पर्नेसमेत ठोकुवा गरे। 

‘उहाँ (सिर्जना)लाई महिला संघले लड्नु पर्छ भनेर दबाब दिइरहेको छ। पार्टीभित्र पनि माहोल बनेको छ,’ ती नेताले भने, ‘अहिलेका उपमेयरभन्दा उहाँ क्यापेबल हो भन्ने एकथरीको मत छ। उहाँको नाम महानगरबाट सिफारिस हुन्छ।’

महानगरपालिका प्रमुख र उपप्रमुखको उम्मेदवारीका लागि पार्टीको महानगरपालिका कार्यसमितिले योग्यता पुगेका व्यक्तिमध्येबाट मेयर (प्रमुख) का लागि एक महिलासहित बढीमा तीन जना र उपप्रमुखका लागि एक महिलासहित बढीमा तीन जना सहमति हुन सकेमा सहमतिअनुसार र सहमति हुन नसके बहुमतबाट निर्णय गरी प्रदेश कार्यसमितिमा पठाउनुपर्ने हुन्छ। 

प्रदेश कार्यसमितिले प्राप्त नाममा आफ्नो राय–सुझावसमेत उल्लेख गरी केन्द्रमा पठाउने छ भने केन्द्रले प्राप्त नामको विवरण आफूसँग राखी केन्द्रीय संसदीय समितिमा पठाउने छ। 

केन्द्रीय संसदीय समितिले प्राप्त नाममध्ये सहमति हुन सकेमा सहमति र सहमति हुन नसकेमा बहुमतबाट निर्णय गरी उक्त निर्णय केन्द्रीय कार्यसमितिबाट अनुमोदन गराई पार्टीका तर्फबाट उम्मेदवारी घोषणा गर्ने र उम्मेदवार मनोनयन दाखिला गर्ने व्यवस्था गर्ने विधानमा उल्लेख छ। 

महानगरपालिका प्रमुख, उपप्रमुखको उम्मेदवारको निर्णय गर्दा प्रदेश कार्यसमितिको सभापतिलाई केन्द्रीय संसदीय समितिको बैठकमा आमन्त्रित गर्नुपर्ने पनि वैधानिक प्रावधान छ। 

विधानअनुसार प्रदेश संसदीय समितिले नगरपालिका र उपमहानगरपालिका प्रमुख तथा उपप्रमुखको उम्मेदवारी, जिल्ला संसदीय समितिले गाउँपालिका अध्यक्ष तथा उपाध्यक्षको उम्मेदवारी र प्रतिनिधिसभा संसदीय समितिले गाउँ, नगर वडाका अध्यक्ष तथा सदस्यको उम्मेदवारीको अन्तिम टुंगो लगाउँछ।   

२०७४ को स्थानीय तह निर्वाचनमा कांग्रेसले काठमाडौँ महानगरको मेयरका लागि राजुराज जोशीलाई अघि सारेको थियो। उनी नेकपा एमालेका विद्यासुन्दर शाक्यसँग मेयरमा पराजित भएका थिए। 

मेयरमा विजयी शाक्यले ६४ हजार ९१३ मत ल्याउँदा जोशीले ४५ हजार २६९ मत पाएका थिए। ५८ हजार ९५२ मत ल्याएर कांग्रेस नेतृ खड्गी उपमेयरमा विजयी भएकी थिइन्।  

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .