नेपाली कांग्रेसले सत्तारुढ पाँच दलीय गठबन्धनमा रहेका दलसँग तालमेल नभएको सभामा मात्रै पार्टी प्रवेश कार्यक्रम राख्ने भएको छ।
उपसभापति पूर्णबहादुर खड्का संयोजक रहेको ‘स्थानीय तह निर्वाचन केन्द्रीय परिचालन समिति’ को शुक्रबार बसेको बैठकले गठबन्धनका अरु दल सहभागी नभएको सभामा मात्रै सदस्यता वितरण गर्ने नीति बनाएको हो।
यसअघि नै पाँच दलीय गठबन्धनले एकअर्काका कार्यकर्तालाई सकेसम्म पार्टी प्रवेश नगराउने नीति लिएका छन्।
यससँगै अब कांग्रेसले आफ्नो एकल आयोजनामा गरिने चुनावी सभामा मात्रै पार्टी प्रवेश कार्यक्रम राख्ने भएको छ।
यही बैठकले स्थानीय तह निर्वाचनका लागि आयोजना गरिने चुनावी सभा नलम्ब्याउने निर्णय लिएको छ। चुनावी सभा छोटो बनाउने निर्णय बैठकले गरेको हो।
केन्द्रीय कार्यालय सानेपामा बसेको बैठकले पालिकास्तरमा गरिने चुनावी सभा बढीमा दुई घण्टा मात्रै सञ्चालन गर्ने निर्णय गरेको एक सदस्यले जानकारी दिए।
उनका अनुसार बैठकले वडा र टोलस्तरको चुनावी सभाहरू बढीमा १ घण्टामात्र सञ्चालन गर्ने निर्णय गरिएको छ।
निर्वाचनलाई व्यवस्थित, सभ्य र व्यवस्थित बनाउन चुनावी सभालाई छोटो, छरितो बनाउनुपर्ने भएकाले स्थानीय निर्वाचनमा चुनावी सभा सञ्चालनको समय निर्धारण गरिएको समितिले जनाएको छ।
बैठकले चुनावी सभाका ब्यानरको डिजाइन वडा र पालिकामा पार्टीका मात्र उम्मेदवार भएको ठाउँमा आफ्नै किसिमले र गठबन्धनमा रहेका अन्य दलसँग तालमेल भएका स्थानमा आपसी सल्लाहमा निर्माण गर्ने पनि निर्णय गरेको छ।
बैठकले निर्वाचनलाई लक्षित गरेर ७ वटा समिति पनि गठन गरेको छ।
यो बैठकबाट भ्रातृ संघ समन्वय एवम् परिचालन उपसमिति, शुभेच्छुक संस्था समन्वय एवम् परिचालन उपसमिति, जिल्ला सम्पर्क समन्वय एवम् परिचालन उपसमिति, विदेशस्थित जनसम्पर्क समिति समन्वय एवम् परिचालन उपसमिति गठन गरेको छ। यस्तै अनुगमन, मूल्यांकन तथा सुपरिवेक्षण उपसमिति, निर्वाचन सुरक्षा निकाय समन्वय उपसमिति र आचार संहिता अनुगमन तथा निर्वाचन आयोग समन्वय उपसमिति गठन गरेको हो।
Shares
प्रतिक्रिया