ad ad

राजनीति


गठबन्धनमा कांग्रेस हावी, काठमाडौं महानगरसहित ४ उपमहानगर ‘नाफा’

गठबन्धनमा कांग्रेस हावी, काठमाडौं महानगरसहित ४ उपमहानगर ‘नाफा’

फाइल तस्बिर


रुपक चौलागाईं
बैशाख ७, २०७९ बुधबार १८:२६, काठमाडौँ

देशभरिका ६ वटा महानगरपालिका र ११ उपमहानगरपालिकाको प्रमुख-उपप्रमुख भागबन्डामा सत्तारुढ मुख्य घटक नेपाली कांग्रेस हाबी देखिएको छ। 

०७४ को चुनावमा दुईवटा मात्रै महानगरपालिकाको नेतृत्व गरेको कांग्रेसले गठबन्धनको भागबन्डामा काठमाडौंसहित तीनवटा महानगरपालिकामा मेयरको टिकट आफ्नो पोल्टामा पारेको छ।

सत्तारुढ गठबन्धनभित्रको लामो रस्साकस्सीपछि कांग्रेसले काठमाडौं, ललितपुर र विराटनगरको मेयरको टिकट पाउने गरी समझदारी गरेको छ। 

यसअघि नेकपा एमालेले जितेको पोखरा महानगरपालिकाको उपमेयरको टिकट पनि कांग्रेसले नै पाउने भएको छ।

०७४ को निर्वाचनमा कांग्रेसले देशभरिका ६ वटा महानगरपालिकामध्ये ललितपुर र विराटनगरको प्रमुख जितेको  थियो। 

यसअघि एमालेले जितेको काठमाडौं महानगरपालिकाको मेयरको टिकट पनि गठबन्धनका तर्फबाट कांग्रेसले नै पाएको छ।

त्यस्तै, ७ वटा उपमहानगरपालिकाको प्रमुख पदको टिकट पनि कांग्रेसको भागमा परेको छ। 

यीमध्ये तीनवटा उपमहानगरमा कांग्रेसले अघिल्लो निर्वाचनमा जितेको थियो। त्यसमा चारवटा थप गर्दै कांग्रेसले ७ वटा महानगरको टिकट आफ्नो भागमा पारेको हो।

धरान, धनगढी र कलैया उपमहानगरपालिकाको प्रमुख पदमा ०७४ मा कांग्रेसले जित निकालेको थियो। त्यसबाहेक इटहरी, बुटवल, तुलसीपुर र नेपालगञ्ज महानगरपालिकाको मेयरमा कांग्रेसले ‘नाफा’ निकालेको हो।

त्यस्तै, २/२ वटा उपमहानगरको प्रमुख र उपप्रमुख माओवादी केन्द्रले लिने भएको छ। भरतपुरको प्रमुख र ललितपुरका उपप्रमुख पाएको माओवादी केन्द्रले यसअघि पराजित भएको ललितपुरमा ‘नाफा’ निकालेको छ। 

भरतपुरमा माओवादीले यसअघि नै जितेको थियो भने ललितपुरमा पराजित भएको थियो। ०७४ को निर्वाचनमा ललितपुरको प्रमुख र उपप्रमुख दुवै कांग्रेसले जितेको थियो।

एकीकृत समाजवादीले पोखरा महानगरपालिकाको मेयरसहित काठमाडौंको उपमेयरसमेत पाउने भएको छ। 

एउटा उपमहानगरपालिको प्रमुख र ३ वटा उपमहानगरको उपप्रमुख एकीकृत समाजवादीले पाउने भएको हो। 

जसमा समाजवादीले हेटौंडा उपमहानगरपालिकाको प्रमुख पाएको छ। इटहरी, बुटवल र तुलसीपुरको उपमेयर एकीकृत समाजवादीले लिएको छ।

 एकीकृत समाजवादी पहिलोपटक निर्वाचनमा भाग लिँदैछ। त्यसकारण यसअघिको उसको परिणामलाई आधार मानेर नाफा घाटाको हिसाब हुँदैन।

उता, जनता समाजवादीले १/१ महानगरको प्रमुख र उपप्रमुख पाएको छ। वीरगन्जको प्रमुख पाएको जसपाले ०७४ को निर्वाचनमा पनि त्यहाँ जित निकालेको थियो। 

विराटनगरको उपप्रमुखमा पनि ०७४ को निर्वाचनमा जसपाले नै हात पारेका थियो।

जसपाले जनकपुर उपमहानगरपालिकाको प्रमुख पाएको छ भने कलैया र नेपालगञ्ज उपमहानगरपालिकाको उपप्रमुख पाएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .