राजनीति


काठमाडौंको मेयरबाट राजनीतिमा ‘कमब्याक’ गर्ने प्रयासमा सिर्जना

काठमाडौंको मेयरबाट राजनीतिमा ‘कमब्याक’ गर्ने प्रयासमा सिर्जना

कांग्रेसबाट काठमाडौंको मेयरको दौडमा रहेकी सिर्जना सिंह। तस्बिर : विजय सिंह/नेपालखबर


केशव सावद
बैशाख ८, २०७९ बिहिबार १७:३०, काठमाडौँ

२०३६ साल जेठ १० गते बिहान ६ः४५ बजे रेडियो नेपालबाट तत्कालीन राजा वीरेन्द्र शाहले देशवासीका नाममा ‘शाही घोषणा’ गरे।

घोषणामा उनले नेपालीको भावी शासन व्यवस्थाबारे बालिग मताधिकारका आधारमा सबै नेपालीको गोप्य मतदानबाट ‘जनमत संग्रह’ गर्ने बताए।

वीरेन्द्रले ‘जनमत संग्रह’ गर्ने घोषणा गरेको १० महिनापछि चैत २० गतेका दिन २०३७ वैशाख २० गते ‘राष्ट्रिय जनमत संग्रह’ मिति तोकियो।

घोषित मितिमै देशभरका १० हजार २५ मतदान केन्द्रमा जनताले सुधारिएको पञ्चायती व्यवस्था अर्थात निर्दलीय र बहुदलीयमध्ये एक रोज्न भाग लिएका थिए। 

‘नेपालको प्रजातान्त्रिक आन्दोलन र नेपाली कांग्रेस,’ पुस्तकको भाग ५ अनुसार उक्त जनमत संग्रहमा ७१ लाख ९२ हजार ४५१ मध्ये ४८ लाख १३ हजार ४८६ जनाले मत दिए। त्यसमा ३ लाख ७२ हजार ६९ मत बदर भए। 

परिणामअनुसार २४ लाख ३३ हजार ४५२ मतसहित सुधारिएको पञ्चायती व्यवस्था अर्थात निर्दलीय व्यवस्था पक्ष विजयी भएको थियो। बहुदलको पक्षमा २० लाख ७ हजार ९६५ मत खसेको थियो। 

नेपालको इतिहासमै पहिलो पटक घोषित ‘जनमत संग्रह’ बहुदलको पक्षमा पार्न नेपाली कांग्रेसले ‘बहुदल प्रचार–प्रसार समिति’ गठन गरेको थियो। बहुदलकै पक्षमा जनमत बनाउन कांग्रेसले ‘महिला बहुदल प्रचार–प्रसार समिति’ पनि बनाएको थियो। 

मंगलादेवी सिंहको नेतृत्वमा गठित उक्त समितिको गोरखा कमान्ड सम्हालेकी थिइन्–सिर्जना श्रेष्ठले। ‘जनमत संग्रह’मा बहुदलको पक्षमा माहोल बनाउन गोरखामा भूमिका खेलेकी उनै सिर्जना ४३ वर्षपछि काठमाडौँ महानगरको प्रमुखमा अघि सरेकी छन्।  

महानगर प्रमुखको उम्मेदवारका लागि कांग्रेसको महानगरपालिका कार्यसमितिले उनको नाम बुधबार पार्टीको माथिल्लो तहमा सिफारिस गरेको छ। महानगरको मेयरका लागि सिर्जनासँगै अन्य पाँचजनाको पनि नाम सिफारिस भएको छ। 

महानगर प्रमुखका लागि नाम सिफारिस हुनेमा नीलकाजी शाक्य, हरिप्रभा खड्गी श्रेष्ठ, इन्जिनियर सुशन वैद्य र प्रगतिमान रञ्जित छन्। 

शाक्य महानगर कार्यसमिति सभापति, सिंह नेपाल महिला संघ काठमाडौंकी प्रमुख सल्लाहकार, वैद्य महानगर कार्यसमिति सचिव, खड्गी महानगरकी वर्तमान उपप्रमुख र रञ्जित महानगर कार्यसमिति सभापतिका प्रतिस्पर्धी हुन्। 

‘जनमत संग्रह’ मा बहुदलको पक्षमा प्रचार–प्रचारको जिम्मा सम्हाल्नु ३ वर्षअघि नै सिर्जना कांग्रेसको क्रियाशील सदस्य बनिसकेकी थिइन्। उनले कक्षा ९ मा पढ्दा २०३३ सालमै गोरखाबाट कांग्रेसको क्रियाशील सदस्यता लिएकी थिइन्। 

सिर्जनाले २०३६ देखि २०३८ सम्म महाबौद्ध क्याम्पसमा कांग्रेसको भ्रातृ संस्था नेपाल विद्यार्थी संघ (नेविसंघ) को इकाइ समिति सभापतिको जिम्मेवारी पनि सम्हालेकी थिइन्। 

उनी २०३७ देखि २०४१ सम्म नेविसंघकै गोरखा–काठमाडौँ सम्पर्क समिति सदस्य बनिन्। त्यसपछि सिर्जना मातृ पार्टीकै गोरखा–काठमाडौँ सम्पर्क समिति सदस्य पनि भइन्। 

उनले २०३८ सालमा शंकरदेव क्याम्पसमा सम्पन्न स्वतन्त्र विद्यार्थी युनियन 

(स्ववियु) निर्वाचनमा वर्तमान ऊर्जामन्त्री पम्फा भुसाललाई हराएकी थिइन्। 

अखिलबाट प्रतिष्पर्धामा उत्रिएकी भुसाललाई आफूले कोषाध्यक्ष पदमा हराएको सिर्जनाले नेपालखबरलाई सुनाइन्। 

२०४१ सालसम्म पार्टीमा सक्रिय सिर्जनाको प्रत्यक्ष राजनीतिक क्रियाशीलतामा २०४२ देखि ‘ब्रेक’ लाग्यो। कारण थियो–कांग्रेसका संस्थापक नेता लौहपुरूष गणेशमान सिंह परिवारसँगको साइनो। 

उनी गणेशमान पुत्र प्रकाशमानसँग विवाह गरेर राजनीतिक वातावरण भएको चाक्सीबारी भित्रिएपछि घरमै सीमित भइन्। 

कांग्रेसको प्रत्यक्ष राजनीतिमा सक्रिय नभए पनि सिर्जना पार्टीको भ्रातृ संस्था नेपाल महिला संघले गर्ने ‘हेल्थ क्याम्प’ (स्वास्थ्य शिविर) को प्रोजेक्ट कोअर्डिनेटर भएर लामो समय काम गरिन्।

महिला संघकी संस्थापक अध्यक्ष मंगलादेवीको निधनपछि उनी महिला संघ काठमाडौँको प्रमुख सल्लाहकार छिन्। ‘आमा (सासुमा) को निधन भएपछि महिला संघले मलाई संगठनमा बस्न कर गरेर प्रमुख सल्लाहकार बनायो,’ सिर्जनाले नेपालखबरसँग भनिन्, ‘त्यसयता अहिलेसम्म प्रमुख सल्लाहकार नै छु।’त्यही महिला संघ काठमाडौँ जिल्ला कार्यसमितिले उनलाई सबैभन्दा पहिले महानगर प्रमुखमा दाबी गर्न दबाब दिएको थियो।

चैत १४ गते बसेको जिल्ला कार्यसमिति बैठकले प्रमुख सल्लाहकार सिर्जनालाई महानगर प्रमुखका लागि सिफारिस गर्ने निर्णय गरेको थियो। 

निर्णयपछि महिला संघका पदाधिकारीले चाक्सीबारी पुगेर उनलाई महानगरका लागि संगठनका तर्फबाट सिफारिस गरिएको जानकारी दिँदै प्रस्ताव अस्वीकार नगर्न भनेका थिए। 

त्यो बेला सिर्जनाले जवाफ फर्काएकी थिइन्, ‘तपाईंहरुले संस्थागत रुपमा गरेको प्रस्ताव मान्दिनँ भन्दिनँ, मान्छु पनि भन्दिनँ। म अघि सर्दा प्रकाशमानले श्रीमती ल्यायो भन्छन्।’

तर, महिला संघका पदाधिकारीले उनलाई आफूहरुले गरेको प्रस्तावमा ‘नाइँ नभन्नु’ भनेर आग्रह गरेको थियो। त्यसको केही दिनपछि महिला संघको टोली सिर्जनाले टिकट पाउनुपर्ने माग राखेर प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट्न बालुवाटार पुगेको थियो। 

त्यसपछि काठमाडौँ महानगरपालिका प्रमुख पदको सम्भावित उम्मेदवारका रुपमा उनको चर्चा चुलिएको थियो। यद्यपि, पार्टीबाट सिफारिस भइसक्दा पनि सिर्जनाले अझै पनि आफू महानगर प्रमुखका लागि प्रतिष्पर्धामा उत्रिनेबारे मुख खोलेकी छैनन्। 

उनका पति प्रकाशमान आफूनिकटसँग सिर्जनालाई जेसुकै चाहना राखे पनि कुनै दबाब नदिने बताउने गरेका छन्। ‘राजनीतिमा फर्किने उनको व्यक्तिगत चाहना हो,’ प्रकाशमानले आफूनिकटसँग भन्ने गरेको उद्धृत गर्दै चाक्सीबारीनिकट एक नेताले भने, ‘म रोक्दिनँ, कुनै दबाव पनि दिन्नँ ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .