राजनीति


तीन महानगरका तीन चर्चित महिला आकांक्षी

तीन महानगरका तीन चर्चित महिला आकांक्षी

केशव सावद
बैशाख ९, २०७९ शुक्रबार १०:१०, काठमाडौँ

स्थानीय तहको निर्वाचन आउन अब २१ दिन मात्र बाँकी छ । वैशाख ३० गते हुने चुनावअन्तर्गत ११ र १२ गते उम्मेदवारी मनोनयनका लागि मिति तोकिएको छ। 

मनोनयन गर्ने दिन आउन दुई दिन मात्र बाँकी रहँदा पनि राजीनतिक दलहरुले स्थानीय तहहरुमा पार्टीका तर्फबाट प्रतिष्पर्धामा उत्रिने उम्मेदवारहरु तय गर्न सकेका छैनन्। 

स्थानीय तह निर्वाचनका लागि सत्ताको नेतृत्व गरिरहेको नेपाली कांग्रेस र प्रमुख प्रतिपक्षी नेकपा एमालेले छुट्टाछुट्टै मोर्चा बनाएका छन्। 

कांग्रेसले सत्ता साझेदार नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी (जसपा) र राष्ट्रिय जनमोर्चासँग चुनावी तालमेल गरेको छ। 

एमालेले लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा), राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपाल, परिवार दलसँग सत्ता गठबन्धनविरुद्ध चुनावी तालमेल गरेको छ। 

सत्ता गठबन्धन र विपक्षी गठबन्धनले आसन्न निर्वाचनको नतिजा आ–आफ्नो पक्षमा पार्न तालमेल गरे पनि उम्मेदवारहरु भने टुंग्याउन सकेका छैनन्। 

चुनावी तालमेलका लागि स्थानीय तहहरुको भागबण्डा टुंग्याउन ढिलाई भएका कारण दलहरु उम्मेदवार तय गर्न पछि परेका हुन्। 

सत्तारुढ पाँच दलीय गठबन्धनले बुधबारमात्रै ६ महानगर र ११ उपमहानगरपालिकाहरुको भागबण्डा टुंग्याएको छ। 
सहमतिअनुसार काठमाडौँ, ललितपुर र विराटनगर कांग्रेस, भरतपुर माओवादी केन्द्र, पोखरा एकीकृत समाजवादी र वीरगञ्ज जसपाको भागमा परेको छ। 

सत्ता गठबन्धनमा रहेका दलहरुले आ–आफ्नो भाग परेका ६ वटै महानगरहरुमा प्रमुख (मेयर) उठाउने छन्। 
सत्ता गठबन्धनले भागबण्डा टुंग्याएका ६ महानगरमध्ये ३ महानगरमा ३ चर्चित महिलाको चर्चा चुलिएको छ। 

प्रदेश १ को राजधानी विराटनगर, संघीय राजधानी काठमाडौँ र चितवनको भरतपुरमा ३ महिला नेतृको सम्भावित महानगर प्रमुखको रुपमा चर्चा भइरहेको छ। 

विराटनगरमा कांग्रेस नेतृ डा. डिला संग्रौला पन्त, काठमाडौँमा सिर्जना सिंह र भरतपुरमा रेणु दाहाललाई सम्भावित महानगर प्रमुखका उम्मेदवारको रुपमा हेरिएको छ।  

डिला कांग्रेसकी प्रतिनिधिसभा सदस्य, सिर्जना कांग्रेस नेता प्रकाशमान सिंहकी पत्नी र रेणु माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ की पुत्री हुन्। 

माओवादीले आफ्नो भागमा परेको भरतपुरमा प्रचण्डपुत्री रेणुलाई दोहोर्याउने लगभग निश्चित छ। 

तर, कांग्रेसले आफ्नो भागमा परेको विराटनगर र काठमाडौँ महानगरमा उम्मेदवार भने तय गरिसकेको छैन।   
२०७४ को स्थानीय तह निर्वाचनमा प्रचण्डले महानगर प्रमुखमा छोरी रेणुलाई अघि सारेपछि उनको चर्चा सुरु भएको थियो। 

त्यसमाथि मतगणनाका क्रममा माओवादी कार्यकर्ताले मतपत्र नै च्यातेपछि रेणु एकाएक चर्चित बन्न पुगेकी थिइन्।  
मतपत्र च्यातिएको ठाउँमा पुनः मतदानपछि रेणु ४३ हजार १ सय २७ मतसहित भरतपुर महानगरको प्रमुखमा विजयी भएकी थिइन्। 

उनका प्रतिद्वन्द्वी नेकपा एमालेका देवी ज्ञवालीले ४२ हजार ९ सय २४ मत पाएका थिए। 

कांग्रेससँग तालमेल गरेर चुनावमा उत्रिएको माओवादी केन्द्रले प्रमुखमा झिनो मतान्तरले मात्रै जित हात पारेको थियो। 
तर, उपप्रमुखमा भने कांग्रेस नेतृ पार्वती शाह ठकुरी सहजै निर्वाचित भएकी थिइन्। 

प्रतिद्वन्द्वी एमालेकी दिव्या शर्मा आचार्यलाई उनले साढे ७ हजारभन्दा बढी अन्तरले हराएकी थिइन्। 
शाहले ४७ हजार १ सय ९७ मत ल्याउँदा शर्माले ३९ हजार ५ सय २५ मतमा चित्त बुझाउनु परेको थियो। 

उपमेयरमा राप्रपाका तर्फबाट उम्मेदवार बनेकी रिना गुरुङले ७ हजार २ सय ५२ मत पाएकी थिइन्।
कांग्रेसको आन्दोलनको जग मानिने विराटनगरको सम्भावित प्रमुखको रुपमा चर्चा भइरहेकी डिला कांग्रेसको प्रतिनिधिसभा सदस्य हुन्। 

२०७४ मा सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा डिला समानुपातिकतर्फ सांसद हुनुअघि कांग्रेस केन्द्रीय सदस्य बनेकी थिइन्। 

गत मंसिरमा सम्पन्न पार्टीको १४ औँ महाधिवेशनबाट उनी फेरि केन्द्रीय सदस्यमा निर्वाचित भएकी छन्। 
डिला २०६८ साल माघ २१ गते भ्रातृ संगठन नेपाल महिला संघ केन्द्रीय तदर्थ समितिको अध्यक्षमा नियुक्ति भएकी थिइन्। 

२०७३ भदौ २९–३१ मा महिला संघको तेस्रो राष्ट्रिय महाधिवेशन सम्पन्न गरेर उनी बिदा भएकी थिइन्। 
कांग्रेसको विराटनगर महानगरपालिका कार्यसमितिले महानगर प्रमुखका लागि पार्टीमा गरेको सिफारिसमा डिलाको नाम समावेश छ। 

उनले विराटनगरको प्रमुखमा पार्टीका तर्फबाट आकांक्षीका रुपमा सिफारिस हुनुअघि प्रधानमन्त्रीसमेत रहेका पार्टी सभापति शेरबहादुर देउवासमक्ष आकांक्षा राखिसकेकी थिइन्।

‘विराटनगर महानगरपालिकाको मेयरमा मेरो दाबी छ,’ डिलाले नाम सिफारिस हुनअघि नेपालखबरसँग भनेकी थिइन्, ‘यसबारे सभापतिज्यूसमक्ष कुरा राखिसकेकी छु। उहाँले सल्लाह गरौँला भन्नुभएको छ।’

काठमाडौँमा कांग्रेसका संस्थापक नेता गणेशमान सिंहकी बुहारी सिर्जनाको नाम भावी महानगर प्रमुखका रुपमा चर्चा भइरहेको छ। 

कांग्रेसको महानगर कार्यसमितिले बुधबारमात्रै उनको नाम महानगर प्रमुखका लागि सिफारिस गरेको आकांक्षीको सूचिमा छ। 

नेपाल महिला सिंहले चैत १४ गते महानगर प्रमुखका लागि संगठनका तर्फबाट मातृ पार्टीमा सिफासि गर्ने निर्णय गरेसँगै सिर्जनाको चर्चा एकाएक चुलिएको थियो। 

तर, उनले महानगर कार्यसमितिले नाम सिफारिस गर्दासम्म पनि उम्मेदवारीबारे मुख खोलेकी छैनन्। 

नेपाल विद्यार्थी संघ (नेविसंघ) को काठमाडौँ जिल्ला कार्यसमितिले पनि वैशाख ५ गते सिर्जनालाई ‘उपयुक्त उम्मेदवार’ का रुपमा चित्रित गर्दै महानगर कार्यसमितिलाई सिफारिसका लागि आग्रह गरेको थियो। 

‘काठमाडौँ महानगरपालिकाको मेयर पदका लागि देखिएका उम्मेदवारहरुमा नेपाली कांग्रेसकी नेतृ सिर्जना सिंहज्यू सबैभन्दा उपयुक्त उम्मेदवार रहेको नेपाल विद्यार्थी संघ काठमाडौँ जिल्लाको बुझाई भएकाले उहाँलाई नै महानगरपालिकाको मेयर पदको उम्मेदवारमा अगाडि बढाउन हार्दिक अनुरोध गर्दछौँ,’ कार्यवाहक अध्यक्ष जीवन श्रेष्ठद्वारा हस्ताक्षरित महानगर कार्यसमितिलाई बुझाइएको पत्रमा भनिएको थियो।  

सिर्जनाले कक्षा ९ मा पढ्दा २०३३ सालमै गोरखाबाट कांग्रेसको क्रियाशील सदस्यता लिएकी थिइन्। 

सिर्जनाले २०३६ देखि २०३८ सम्म महाबौद्ध क्याम्पसमा कांग्रेसको भ्रातृ संस्था नेपाल विद्यार्थी संघ (नेविसंघ) को ईकाइ समिति सभापतिको जिम्मेवारी पनि सम्हाल्ने अवसर पाएकी थिइन्। 

उनी २०३७ देखि २०४१ सम्म नेविसंघकै गोरखा–काठमाडौँ सम्पर्क समिति सदस्य पनि थिइन्। पछि सिर्जना मातृ पार्टीकै गोरखा–काठमाडौँ सम्पर्क समिति सदस्य पनि भइन्। 

उनले २०३८ सालमा शंकरदेव क्याम्पसमा सम्पन्न स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनमा हालकी उर्जमन्त्री पम्फा भुसाललाई पराजित गरेकी थिइन्। 

अखिलबाट प्रतिष्पर्धामा उत्रिएकी भुसाललाई आफूले कोषाध्यक्ष पदमा पराजित गरेको सिर्जनाले नेपालखबरलाई सुनाइन्। 

२०४१ सालसम्म पार्टीमा सक्रिय सिर्जनाको प्रत्यक्ष राजनीतिक क्रियाशीलतामा भने २०४२ बाट ‘ब्रेक’ लाग्यो। कारण थियो– कांग्रेसका संस्थापक नेता लौहपुरुष गणेशमान सिंहको परिवारसँगको साइनो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .