राजनीति


निर्वाचन आयोगको तयारी : १० स्थानीय तहमा गोप्य अनुसन्धान, २५ ठाउँमा कडा निगरानी

निर्वाचन आयोगको तयारी : १० स्थानीय तहमा गोप्य अनुसन्धान, २५ ठाउँमा कडा निगरानी

सम्पादकहरुसँगको अन्तरक्रियामा आयोगका अधिकारीहरु। तस्बिर : नेपालखबर


नेपालखबर
बैशाख ९, २०७९ शुक्रबार १५:५१, काठमाडौँ

आगामी बैशाख ३० गते हुने स्थानीय तहको चुनावमा निर्वाचन आयोगले १० वटा स्थानीय तहमा गोप्य निगरानी एवं अनुसन्धानका लागि टोली खटाउने भएको छ।

थप २५ स्थानीय तहमा विशेष टोली खटाएर कडा निगरानी गरिने आयोगले शुक्रबार जनाएको छ।

आयोगका एक पदाधिकारीले दिएको जानकारी अनुसार देशभरिका छ वटा महानगरपालिका र चार वटा उपमहानगरपालिकामा तीन सदस्यीय अनुसन्धान टोली खटाइनेछ। 

आयोगले सरकारी संस्था नीति अनुसन्धान प्रतिष्ठानसँगको सहकार्यमा महानगर र केही उपमहानगरपालिकामा त्यस्तो टोली खटाउने निर्णय गरेको हो। देशभरिका ११ उपमहानगरमध्ये लगभग

चारवटामा टोली खटाउने तयारी भए पनि उपमहानगरपालिकाहरु छनोट हुन बाँकी रहेको आयोग स्रोतले बताएको छ।

कुल १० स्थानीय तहमा खटिने ३० जना अनुसन्धानकर्ताले त्यहाँ हुन सक्ने आचारसंहिता उल्लंघन, मतदातालाई प्रभावित पार्ने गलत हर्कत एवं निर्वाचन सुरक्षासँग जोडिएका विषयहरुमा गोप्य रुपमा बुझेर आयोगलाई रिपोर्ट गर्नेछन्।

उम्मेदवारको व्यवहार हेरेर २५ ठाउँमा ‘रेक्की’
यसैबीच निर्वाचन आयोगले कतिपय स्थानीय तहमा उम्मेदवारहरूको व्यक्तिगत स्वभाव र व्यवहार हेरेर विशेष सतर्कता अपनाउने भएको छ।

निर्वाचन आयोगले सुरक्षा जोखिमको अवस्था हेरेर सुरक्षा निकायको समन्वयमा करिब २५ वटा स्थानीय तहमा गोप्य निगरानीको तयारी गरिरहेको आयोग स्रोतले बतायो।

कतिपय उम्मेदवारहरूको स्वाभावका साथै सुरक्षा जोखिम रहेका ठाउँलाई समेत ख्याल गरेर २५ स्थानीय तह तोकिने आयोगले जनाएको छ।
निर्वाचन आयोगका एक पदाधिकारीले शुक्रबार पत्रकारसँगको एक जमघटमा भने, ‘ती स्थानीय तहमा निर्वाचन आयोगलाई जस्तोसुकै कदम चाल्न सक्ने अधिकार हुनेछ।’

आचारसंहिता पालनामा कडाइ
यसैबीच, निर्वाचन आयोगले आचार संहिता पालनामा कडाइ गर्ने भएको छ। मिडिया र सामाजिक सञ्जालमा हुने आचारसंहिता उल्लंघनका घटनामा अनुगमन गर्न प्रेस काउन्सिलसँग सहकार्य अघि बढाइएको आयोगले जनाएको छ।

भारतीय सीमा क्षेत्रमा रेडियो र एफएममार्फत हुने आचारसंहिता उल्लङ्घनलाई पनि नियमन गरिने आयोगले जनाएको छ। 

विभिन्न मिडियामा प्रयोग हुने चुनावी विज्ञापनको नियमन गर्न विज्ञापन बोर्डसँग सहकार्य गरिने र सामाजिक सञ्जालमा हुने आचारसंहिता विपरीत कार्यको अनुगमन ५ सदस्यीय विज्ञसहितको टोलीले गर्ने निर्वाचन आयोगले जनाएको छ। 

आचारसंहिता विपरीत सञ्चार सामग्रीको प्रचार प्रसार गरिएको पाइएमा जुन पार्टीका उम्मेदवारको सामग्री हो, उसैलाई जवाफदेही बनाइने आयोगले जनाएको छ।

निर्वाचन आयोगले स्थानीय चुनावबारे भइरहेको आयोगको तयारी सम्बन्धी जानकारी दिन शुक्रबार राजधानीमा विभिन्न मिडियाका सम्पादकहरूसँग अन्तरक्रिया आयोजना गरेको थियो।

अन्तरक्रियामा प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाका साथै आयुक्त एवं आयोगका कर्मचारीहरु सहभागी थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .