राजनीति


कांग्रेसले अब विगतका गल्ती नदोहोर्‍याउने, जनतासँग माग्यो माफी!

घोषणा पत्रमार्फत समुन्नत नेपाल निर्माणको वाचा
कांग्रेसले अब विगतका गल्ती नदोहोर्‍याउने, जनतासँग माग्यो माफी!

केशव सावद
बैशाख ११, २०७९ आइतबार २१:३३, काठमाडौँ

सत्ताको नेतृत्व गरिरहेको नेपाली कांग्रेसले विगतमा भएका त्रुटि दोहोरिन नदिने प्रतिवद्धता जनाएको छ। 

लोकतन्त्र दिवसको अवसर पारेर आइतबार स्थानीय तह निर्वाचन लक्षित घोषणा पत्र जारी गर्दै कांग्रेसले विगतका त्रुटि दोहोरिन नदिने लिखित प्रतिवद्धता जनाएको हो। 

त्रुटि र कमजोरीबाट शिक्षा लिएर तिनलाई फेरि दोहोरिन नदिने प्रतिवद्धता व्यक्त गर्दै उसले कमीकमजोरीप्रति जनतासँग माफीसमेत मागेको छ। 

‘नेपाली कांग्रेस विगतमा सरकारको नेतृत्व गर्दा वा प्रतिपक्षको भूमिकामा जानीनजानी भएका त्रुटि, कमजोरीप्रति जनतासमक्ष क्षमा माग्दै त्यसबाट शिक्षा लिएर तिनलाई फेरि दोहोरिन नदिने प्रतिवद्धता व्यक्त गर्दछ,’ घोषणा पत्रमा भनिएको छ।  

कांग्रेसले संविधानको रक्षा र कार्यान्वयन गर्दै मुलुकलाई समुन्नतितर्फ डोर्याउनु नै आजको मुख्य राष्ट्रिय जिम्मेवारी भएको जनाएको छ। 

उसले सात दशकभन्दा लामो आफ्नो गौरवपूर्ण इतिहास, पार्टीको विचार तथा आदर्शको श्रेष्ठता, कार्यकर्ताको ऊर्जा र जनताको समर्थनको आत्मविश्वाससाथ राजनीतिमा देखिएका ज्वलन्त मुद्दाहरूको सम्बोधन गर्ने अठोट पनि घोषणा पत्रमार्फत गरेको छ।

संघीय लोकतन्त्रको सीमाभित्र ‘विविधताबीचको एकता आम नेपालीको सच्चा राष्ट्रियता’ भन्ने मान्यताकासाथ संविधान कार्यान्वयन गर्दै समुन्नत नेपालको आफ्नो ध्येयलाई पूरा गरी छाड्ने कांग्रेसले प्रण पनि गरेको छ। 

कांग्रेस सबै नेपालीको पहिचान, पहुँच, प्रतिनिधित्व, प्रगति र प्रतिष्ठामा नै नेपालको राष्ट्रिय पहिचान उच्च हुन्छ भन्ने मान्यतासाथ आम नेपालीको जीवनमा गुणात्मक परिवर्तन ल्याउने अठोटसहितको समुन्नत नेपालको राष्ट्रिय आकांक्षा पूरा गर्ने अभियानमा सामेल हुन पनि आह्वान गरेको छ।

उसले मधेशी, मुस्लिम, आदिवासी जनजाति, थारू, महिला, दलित, पछाडि परेका विकट भौगोलिक क्षेत्र, अपांगता, भूमिहीन, कमैया तथा बादी समुदायलगायत देशका विभिन्न जाति, वर्ग, लिंग र क्षेत्रले आफ्नो विशिष्ट भाषिक, जातीय र साँस्कृतिक पहिचान र संघीय शासन प्रणालीका लागि गरेको शान्तिपूर्ण संघर्ष लोकतन्त्रलाई जीवन्त, गतिशील र प्रभावकारी बनाउने दिशाका महत्वपूर्ण पाइला हुन भन्ने आत्मसात गर्ने पनि घोषणा पत्रमा उल्लेख गरेको छ। 

कांग्रेसको भूमिका 
विशिष्ट परिस्थितिमा सृजना भएको सरकारको जिम्मेवारीलाई राष्ट्रिय संकटको घडीमा कांग्रेसले निर्वाह गर्दै आएको ऐतिहासिक अभिभाराको निरन्तरताको रुपमा पार्टीले आत्मसात गरेको घोषणा पत्रमा भनिएको छ। 

२०६२/०६३ को जनआन्दोलन, राजतन्त्रको अन्त्य, संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना, एक दशक लामो सशस्त्र संघर्षको शान्तिपूर्ण समाधान, दिगो शान्ति स्थापनामा पार्टीले युगान्तकारी भूमिका निर्वाह गरेको भन्दै कांग्रेसले विगतलाई इतिहासका रुपमा चित्रित गरेको छ। 

घोषणा पत्रमा जनआन्दोलनमार्फत संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएपछि कांग्रेसले अहिले समेत गरी नेपाली राजनीतिको विशिष्ट कालखण्डमा चार पटक सरकारको नेतृत्व गर्ने अवसर पाएको उल्लेख छ। 

‘पहिलो, २०६२/०६३ सालको ऐतिहासिक जनआन्दोलनमा नेतृत्वदायी भूमिका निर्वाह गरेको कारणले जनआन्दोलन सफल भएपछिको सङ्क्रमणकालको नेतृत्व पनि नेपाली कांग्रेसले नै गरेको थियो। नेपाली कांग्रेसका आदरणीय नेता एवं तत्कालीन सभापति गिरिजाप्रसाद कोइराला नेतृत्वको सरकारले संविधानसभाको निर्वाचन स्वतन्त्र, शान्तिपूर्ण र भयरहित वातावरणमा सम्पन्न गरी संविधानसभाद्वारा संविधान निर्माण गर्ने जग बसालेको थियो,’ घोषणा पत्रमा भनिएको छ। 

‘दोस्रो, नेपाली कांग्रेसका तत्कालीन सभापति सुशील कोइरालाको नेतृत्वमा दोस्रो संविधानसभाको निर्वाचनपछि बनेको नेपाली कांग्रेसको सरकारले संविधानसभामार्फत ऐतिहासिक संविधान जारी गर्न सफल भएको थियो। तेस्रो, नेपाली कांग्रेसका सभापति एवं वर्तमान प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारले नयाँ संविधान जारी भएपछि संघीय, प्रादेशिक र स्थानीय गरी तीनै तहको निर्वाचन सम्पन्न गरी संघीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधान कार्यान्वयनको ठोस आधार तयार गरेको थियो,’ घोषणा पत्रमा भनिएको छ, ‘चौथो, नेकपा (एमाले) र पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीको अधिनायकवादी तथा सर्वसत्तावादी प्रवृत्तिको कारणले संविधानसभाद्वारा निर्मित संविधान नै असफल हुने दिशातर्फ उन्मुख भएपछि अहिलेको विशिष्ट परिस्थितिमा संविधान र लोकतान्त्रिक प्रणालीको रक्षार्थ पुनः सरकारको जिम्मेवारी वहन गर्नुपर्ने अपरिहार्य अवस्था सृजना भएको छ।’ 

इतिहास र नेपाली जनताले सुम्पिएको हरेक युगान्तकारी र चुनौतीपूर्ण अभिभारा आफूले इमान्दार र निष्ठापूर्वक निर्वाह गर्दै आएको जिकिर कांग्रेसको छ। 

‘आजको भूमिकालाई पनि हामीले इतिहास र नेपाली जनताले सुम्पिएको चुनौतीपूर्ण अभिभाराको निरन्तरताको रूपमा आत्मसाथ गरेका छौँ,’ उसले भनेको छ। 

२०७४ देखि २०७९ सम्मको अवधिमा निर्वाह गरेको भूमिकाको समीक्षा गर्दै भविष्यको पार्टीको मार्गचित्र तय गरिएको कांग्रेसको भनाइ छ। 

‘यस्तो सुनौलो इतिहास र ऐतिहासिक भूमिकाको सगौरव स्मरण गर्दै अहिले प्राप्त भएको जिम्मेवारी पनि सत्य–निष्ठापूर्वक वहन गरी लोकतन्त्र, संविधान, जनअधिकारको संरक्षण र समुन्नत नेपाल निर्माण गर्नेछौं भनी सम्पूर्ण नेपाली नागरिकसँग प्रतिज्ञा गर्दछौं,’ घोषणा पत्रमा उल्लेख छ। 

संविधानको रक्षा र संविधानकै जगमा समुन्नतिको निर्माण गरी नागरिकको सम्मानित जीवन बाँच्न पाउने अधिकारको सुनिश्चितता नै पार्टीको ध्येय हुने पनि घोषणा पत्रमा लेखिएको छ। 

‘आफ्नै अहंकार र महत्वाकांक्षाको बार्दलीबाट मुलुकको राजनीतिलाई गिजोली जनताको हृदयमा निराशाको हुरी चलाएर यो संविधानलाई नै क्षतविक्षत तुल्याउने र फेरि अर्को अधिनायकवाद जन्माउने कम्युनिस्ट अभीष्टलाई परास्त गरेको नेपाली कांग्रेस पार्टीले कुनै किसिमको असहिष्णु, उग्र राष्ट्रवादी र प्रतिगामी एजेन्डा बोकेर देशलाई अब फेरि द्वन्द्वमा फस्न दिने छैन,’ घोषणा पत्रमा भनिएको छ।  

जनताको जीवन बदल्ने मुद्दालाई नै राष्ट्रिय मुद्दाका रुपमा स्थापित गर्ने दाबी गर्दै कांग्रेसले त्यही नै देशभित्रका अवनतिका जराहरू उखेल्न जन्मिएको पार्टीको अस्तित्वको सार हुने जिकिर गरेको छ।  

‘हामी एउटा स्पष्ट विचार, योजना, उत्साह र संकल्प लिएर समुन्नत नेपालको राष्ट्रिय अभियानमा होमिएका छौँ। समुन्नत नेपालको सुदृढ जग खडा गर्ने यो अभियानमा सबै तहका सरकारहरूले आ–आफ्नो विशिष्ट र अहम् भूमिका निर्वाह गर्नु पर्नेछ,’ घोषणा पत्रमा भनिएको छ, ‘त्यसैले स्थानीयदेखि संघीय तहसम्मै हाम्रो पार्टीको नेतृत्वमा सरकार नबनाई त्यो संकल्प साकार हुन सक्दैन। हामी आम नेपाली दिदिभाइ–दाजुबहिनीलाई भरोसा दिलाउन चाहान्छौँ कि नेपाली कांग्रेस पार्टीले विगतमा जानीनजानी भएका त्रुटि, कमजोरीबाट शिक्षा लिएको छ, ती फेरि दोहोरिने छैनन्।’ 

अन्य पार्टीहरूले जस्तै तीव्र राजनीतिक प्रतिस्पर्धाको भावनामा बगेर विगतका निर्वाचनमा स्थानीय सरकारका अधिकार क्षेत्रभन्दा बाहिरका कुराहरू जोड्दै पूरा गर्नै नसकिने बाचाहरू गरेकोप्रति घोषणा पत्रमार्फत कांग्रेसले क्षमा याचना गर्दै भविष्यमा कमजोरी हुन नदिने प्रण पनि गरेको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .