ad ad

राजनीति


बिहान एमाले छाडेका त्रिपुरासुन्दरीका अध्यक्ष साँझ कांग्रेसमा प्रवेश

भन्छन्–टिकटलाई कांग्रेस आएको होइन्, पुरानो घर फर्किएँ
बिहान एमाले छाडेका त्रिपुरासुन्दरीका अध्यक्ष साँझ कांग्रेसमा प्रवेश

फाइल फोटो


रुपक चौलागाईं
बैशाख ११, २०७९ आइतबार २२:७, काठमाडौँ

आइतबार बिहान मात्रै नेकपा एमाले परित्याग गरेका सिन्धुपाल्चोकको त्रिपुरासुन्दरी गाउँपालिकाका अध्यक्ष भुपेन्द्र क्षेत्री साँझ कांग्रेसमा प्रवेश गरेका छन्।

एमालेले टिकट नदिएपछि उनी कांग्रेस प्रवेश गरेका हुन्। उनी कांग्रेस केन्द्रीय सदस्य समेत रहेका सिन्धुपाल्चोकका नेता मोहन बहादुर, नेता केदार क्षेत्री लगायत उपस्थितिमा प्रवेश गरेका हुन्। 

निर्वाचनको संघारमा गाउँपालिका अध्यक्ष नै कांग्रेस प्रवेश गरेसँगै सिन्धुपाल्चोक एमालेमा भुइँचालो गएको छ।

सिन्धुपाल्चोकमा एमाले छाडेर कांग्रेस रोज्ने उनी मात्रै होइनन्। गत २४ फागुनमा बलेफी गाउँपालिकाका अध्यक्ष केदार क्षेत्री पनि एमाले छाडेर कांग्रेस प्रवेश गरेका थिए। 

उनीहरु दुवै कांग्रेसका प्रभावशाली नेता मोहनबहादुर बस्नेतको क्षेत्रका हुन्। क्षेत्रीलाई बस्नेतले आफू अशक्त हुँदाहुँदै पनि प्रधानमन्त्री समेत रहेका सभापति शेरबहादुर देउवासमक्ष भेट गराएरै पार्टी प्रवेश गराएका थिए। 

निर्वाचन आयोगले मनोनयनको मिति भोलिसम्मको लागि तोकेको छ। मनोनयन दर्ता गर्नुअघि दलहरु धमाधम उम्मेदवारको टुंगो लगाउन ब्यस्त छन्। एमाले सिन्धुपाल्चोकले शनिबार बिहानमात्रै उम्मेदवारको टुंगो लगाएको थियो। 

एमालेले त्रिपुरासुन्दरीको अध्यक्षमा मेघनाथ पौडेललाई अघि सारेपछि श्रेष्ठले आफूमाथि षडयन्त्र भएको नेपालखबरलाई बताएका थिए।

उनले तत्काल कुनै पार्टीमा संलग्न नहुने पनि बताएका थिए। तर, श्रेष्ठ आइतबार साँझ नै कांग्रेस प्रवेश गरेका छन्। 

हिजोसम्म नेकपा एमालेको चुनावी प्रचारमा खटिएका श्रेष्ठ भोलिदेखि कांग्रेसका निर्वाचन क्षेत्रमा खटिने बताउँछन्।

‘छोटो छलफलपछि कांग्रेसतिर’
दिउँसोसम्म तटस्थ बस्छु भन्नुभएको थियो, कांग्रेस प्रवेश गर्नुभएछ नि? भन्ने नेपालखबरको प्रश्नमा उनले भने, ‘अहिले दिउँसो १ घण्टाको वार्तापछि मैले एमाले पार्टी परित्याग गरेर नेपाली कांग्रेस प्रवेश गरेँ।’

एमालेले षडयन्त्रपूर्वक आफ्नो टिकट खोसेपछि आफ्नो सम्पूर्ण शक्ति उसैलाई हराउन लगाउने उनले बताए। 

‘कांग्रेस रोज्नुको पछाडि के हो भने, मलाई नेकपा एमालेले टिकट दिने भनेर खोस्यो। षडयन्त्रपूर्वक टिकट खोसिएपछि अब मैले म गएको पालिकामा त जिताउनुपर्यो,’ उनले भने, ‘जिताउन पनि मैले नेपाली कांग्रेस रोजेको हुँ।’

पुरानै घर
श्रेष्ठका अनुसार उनी ०५१ सालबाट निरन्तर एमालेमा सक्रिय छन्। ०७४ को निर्वाचनमा एमालेबाटै गाउँपालिका अध्यक्षमा निर्वाचित पनि भएका थिए। 

२८ वर्ष लामो एमालेको राजनीतिक यात्रालाई उनले आइतबारबाट टुङ्ग्याएका हुन्। 

‘म ०५१ सालभन्दा अगाडि यो पार्टीमा काम गर्दै आएको थिएँ,’ उनले भने, ‘अहिले यसलाई पुरानै घर सम्झिएर फर्केको हुँ। एमालेमा भएको गुटगत समस्या अत्यन्त खतरनाक भयो।’

उनले अध्यक्ष बन्नका लागि कांग्रेस प्रवेश नगरेको दाबी गरे। ‘म त अध्यक्ष भइ नै सकेँ, रेगुलर त्यो पार्टीले दिएको भए हुन्थ्यो। अर्को पार्टीमा गएर मेरो भूमिका पनि छैन,’ उनले भने।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .