ad ad

राजनीति


एमालेकै भंगालोले भत्काएको दीपकको सपना!

एमालेकै भंगालोले भत्काएको दीपकको सपना!

नेकपा एमाले उपमहासचिव पृथ्वीसुब्बा गुरुङसँग मेयरको टिकट खोसिएका दीपक पौडेल।


वाशुदेव मिश्र
बैशाख १२, २०७९ सोमबार १२:३, पोखरा

नेकपा एमालेले पोखराको मेयरमा पूर्वशिक्षक तथा गण्डकी प्रदेश सचिवालय सदस्य दीपक पौडेललाई उम्मेदवार बनाउने निर्णयसँगै शनिबार एउटा भिडियो सामाजिक सञ्जालमा भाइरल बनाइयो।

भिडिओमा पौडेल जस्तै देखिने व्यक्तिले सुन पसलबाट गहना गोजीमा हालेको देख्न सकिन्छ। 

भिडिओ सार्वजनिक भएसँगै दीपकको विपक्षमा ‘जेहाद’ छेडियो। जेहाद छेड्नेहरूमा एमालेभित्रकै एउटा समूह थियो। 

सामाजिक सञ्जालमा त्यो भिडिओलाई यति व्यापक बनाइयो कि दीपकले प्रष्टीकरण दिने मौका पनि पाएनन्। 

स्रोतका अनुसार भिडिओ बोकेर एमालेकै एउटा समूह पार्टी अध्यक्ष केपी शर्मा ओलीकहाँ पुग्यो। 

सुरुमा अध्यक्ष ओलीले भिडिओलाई महत्व दिएनन्। दीपककै पक्षमा अडिग रहे। 

उता, एमाले केन्द्रीय सदस्य तथा पोखराकी उपमेयर मञ्जुदेवी गुरुङले पनि उपमेयरमा आफ्नो नाम आएकोमा आश्चर्य प्रकट गरिन्। 

उक्त पदमा रुचि नभएको प्रतिक्रिया दिइन्। पार्टीमा आफूभन्दा तल्लो कमिटी सदस्यलाई मेयरको उम्मेदवार बनाइएकोमा उनी रुष्ट थिइन्। 

टिकट दिए मेयर बन्ने तर उपमेयरमा नउठ्ने अडानमा रहेकी उनको अडानले पनि पार्टी नेतृत्व अप्ठेरोमा पर्‍यो। 

स्थिति जटिल बनेसँगै एमाले सचिवालय बैठकले दीपकलाई दिइएको मेयरको टिकट खोस्यो। उनको ठाउँमा प्रदेश सांसद कृष्ण थापालाई मेयरको उम्मेदवार बनाउने निर्णय गर्यो। 

‘दीपक कमरेडमाथि पार्टीकै साथीहरुले प्रहार गर्नुभयो, उहाँको राजनीति सिध्याउने प्रपञ्च भयो’, एकजना एमाले नेताले भने,‘विपक्षीसँग लड्न सजिलो हुन्छ, मित्रसँगको संघर्ष डरलाग्दो हुन्छ भन्ने फेरि प्रमाणित भयो।’ 

खासमा दीपक पौडेल एमाले उपमहासचिव पृथ्वीसुब्बा गुरुङ, सचिव पद्मा अर्याल र अर्का नेता जगत विश्वकर्माको जोडबलमा मेयरको उम्मेदवार बनाइएका थिए। 

यो निर्णयविरुद्ध स्थायी समिति सदस्य तथा संगठन विभाग प्रमुख खगराज अधिकारीहरु सुरुदेखि नै विपक्षमा थिए। 

कास्कीमा आएर पृथ्वीसुब्बाले गुटगत राजनीति गर्न खोजेको आरोप लगाउँदै आएको उक्त समूह मेयरमा प्रस्तावित १२ जनामध्येबाट चुनाव गराएर आफू अनुकूलका कृष्ण थापालाई नै मेयर बनाउन चाहन्थ्यो।

तर, केन्द्रको हस्तक्षेपले त्यो सम्भव भएन। १२ जनाकै नाम केन्द्रमा पुग्यो। सशंकित त्यो समूहले दीपक मेयरको उम्मेदवार भएसँगै रणनीति परिवर्तन गर्‍यो।

चरित्रमाथि प्रश्न उठाएर सामाजिक सञ्जालमा हंगामा मच्चायो। र, टिकट खोस्ने सफलता पायो। 

‘गण्डकीमा देखिएको एमालेभित्रको दुवै समूह एउटै नदीका भंगालो हुन्। दुवै समूह अध्यक्ष केपी ओलीकै परिक्रमा गर्छन्। तर फरक के छ भने एउटाको प्रदक्षिणा पथ दायाँ र अर्कोको बायाँ हुन्छ’,ती एमाले नेता भन्छन्,‘नदीमा भंगालो हुँदा त्यसले छेउछाउको जमिन हान्छ, भएको त्यही हो।’ 

उनले एमालेमा पछिल्लो समयको लडाइँकै कारण विभाजित मानसिकता बोकेर चुनावमा होमिनुपर्ने अवस्था आएको पनि जिकिर गरे। 

‘विपक्षीले भए चुनावको नजिकतिर प्रहार गर्थे, यहाँ त सुरुमै प्रहार भयो’,उनले भने,‘एउटाले बाटो छेकेको रिस अर्काले गौँडा कुरेर नफेर्ला भन्ने छैन।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .