ad ad

राजनीति


ललितपुरमा चिरीबाबु र हरिकृष्णको ‘दोस्रो जम्काभेट’

कांग्रेसको मनोनयनमा झल्किएन गठबन्धन संस्कार
ललितपुरमा चिरीबाबु र हरिकृष्णको ‘दोस्रो जम्काभेट’

सागर न्यौपाने
बैशाख १२, २०७९ सोमबार २०:४८, काठमाडौँ

एकै जोडी दुई–दुईचोटि चुनावी प्रतिस्पर्धामा उत्रिएको रोचक दृश्य हेर्न ललितपुर महानगरपालिका जानुपर्ने भएको छ। नेपाली कांग्रेसका नेता एवं ललितपुर महानगरपालिकाका बहालवाला मेयर चिरीबाबु महर्जन र नेकपा एमालेका नेता हरिकृष्ण व्यञ्जनकारबीच ५ वर्षपछि  फेरि एउटै मैदानमा ‘दोस्रो जम्काभेट’ भएको हो।  

वैशाख ३० गते हुने चुनावमा ललितपुर महानगर प्रमुखमा दुवैले सोमबार उम्मेदवारी दर्ता गराएका छन्। ०७४ सालमा पनि उनीहरूबीच कडा प्रतिस्पर्धा भएको थियो। सो निर्वाचनमा कांग्रेस नेता महर्जन एमाले नेता व्यञ्जनकारलाई ३१६ मतको झिनो अन्तरले हराएर महानगरको चाबी लिन सफल भएका थिए। कांग्रेसका महर्जनले २४ हजार ६४२ मत ल्याउँदा व्यञ्जनकारले २४ हजार ३१६ मत पाएका थिए।

पाँच वर्षपछि फेरि हुन लागेको चुनावमा उनै व्यञ्जनकार र महर्जनबीच दोस्रो प्रतिस्पर्धा हुने भएको हो। यसपटक कांग्रेस नेता महर्जन सत्ता गठबन्धनबाट साझा उम्मेदवार बनाइएका छन्। एमाले नेता व्यञ्जनकार भने एक्लै चुनावी मैदानमा उत्रिएका छन्। 

ललितपुर महागरपालिकामा गत पाँच वर्षमा करिब १० हजार मतदाता थपिएका छन्। ०७४ को स्थानीय चुनावमा ललितपुर महानगरमा  महिला ५८ हजार ३३३ र पुरुष ५४ हजार ५८९ गरी कुल एक लाख १२ हजार ९२२ मतदाता थिए। अहिले बढेर महिला ६३ हजार ४३७ र पुरुष ५९ हजार ४५३ गरी कूल मतदाताको संख्या १ लाख २२ हजार ८९० पुगेको छ। स्थानीय तहको निर्वाचनमा यही मत निर्णायक हुने देखिएको छ।

अघिल्लो चुनावमा ३ सय २६ मतले मात्र पराजित भएकाले अहिले थपिएको मतदाताबाट मद्दत पाउने अपेक्षा व्यञ्जनकारले गरेका छन्। बहालवाला महानगर प्रमुख रहेका महर्जन गठबन्धनको भरमा छन्। उता अघिल्लो चुनावमा माओवादी केन्द्रका प्रमुख उम्मेदवारले ल्याएको १० हजार ६६१ मत नै आफ्नो जितका लागि निर्णायक हुने महर्जनले विश्वास लिएका छन्।

दाेस्रो इनिङका लागि टिकट पाउन महर्जनले निकै मिहेनत गर्नुपरेको थियो। पार्टीमा प्रेमकृष्ण महर्जन र पूर्व संविधान सभा सदस्य चन्द्र महर्जनलाई पाखा लगाउँदै महर्जनले टिकट पाएका छन्। ललितपुर महानगरमा टिकट पाउनु नै जित जस्तै भएको कांग्रेसका नेताहरू बताउँछन्। 

महानगर प्रमुख भएर चिरीबाबुले कामै गर्न नसकेको भन्दै रुष्ट मतदाता फकाउन सकिने दाउमा एमालेका व्यञ्जनकार छन्। नेपालखबरसँग कुरा गर्दै उनले आफू बलियो उम्मेदवार भएको दाबी गरे। ‘हामी महानगरको शेर हौँ, जनता हाम्रो पार्टीतिर आकर्षित छन्। माधव नेपालको पार्टीमा जम्मा २६ जना गएका छन्, माओवादीको अवस्था निकै खस्किएको छ’, व्यञ्जनकारले भने, ‘कांग्रेसप्रति जनता खुसी छैनन्, चिरीबाबुले केही काम गरेनन्, उनीसँग जातीय समुदाय रिसाएका छन्।’

एमालेले अघिल्लो चुनाव आफ्नै कारण हारेकोले अब त्यो गल्ती नगर्ने बताएको छ। ‘२०७४ को चुनाव हामीले आफ्नै कमजोरी र तयारी गर्न नजानेर हारेका हौँ, जनतालाई कन्भिन्स पनि गर्न सकेनौँ, त्यसबेला भएका थुप्रै गल्ती अहिले सुधार गरेका छौँ। जितको बलियो आधार यही हो, अब गठबन्धनले भ्याउँदैन’, उनले भने।  

अघिल्लोपटक पाएको मत संख्या कायम राखेर र अहिले थपिएको मतको आधा बढी तान्न सके महानगरमा सहज जित हात पार्न सकिने एमालेको आकलन छ। त्यही भएर उसले अघिल्लो पटक चुनावमा उठेकै व्यञ्जनकारलाई एमालेले फेरि उम्मेदवार बनाएको छ।

व्यञ्जनकार एमालेको केन्द्रीय सदस्य तथा ललितपुर सहइन्चार्ज हुन्। उनी २०७० देखि २०७५ सम्म एमालेको जिल्ला अध्यक्ष भएका थिए। २०७५ जेठ ३ गते माओवादी केन्द्रसँग एकता गरेर बनेको नेकपाको पनि उनी २०७७ सम्म जिल्ला अध्यक्ष थिए। 

च्यासलको श्रमिक शान्ति उच्च माविको व्यवस्थापन समिति अध्यक्ष रहेका उनी थपिएका मतदाता एमालेकै पक्षमा आउने विश्वासमा छन्। ज्यापु समाज, च्यासल, भोलढोका लगायतका ठाउँबाट व्यञ्जनकारलाई राम्रो मत खस्ने एमालेको आकलन छ। महर्जन, अवाले समाजको मत तान्ने प्रयासमा व्यञ्जनकार छन् ।

मनोनयनमा झल्किएन ‘गठबन्धन’ 
नेपाली कांग्रेसका गण्डकी प्रदेश समितिका नेता यज्ञबहादुर थापा र माओवादी केन्द्रका गण्डकी इञ्चार्ज हितराज पाण्डेलाई दायाँबायाँ राखेर पोखरा महानगरपालिका प्रमुख पदमा नेकपा एकीकृत समाजवादीका धनराज आचार्यले  सोमबार उम्मेदवारी दर्ता गराए। मनोनयन गराएपछि सञ्चारकर्मीलाई संक्षिप्त प्रतिक्रिया दिँदै उनले महानगरमा उम्मेदवारी आफ्नो र मेरो होइन, हाम्रो हो समेत भने। तर, ललितपुर महानगरमा भने त्यो भन्दा बेग्लै दृश्य देखियो। 

देशकै संघीय राजधानी समेत रहेको काठमाडौं महानगरपालिका प्रमुखमा नेपाली कांग्रेसकी सिर्जना सिंहले पनि एकीकृत समाजवादीका नेता एवं उपप्रमुखका उम्मदेवार रामेश्वर श्रेष्ठलाई सँगै लिएर उम्मेदवारी दर्ता गराइन्। उनका साथमा कांग्रेसका महामन्त्री गगन थापा र नेता प्रकाशमान सिंह लगायतका चर्चित नेता पनि थिए। 

चितवनको भरतपुर महानगरपालिका प्रमुख र उपप्रमुख उम्मेदवारी दर्ता गराउन माओवादी केन्द्र, कांग्रेस, एकीकृत समाजवादी पार्टीका नेताहरू मुख्य निर्वाचन कार्यालय पुगेका थिए। भरतपुरको प्रमुखमा माओवादीकी रेनु दाहाल र उपप्रमुख पदमा कांग्रेसका चित्रसेन अधिकारीले एकैपटक उम्मेदवारी दर्ता गराए। 

ललितपुर जिल्लामा पनि पाँच दलीय गठबन्धन छ। ललितपुर महानगर कांग्रेसको भागमा परेको छ। तर, उम्मेदवारी दर्ता गर्दा ललितपुर महानगरपालिकामा गठबन्धन भएको झल्को नै देखिएन। 

पञ्चेबाजासहित महानगरपालिका प्रमुख पदको उम्मेदवारी दर्ता गर्न चिरीबाबु महर्जन जावलाखेलस्थित मुख्य निर्वाचन कार्यालय पुग्दा दिनकोेको ३ बजिसकेको थियो। उनका दायाँ नेपाली कांग्रेसका केन्द्रीय सदस्य जितजंग बस्नेत र बाँया संविधानसभा सदस्य चन्द्र महर्जन थिए। तर, न उनीसँग गठबन्धनका अन्य दल थिए, न त उपप्रमुख बनेका माओवादी केन्द्रका बाबुराज बज्राचार्य नै।

कांग्रेस केन्द्रीय सदस्य तथा ललितपुरका पूर्व सभापति मदन अमात्य पनि महर्जनसँग उम्मेदवारी दर्ता गर्ने कार्यक्रममा थिएनन्। मुख्य निर्वाचन कार्यालय जाने गेटभित्र प्रवेश गरेपछि केही नेता र कार्यकर्ताको शुभकामना लिनुबाहेक महर्जनलाई गठबन्धनका नेकपा एकीकृत समाजवादी पार्टी, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाको साथ देखिएन।

माओवादी केन्द्रले पाएको उपप्रमुखमा बाबुराज बज्राचार्यले उम्मेदवारी मनोनयन गर्दा दिनकोे २ बजेको थियो। उनले माओवादीका केन्द्रीय सदस्य हरि दाहाल, दिनेश महर्जन, जिल्ला नेता सरोज सिंहलगायत सीमित नेता लिएर उम्मेदवारी मनोनयन गराए। 

सोमबार बिहान ११ बजे अन्तिम समयमा महानगरको प्रमुख पदको टिकट पक्का गरेका महर्जन गठबन्धनका साझा उम्मेदवार बनेको त्यो घटनाले मात्र होइन, निर्वाचन कार्यालयमा उपस्थित नेता÷कार्यकर्ताको भनाइले पनि पुष्टि गरेको थियो।

माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा ललितपुर इन्चार्ज हरि दाहालले ललितपुर महानगरका कुनै वडा बाँडफाँटका विषयमा कांग्रेसले छलफल गर्न नचाहेको गुनासो गरे। ‘ललितपुरको महालक्ष्मी नगरपालिका बागमती र कोञ्ज्योसोम गाउँपालिकामा मात्र गठबनधनबीच सहमति जुटेको छ’, दाहालले भने, ‘महानगरको वडा बाँडफाँटमा छलफल गर्न कांग्रेस तयार भएन। सम्पर्कमै आएन।’

दाहालको भनाइ पुष्टि गर्ने दृश्य मुख्य निर्वाचन कार्यालयमा पनि देखिएको थियो। महानगरपालिकाको अधिकतर वडामा माओवादी केन्द्र, कांग्रेसले एक्ला एक्लै सेट बनाएर मनोनयन गरेका छन्। गठबन्धनमा सहमति नजुटेको भन्दै कांग्रेसले सबै ठाउँमा उम्मेदवारी दिएपछि आफूहरूले पनि दिएको दाहालले बताए।

ललितपुर कांग्रेस सभापति जितेन्द्र श्रेष्ठले सहमतिको प्रयास भइरहेको बताए। ‘उम्मेदवारी मनोनयनपछि पनि सहमतिको प्रयास हुन्छ’, श्रेष्ठले भने, मिलेका ठाउँमा गठबन्धन छ, नमिलेका वडा हामी मिलाएर चुनावमा होमिन्छौँ।’
किन साझा बन्न सकेनन् महर्जन ?

पोखरा महानगरको प्रमुख उम्मेदवार आचार्यले गठबन्धनको साझा उम्मेदवार भएकोले घोषणापत्र पनि साझा बनाउने बताएका थिए। तर, त्यही गठबन्धनबाट ललितपुर महानगर प्रमुख बनेका महर्जन साझा बनेका देखिएनन्।

एमालेका व्यञ्जनकारले १ बजेर २० मिनेटमै ललितपुर महानगरपालिकाको प्रमुख पदमा उम्मेदवारी दर्ता गराएका थिए। एक्लै चुनावमा होमिएको एमालेले उम्मेदवारी मनोनयन गर्दा सामूहिकताको झल्को दिने प्रयास गरेको थियो।

महानगरका अधिकांश वडाअध्यक्ष, सदस्यले प्रमुख व्यञ्जनकार र उपप्रमुख मञ्जली शाक्यसँगै उम्मेदवारी  मनोनयन गराएका छन्। तर, महर्जन गठबन्धनका साझा उम्मेदवार बन्न नसकेको उपस्थितहरू प्रतिक्रिया दिइरहेका थिए।

एकजना जिल्ला तहका नेताले कांग्रेसमा दम्भ बढेको भनेर प्रतिक्रिया दिए। ‘कांग्रेसले दम्भ देखायो,’ ती नेताले टिप्पणी गर्दै भने, उम्मेदवारी दर्तामा देखिएको दृश्य भोलि मत माग्न जाँदा पनि देखियो भने के हुन्छ?’
महर्जन आफैंले भने यसबारे केही प्रतिक्रिया दिएका छैनन्। मुख्य निर्वाचन कार्यालयमा दिनभर उपस्थितहरूको कुरा

सुन्दा गठबन्धनकै कारण चुनावी रौनक घटेको बताउँथे। ‘चुनावी रौनक जसरी हुनुपथ्र्याे त्यो भएन, यसको मुख्य कारण गठबन्धनले बनाएको अविश्वास हो,’ नमराज ढुङ्गानाले भने, ‘यसले चुनावी नतिजालाई प्रभाव पार्न सक्छ।’

ललितपुर महानगरपालिकामा यसअघि एमाले र कांग्रेसबीच कडा प्रतिस्पर्धा भएको थियो। यसपालि पनि ललितपुरमा पुरानै उम्मेदवारबीच रोचक प्रतिपर्धा हुँदै छ। साझा पार्टीका रमेश महर्जनको कोरोनाका कारण निधन भइसकेको छ। उनले पाएको १३ हजार ४५८ भोट यसपटक साझा पार्टीले सुरक्षित गर्छ, गर्दैन स्पष्ट छैन। तर, माओवादीले ०७४ सालमा पाएको १० हजार भोट गठबन्धनका उम्मेदवार चिरीबाबुलाई थपिने अनुमान गर्न सकिन्छ। नयाँशक्ति पार्टी जसपा बनेको हुनाले ऊसित रहेको ५/७ सय भोट पनि गठबन्धनतिरै जाने देखिन्छ। 

यसअघि आफूले जितेको महानगर भएकाले साख बचाउनुपर्ने चुनौती नेपाली कांग्रेसलाई छ भने यसअघि वामपन्थीको गढ मानिएको ललितपुरमा ३१६ मतले हारेको एमाले पनि यसपालि जित निकाल्नैपर्ने दबाबमा छ। तर, कांग्रेसले बनाएको गठबन्धन एमालेका लागि थप चुनौतीको विषय बनेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .