ad ad

राजनीति


पोखराको चुनावी सभाबाट सत्ता गठबन्धनको तीन सन्देश

ओलीविरुद्ध एक स्वर, मत चुहिन नदिने प्रयास
पोखराको चुनावी सभाबाट सत्ता गठबन्धनको तीन सन्देश

पोखराको चुनावी सभामा प्रधानमन्त्री शेरबहादुर देउवा। तस्बिर : रासस


वाशुदेव मिश्र
बैशाख २५, २०७९ आइतबार १६:२४, पोखरा

नेताहरुका लागि दिल ‘बहलाउने’ ठाउँ हो, पोखरा।  

तर, आइतबार देशका प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, पूर्वप्रधानमन्त्रीद्वय माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसँग त्यो फुर्सद थिएन। 

उनीहरु हतारमा थिए। ‘हेलिकोप्टर म्यारथन’को क्रममा पोखरा आएका उनीलाई यहाँको ५ दलीय गठबन्धनको चुनावी सभा सकेर दाङ र धनगढी पुग्नु थियो। 

पोखरामा गठबन्धनको तर्फबाट मेयरका उम्मेदवार बनेका एकीकृत समाजवादीका नेता धनराज आचार्य र उपमेयरकी कांग्रेसी उम्मेदवार कोपिला रानाभाटको पक्षमा मत माग्न आएका उनीहरुले सबैले संक्षिप्त मन्तव्य व्यक्त गर्दै एमाले अध्यक्ष केपी शर्मा ओलीमाथि नै प्रहार गरे।

उनीहरुले ओलीको व्यक्तित्व क्षयीकरण, गठबन्धन कसिलो बनाउने र एकीकृत चुनावी अभियानमा जोड दिँदै भोट चुहिन नदिने रणनीति देखाए।

छोटो बोल्ने देउवाकै शैली पच्छ्याएका अन्य दुईजना नेताले पनि एमाले अध्यक्ष ओलीलाई आक्षेप लगाउँदै गठबन्धनको औचित्य पुष्टिमा समय खर्चे।

 र, उनीहरुले गठबन्धनबाट मत ‘चुहिने’ सम्भावना अन्त्यको प्रयास गरे। 

तीन सन्देश 

१. ओली व्यक्तित्वको क्षयीकरण
एमाले अध्यक्ष केपी ओलीकै कारण विद्रोह गर्न अभिशप्त  माधवकुमार नेपालले ओलीलाई प्रतिगमनकारी र गणतन्त्रविरोधीको ‘ट्याग’ पहिर्‍याउन भरमग्दुर प्रयत्न गर्नु अन्यथा थिएन। 

उनले ओली व्यक्तिवादी,कुसंस्कारी र गणतन्त्र विरोधी भएको जिकिर गरे। गणतन्त्र ल्याउनमा कुनै योगदान नै नभएकाले ओलीसँग लोकतन्त्र,गणतन्त्र र संविधानको माया नभएको पनि नेपालको आरोप थियो। 

‘केपी ओलीले दुई–दुई पटक संविधानले नदिएको अधिकार प्रयोग गरेर प्रतिनिधिसभा भंग गरेका छन्। अदालतले पहिलो  पटक पुनर्जीवित गर्‍यो तर उनले चेतेनन्। उनले दोस्रोपटक पनि संविधानको हत्या गर्ने प्रयत्न गरेका थिए', उनले भने, 'बयलगाडा चढेर अमेरिका जानु र आन्दोलनको भरमा गणतन्त्र ल्याउनु उस्तै-उस्तै हो भन्ने व्यक्ति, यो देशमा टाउको फोडे पनि राजाको शासन ढाल्न सकिँदैन भन्ने व्यक्ति विडम्बनापूर्ण रुपले गणतन्त्रको प्रधानमन्त्री बन्न पुगे। २०३२ सालमा नेकपा कोर्डिनेसन केन्द्र बनाउँदा, ३५ सालमा माले बनाउँदा र ४७ सालमा एमाले बनाउँदा ओलीको कुनै भूमिका थिएन। त्यसैले यिनमा कम्युनिष्ट आदर्श नै छैन।’ 

सत्ता गठबन्धनका अरु नेताको ‘तारो’ओली भएकोमा कुनै द्विविधा छैन। माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले पनि माधव नेपालकै बाटो समाते। 

तुलनात्मक रुपमा नरम देखिएका उनले लोकतन्त्र, संघीयता र समावेशीताविरुद्ध विरुद्ध अघिल्लो वर्ष गम्भीर षड्यन्त्र भएको आरोप लगाए।  

ओलीको नाम नलिइ उनले अहिले त्यही उद्देश्यले  राजावादीहरुको गठबन्धन बनेको बताए। 

‘गणतन्त्र विरोधीहरूको गठबन्धन जो आएको छ, त्यसलाई परास्त गर्न आवश्यक छ। अन्यथा देशमा फेरि राजनीतिक दुर्घटनाको खतरा छ। यो गठबन्धन देशलाई राजनीतिक दुर्घटनाबाट बचाउन जन्मिएको हो,’ उनले भने। 

कांग्रेस सभापति शेरबहादुर देउवा पनि के कम! उनले त ओली संसदीय व्यवस्थाकै विरोधी भएको आरोप लगाए। 

असंवैधानिक रुपले संसद नै भंग गरेको र पुनःस्थापित संसद  चल्न नदिएको दृष्टान्त उनले पेश गरे। ‘ओली र ओलीको पार्टी प्रजातन्त्रको पक्षमा हुनुहुन्न। उहाँ प्रजातन्त्र,गणतन्त्र  र संघीयताको खिलापको व्यक्ति हो। उहाँको अर्कै षड्यन्त्र छ’, उनले भने। 

तीनैजना शीर्ष नेताले लोलीमा बोली मिलाएबाट प्रष्ट हुन्छ,‘गठबन्धनकारी दलको प्रतिस्पर्धा एमालेसँग छ। एमालेमा बहु पद भए पनि एकल नेतृत्व छ, ‘ओली भनेकै एमाले र एमाले भनेकै ओली।’ 

यस्तो मान्यता स्थापित भएको बेला ओलीलाई कमजोर बनाउँदा सिंगो एमाले कमजोर हुन्छ भन्ने नेताहरुले बुझेका छन्। 

त्यसैले उनीहरुले एकोहोरो ओलीमाथि प्रहार गरे। उनीहरु कति सफल भए वा हुन्छन् ? समयले बताउला तर ओलीलाई असफल सावित गर्दै सिंगो एमालेलाई कमजोर बनाउन तीनजना नेताले भरमग्दुर प्रयत्न गरे। 

२.गठबन्धन जोगाउनु 
 गठबन्धनको टाउको मिलेको छ तर तल्लो स्तरसम्मै गठबन्धन हुन सकेको छैन। पोखरामै पनि वडातहसम्म गठबन्धन हुन सकेको छैन। 

कतिसम्म भने जनता समाजवादीका नेता  डा.बाबुराम भट्टराईले त स्थानीय तहका मुद्दा फरक हुने भएकाले गठबन्धन होइन।

मित्रवत प्रतिस्पर्धा हुनुपर्ने धारणा सार्वजनिक गरिसकेका छन्। बाबुराम र उपेन्द्र यादवहरू चुनावी दौडाहामा सँगै छैनन्। यस्तोमा गठबन्धन जोगाउँदै कार्यकर्तालाई एउटै ठाउँमा मतदान गराउनु ‘फलामको च्युरा चपाए’जस्तै छ। 

गठबन्धन मन नपराउने कार्यकर्तालाई फकाउन नसके त्यसको असर चुनावी परिणाममा देखिन्छ। त्यहीकारण अन्ततः २०७४ सालको जस्तै अर्को गठबन्धन जन्मिने सम्भावना रहन्छ। 

यही बुझेर प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवाले गठबन्धनले सबैभन्दा बढी फाइदा कांग्रेसलाई नै भएको भन्दै कार्यकर्ता आश्वस्त बनाउन खोजे। 

उनले घुमाउरो पाराले गठबन्धन जोगिँदामात्रै सरकार जोगिने भएकाले गठबन्धन जोगाउन पनि फरक दलका उम्मेदवारलाई मत दिन कांग्रेस कार्यकर्तालाई आग्रह गरे। 

उनले महानगर र उपमहानगर बाँडफाँटमा प्रचण्ड र माधव नेपालले उदारता देखाएको जिकिर गरे। 

गठबन्धन बन्नुअघि कस्तो अवस्था थियो, कांग्रेसको? त्यसैले नेपाली कांग्रेसको तर्फबाट कुनै शंका गर्नुहुँदैन। गर्‍यो भने कारवाही गरिहाल्छ पार्टीले। माधव नेपाल र प्रचण्डजीले हामीलाई उदार भएर सहयोग गर्नुभएको छ। ५ वटा महानगरमा कांग्रेसले धेरै महानगर पाएको छ', उनले भने, 'विराटनगर हामीले लिएका छौँ, काठमाडौं हामीलाई दिनु भएको छ। एउटा माधव नेपालले पोखरा लिनुभएको छ। प्रचण्डजीले एउटा भरतपुर लिनुभएको छ। उहाँहरुको योगदानले कांग्रेसलाई सरकारमा ल्याएको छ। कांग्रेसको त कर्तव्य नै हो सहयोग गर्ने।’

पोखरामा  कांग्रेसको सहयोगबिना एकीकृत समाजवादीका नेता धनराज र चितवनमा  माओवादी केन्द्रकी मेयरकी उम्मेदवार रेणु दाहाल अप्ठेरोमा पर्ने निश्चित छ। त्यसलै तीनैजना नेताले बाँडफाँट भएका क्षेत्रमा एकले अर्कालाई सघाउनुपर्नेमा विशेष जोड दिए। सहयोग नभए गठबन्धन अप्ठेरोमा पर्ने ‘तुरूप’ प्रयोग गरे। 

आफ्नो भागमा परेको पोखरामा आएका माधव नेपालले त अझ अगाडि सरेर भने, ‘कहिलेकाहीँ हामी कम्युनिष्टहरू बलियो भएको दम्भ राख्छौँ त  कहिले कांग्रेस हामी बलियो छौँ भन्ने दम्भ राख्छौँ । हामी बलियो छौँ भन्ने दम्भ राख्नु हुँदैन। दम्भ राख्यो भने सबैको विनाश हुनसक्छ। दम्भले केपी ओलीलाई सक्कायो,अरुलाई पनि सक्काउँछ।’  

प्रचण्डले चाहिँ गठबन्धनले सबै दललाई फाइदा भएको जिकिर गरे। ‘एकातिर राजनीतिक मुद्दा मिल्ने अर्कोतिर फाइदा हुने भएकाले गठबन्धन हुने हो। ५० प्रतिशत कांग्रेसलाई फाइदा, माओवादीलाई पनि फाइदा ,एकीकृत समाजवादीलाई पनि फाइदा, जनमोर्चालाई पनि फाइदा, जनता समाजवादीलाई पनि फाइदा छ’,भन्ने उनको अभिव्यक्ति दिनुको मकसद गठबन्धन बलियो बनाउनु र कांग्रेसी मतदाता फकाउनु नै थियो। 

३. एकीकृत चुनावी अभियान गर्ने, कटुता हटाउने  
तीनजना नेताले दिएको अन्तिम सन्देश थियो,‘भोट क्रस नहोस्।’ केन्द्रमा नेता मिले पनि चुनावको मुखमा कार्यकर्ताहरु मिल्न सकेका छैनन्। कतिसम्म भने कार्यक्रम कसले संचालन गर्ने र जनपरिचालन कसरी गर्ने भन्नेसम्ममा दलहरुबीच मतैक्य छैन। 

जसले गर्दा गठबन्धन बाहिर हेर्दा ठूलो र भित्र कमजोर देखिएको छ। गठबन्धनकारी दलहरु आ–आफ्ना संगठित कार्यकर्ताको नामावली लिएर बसेका छन् तर समर्थकलाई कसरी मनाउने भन्नेमा खासै लागेका छैनन्। 

रुखबाहेक अरु चुनाव चिन्ह ‘नचिन्ने’ कांग्रेसी र वापमन्थीबाहेक अन्यत्र हात लम्काउन धकाउने कम्युनिष्टबीच एकअर्कालाई मत दिन लगाउन सजिलो छैन। 

यसको लागि केन्द्रका नेता मिलेर हुँदैन। जसले गर्दा मत चुहिने सम्भावना बढी छ। यस्तो प्रवृत्ति रोक्न कार्यकर्ता पंक्तिको सक्रियता जरुरी हुन्छ। नेताहरुले घुर्क्याउने शैलीमै सही,कार्यकर्तालाई मत नचुहाउने अभियान थाल्न निर्देशन दिएका छन्। 

माधव नेपालले लोकतन्त्र ल्याउन कांग्रेस र वामपन्थीको समान भूमिका रहेको अभिव्यक्ति तथा  प्रचण्डले गठबन्धन लोकतन्त्र र स्थायित्वको लागि भएको भन्दै आउँदो प्रदेश एवं संघीय चुनावसम्मै कायम रहन्छ भन्नुको अन्तर्यको चुरो यही थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .