ad ad

राजनीति


मत माग्दै ओलीको ६७ बुँदे अपील : कांग्रेसमाथि आरोपै आरोप

माओवादी र एकीकृत समाजवादीप्रति नरम
मत माग्दै ओलीको ६७ बुँदे अपील : कांग्रेसमाथि आरोपै आरोप

फाइल तस्बिर


केशव सावद
बैशाख २५, २०७९ आइतबार १९:४२, काठमाडौँ

स्थानीय तह निर्वाचनको मिति नजिकिँदै जाँदा प्रमुख प्रतिपक्षी नेकपा एमाले सत्ताको नेतृत्व गरिरहेको नेपाली कांग्रेसविरुद्ध आक्रामक शैलीमा प्रस्तुत भएको छ। 

तत्कालीन नेकपा विघटनपछि फेरि अस्तित्वमा आएको नेकपा माओवादी केन्द्र र आफूबाट चोइटिएर बनेको नेकपा एकीकृत समाजवादीलाई कम प्रहार गर्दै एमाले नेताहरु सत्तारुढ कांग्रेसप्रति आक्रामक देखिएका हुन्। 

वैशाख ३० गते हुन गइरहेको निर्वाचनका लागि ६७ बुँदे अपीलमार्फत एमालेले कांग्रेसमाथि दर्जनौँ आरोप लगाएर मतदाता रिझाउने प्रयास गरेको छ। 

स्थानीय तह, प्रदेश र संघबीच उचित समन्वय र सहकार्य गर्दै संविधानको प्रभावकारी कार्यान्वयन गरिरहेका बेला कांग्रेसको षड्यन्त्र चरम उत्कर्षमा पुगेको भन्दै एमालेले आक्रोश पोखेको छ। 

‘स्थानीय तह, प्रदेश र संघबीच उचित समन्वय एवम् सहकार्य गर्दै संविधानको प्रभावकारी कार्यान्वयन गर्दै थियौँ,’ अध्यक्ष केपी शर्मा ओलीद्वारा हस्ताक्षरित अपीलमा भनिएको छ, ‘नेपाली कांग्रेसको षडयन्त्रले चरम उत्कर्ष लियो।’ 

कांग्रेसले सुशासन र विकासको मार्गमा तीब्र गतिमा अघि बढिरहेको देशलाई राष्ट्रियता, लोकतन्त्र र जनताप्रतिको कर्तव्यबोधका कमजोर रहेका तत्वहरूलाई खोजेर राजनीति र देश हितविपरीत बाटो समातेको एमालेको बुझाइ छ। 

कांग्रेसले राजनीतिक दलको आधारभूत मर्ममाथि प्रहार गरेर संसदीय मूल्य र मान्यतालाई नै कुल्चिएको अपीलमा आरोप लगाइएको छ। 

‘संसद्ले सरकार निर्माण गर्ने संसदीय शासन प्रणालीको आदर्शको उपहास ग¥यो,’ एमालेको अपीलमा भनिएको छ, ‘संसदलाई राजनीतिक निर्णयको थलो हुन नदिई बन्धक बनायो। स्वतन्त्र न्यायपालिकामाथि आघात पु¥यायो।’

कांग्रेसले आफू सरकारमा रहँदा संसदमा आफ्नै सरकारको वार्षिक नीति तथा कार्यक्रम फेल गर्ने, आफ्नै सरकारविरुद्ध अविश्वास प्रस्ताव पेश गर्ने, बिना कारण अन्य दलका सरकारविरुद्ध अविश्वासको प्रस्ताव पेश गर्ने गरेको एमालेको दाबी छ। 

सांसदलाई विदेशसमेत लगी बन्धक बनाएको, संविधानबमोजिम ताजा जनादेशमा जाने सरकारको निर्णयविरुद्ध मुद्दा–मामिला गरेर पटक–पटक अदालत गएको, महाभियोगको डर–त्रास देखाएर अदालतको स्वतन्त्रता हनन गरेको, संसद भंग गरेर राजालाई सत्ता सुम्पिएको अपीलमा आरोप लगाइएको छ। 

संसदबाट निर्वाचित प्रधानमन्त्रीको पद त्याग गरेर राजाबाट नियुक्त प्रधानमन्त्रीको पद खाने, देश–जनता–राजनीतिलाई चरम अन्धकारमा धकेल्न सशस्त्र द्वन्द्वलाई मार्गप्रशस्त गर्ने, निजामती सेवा नै खल्बलिने गरी निजामती कर्मचारीलाई बर्खास्त गर्ने, राष्ट्र बैंकका गभर्नर निलम्वन गर्ने काम पनि कांग्रेसले गरेको एमालेले उल्लेख गरेको छ। 

प्रहरी संगठनमा प्रचलित ऐन नियमको दायरा उल्लंघन गर्दै नियुक्ति र बढुवा गरी सुरक्षा संगठनलाई तहसनहस पार्नुका साथै आधारभूत वस्तु उत्पादन गर्ने सरकारी उद्योगहरूलाई निजीकरणको बहानामा कौडीको मूल्यमा बेची राष्ट्रिय सम्पत्ति दोहन गर्ने काम कांग्रेसले गरेको एमालेको जिकिर गरेको छ। 

कर फछ्र्यौटको बहानामा सरकारलाई तिर्नु÷बुझाउनुपर्ने एकिन भइसकेको राजस्व मिलेमतोमा छुट माफी गरी देश र जनताको सम्पत्ति÷राजस्व खाने, परिवारका सदस्य र नातेदारहरूको मिलेमतोमा योजना रचेर निर्धक्क भ्रष्टाचार गर्ने, प्रहरी प्रशासन र सम्पूर्ण राज्य संयन्त्रको दुरूपयोग गरी सत्ताभोग गर्नेलगायतका देश र जनताविरोधी कार्यहरू कांग्रेसको सरकारले गरेको इतिहासका रुपमा स्मरण गरेको छ। 

कांग्रेसको शासनकालमा आर्थिक वृद्धि, कृषि, उद्योग, व्यापार–व्यवसायको विकासलाई तीब्र गति दिन, बेरोजगारी, अभाव, गरीबी, विपन्नताको अन्त्य गरी देशलाई समृद्ध बनाउनका लागि देश र जनताकेन्द्रित कुनै सोंच, नीति र कार्यक्रम नै नभएको अपीलमा लेखिएको छ। 

‘कांग्रेसकालमा आधुनिक भौतिक पूर्वाधार विकासका कुनै योजना न सुरू भए, न त सम्पन्न नै भए,’ अपीलमा लेखिएको छ, ‘शिक्षा र स्वास्थ्य क्षेत्रमा राज्यको भूमिकालाई अत्यन्त कमजोर बनाइयो, सामाजिक सुरक्षा र लोककल्याणप्रति निरन्तर उदासीनता देखाइयो।’ 

कांग्रेसको पालामा महिला, दलित, अपांग, जनजाति, आदिवासी, मानव सूचकांकमा पछि परेका भौगोलिक क्षेत्र र बासिन्दाको उत्थानका लागि कुनै कार्यक्रम नै नआएको एमालेको दाबी छ। 

कांग्रेसले घरबारविहीन सुकुम्बासीहरूका लागि कुनै सम्बोधन नगरेको, सुकुम्वासीलाई लालपूर्जा वितरण गर्ने अवस्थामा पुगेको सुकुम्बासी समस्या समाधान आयोग पटक–पटक खारेज गरेको पनि एमालेले अपिलमार्फत् मतदातालाई स्मरण गराउने प्रयास गरेको छ।   

‘ज्येष्ठ नागरिक, एकल महिला, बालबालिकाहरूको हित र कल्याणमा कुनै ध्यान दिइएन, समाजमा व्याप्त कुरिती, कुप्रथाहरू हटाई सामाजिक परिवर्तन, रूपान्तरण र सशक्तीकरणका कुनै कार्यक्रमहरू कांग्रेस सरकारमा रहँदा सोच्दा पनि सोचिएनन्,’ एमालेले भनेको छ। 

आधुनिक विकास निर्माणतर्फ देशलाई लग्नै हुँदैन भन्ने मान्यतालाई कांग्रेस सरकारको विगतदेखिकै घोषित मान्यताका रुपमा चित्रित गर्दै एमालेले आशन्न निर्वाचनका लागि कांग्रेसको घोषणा–पत्रले पनि त्यसको पुष्टि गरेको जिकिर गरेको छ। 

‘कांग्रेस देश र जनताको विकास तथा समृद्धिका लागि आफू नीति कार्यक्रम ल्याउँदैन, विकास निर्माण र जनहितका लागि स्रोत–साधन छैन, अहिले केही पनि गर्न सकिँदैन, गर्न पनि हुँदैन, अझ आधुनिक विकास निर्माणतर्फ त देशलाई लग्नै हुँदैन, यो कांग्रेस सरकारको विगतदेखिकै घोषित मान्यता हो,’ एमालेको अपीलमा भनिएको छ, ‘हालै जारी भएको कांग्रेसको घोषणा–पत्रले पनि यसको पुष्टि गर्दछ।’ 

एमालेले ल्याएका नीति, कार्यक्रम र आयोजनाहरूलाई कांग्रेसले मजाक र गफ भन्ने गरेको, देशको समृद्धि र जनताको सुखलाई कांग्रेसले कोरा सपना र उल्टो विकास भन्ने गरेको भन्दै अपिलमार्फत् अध्यक्ष ओलीले आश्चर्यता प्रकट गरेका छन्। 

‘अचम्म त के लाग्दछ भने नेकपा एमालेले ल्याएका नीति, कार्यक्रम र आयोजनाहरूलाई कांग्रेस मजाक र गफ भन्दछ। देशको समृद्धि र जनताको सुखलाई कांग्रेस कोरा सपना र उल्टो विकास भन्छ,’ उनले भनेका छन्, ‘ठिकै पनि हो, उसका लागि त सुल्टो भनेको, परिवार, नातेदार, गुट र अवसरवादीको हित र सत्ताभोग नै हो।’ 

कांग्रेसले देशलाई गरीबी, विपन्नता, अभाव, लघुताभास र अनिश्चयको दुष्चक्रमा राखेर जनतामाथि शासन गर्न चाहँदै आएको एमालेको बुझाइ देखिन्छ। ‘राणा, राजा र कांग्रेसको सरकारले देशको विकास र जनताको सुख समृद्धिका लागि कुनै योजना अगाडि बढाएनन्,’ अपीलमा भनिएको छ, ‘सरकार कहिल्यै आधुनिकता र उत्कृष्टतातर्फ केन्द्रित रहेन। नेपाल जस्तो धर्तीको स्वर्गलाई संसारकै उत्कृष्ट राष्ट्र बनाउने अवसरलाई साकार पार्न कहिल्यै ध्यान दिएनन्।’ 

एमालेले आफूसँग कांग्रेसले सहकार्य गर्न नचाहेको भन्दै अपीलमा आक्रोश व्यक्त गर्दै कांग्रेसले विगतमा राणासँग सहकार्य गरेको इतिहाससमेत स्मरण गराएको छ। 

‘कांग्रेस एमालेसँग कहिल्यै सहकार्य गर्न चाहँदैन, यस्तो सोच्नु पनि अपराध ठान्दछ,’ अपीलमा भनिएको छ, ‘उसले राणाशाहीसँग सहकार्य गरेको इतिहास छ। कांग्रेसले निरंकुश राजतन्त्रसँग आफ्नो घाँटी जोडिएको सार्वजनिक घोषणा गरेको सर्वविदितै छ।’ 

एमालेले कांग्रेसकै नीति र अकर्मण्यताका कारण १० वर्षे सशस्त्र द्वन्द्वका लागि मार्गप्रशस्त भएको दाबीसमेत गरेको छ। 

‘कांग्रेसकै नीति र अकर्मण्यताका कारण सशस्त्र द्वन्द्वका लागि मार्गप्रशस्त भएको यथार्थ हो। कांग्रेसले नै जनताको सत्ता राजालाई बुझाएको धेरै भएको छैन,’ एमालेले भनेको छ, ‘अहिले पनि दक्षिणपन्थी, वामपन्थी अतिवाद र अवसरवादीहरूसँग घाँटी जोडेर गठबन्धन सरकार चलाएकै छ।’ 

एमालेले कांग्रेसमाथि जनादेशमा विश्वास नै नभएको आरोप लगाउँदै कांग्रेसले छलकपट, षड्यन्त्रबाट सत्ताभोग गर्न चाहने गरेको टिप्पणी गरेको छ। 

‘ऊ (कांग्रेस) जनादेशमा विश्वास गर्दैन। सकेसम्म मुद्दा मामिला, छलकपट, षड्यन्त्र र मिलावटबाटै सत्ताभोग गर्न चाहन्छ,’ एमालेको आरोप छ, ‘आफूलाई लोकतान्त्रिक शक्ति भन्दै लोकतन्त्रको चरम उपहास गर्दा पनि उसलाई लज्जाबोध हुँदैन। ऊ जनतामाथि विश्वास गर्दैन।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .