ad ad

राजनीति


चीनले ‘स्पेस’ बढाउँदै गएपछि सिधै लुम्बिनी आउँदै मोदी, अमेरिकाको पनि चासो

चीनले ‘स्पेस’ बढाउँदै गएपछि सिधै लुम्बिनी आउँदै मोदी, अमेरिकाको पनि चासो

चिनियाँ राजदूत, मन्त्री र अन्य अधिकारीहरूको लुम्बिनी भ्रमण बाक्लिँदै गएपछि पहिलो पटक भारतका प्रधानमन्त्री नरेन्द्र मोदी सिधै आउँदै छन्


सन्तोष घिमिरे
बैशाख २९, २०७९ बिहिबार २१:४८, काठमाडौँ

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी जेठ २ गते लुम्बिनी आउँदैछन्। लुम्बिनी भ्रमण गर्ने मोदी पहिलो भारतीय प्रधानमन्त्री हुनेछन्। भारतीय प्रधानमन्त्रीले डेढ घण्टा मायादेवी मन्दिरमा पूजाअर्चना गर्ने, भारतीय लगानीमा बन्ने बौद्ध सांस्कृतिक केन्द्र शिलान्यास गर्नेलगायत कार्यक्रम तय भइसकेका छन्।

केवल चारदेखि पाँच घण्टाका लागि उनी लुम्बिनी आउँदैछन्। 

प्रस्तावित बुद्धिस्ट सर्किटमा पर्ने भारतको कुशीनगर अन्तर्राष्ट्रिय विमानस्थलसम्म जहाजमा र त्यहाँबाट हेलिकोप्टरमा मोदी लुम्बिनी आउनेछन्। संक्षिप्त भए पनि भारतीय प्रधानमन्त्रीको लुम्बिनी यात्राका पछाडि धार्मिक तथा सांस्कृतिक कारणका अलावा भूराजनीतिक स्वार्थ पनि गाँसिएको नेपाल तथा भारतका विज्ञहरु बताउँछन्। उनीहरु भारतीय प्रधानमन्त्री मोदीको भ्रमणलाई सामान्य ‘कल्चरल डिप्लोमेसी’को आँखाबाट मात्र हेरेर नपुग्ने धारणा राख्छन्। 

भारत र चीनले लुम्बिनीलाई केन्द्रमा राखेर आफ्नो ‘स्पेस’ बढाउन प्रतिस्पर्धा गरिरहेको भूराजनीतिक मामिलाका जानकारहरु बताउँछन्। बदलिँदो भूराजनीतिक विश्व परिस्थितिमा चीनको रणनीतिक चासो समेत लुम्बिनीमा जोडिन आइपुग्दा भारत सशंकित बनेको भारतीय कूटनीतिज्ञका भनाइबाट बुझ्न सकिन्छ। 

नेपालका लागि पूर्व भारतीय राजदूत रन्जीत रेले केही वर्षयता लुम्बिनीमा अन्य मुलुकको पनि चासो रहेको बताए। विशेषगरी चीनले लुम्बिनीमा आफ्नो संलग्नता बढाउँदै लगेको उनी बताउँछन्। 

‘चीनले बुद्ध धर्मको प्रबद्र्धनका लागि लुम्बिनीलाई उपयोग गर्न खोजेको देखिन्छ। किनकि चीनले दक्षिणपूर्वी एसियाका बौद्ध मुलुकहरु र आफूलाई लुम्बिनीसँग जोडेर आफ्नो धार्मिक र व्यापारिक स्वार्थ पुरा हुने देखेको छ। त्यसैले उसले लुम्बिनीमा आफ्नो चासो बढाएको छ,’ रेले नेपालखबरसँगको टेलिफोन कुराकानीमा भने।

तर उनले लुम्बिनीमा भारतको कुनै भूराजनीतिक स्वार्थ नरहेको दाबी गरे। भारतीय प्रधानमन्त्री मोदीको लुम्बिनी भ्रमणले दुई देशबीचको सांस्कृतिक र धार्मिक सम्बन्धलाई विस्तार गर्ने उनको भनाई छ। 

‘लुम्बिनी नेपाल र भारतको साझा सांस्कृतिक सम्पदा हो, यसको विकासमा दुवैले मिलेर काम गर्ने अथाह सम्भावना छन्,’ उनले थपे। 

सन् २०१६ मे महिनामा चीनका मन्त्री काई फुचाओले लुम्बिनी भ्रमण गरेका थिए

सन् २००० यता चीनको संलग्नता बढ्यो 
लुम्बिनीमा चीनको परम्परागत सांस्कृतिक सहयोग र चासो शताब्दीऔँ अघिदेखिको हो। सातौं शताब्दीमा सेङ साइ, फा सियान र सुआन चाङजस्ता चिनियाँ बौद्धमार्गीले लुम्बिनी भ्रमण गरेका थिए। 

पछिल्लो समय सन् २००० यता देखिनेगरी लुम्बिनीमा चीनको संलग्नता बढ्दै गएको छ। लुम्बिनीमा २२ वर्षअघि चीनले बौद्ध मन्दिर बनाएको थियो। चीन सरकार मातहतको बुद्धिस्ट एसोसियसन अफ चाइनाले विदेशमा बनाएको त्यो नै पहिलो बौद्ध मन्दिर थियो।

एपेकका प्रमुख सियाओ उनन

लुम्बिनीमा अबौंँ लगानी गर्ने चीनको त्यो योजना 
दस वर्षअघि लुम्बिनीसँग अर्को घटनामा चीन जोडियो। सन् २०११ मा चिनियाँ गैरसरकारी संस्था एसिया प्यासिफिक एक्सचेन्ज एन्ड कोअपरेसन (एपेक) ले तीन अर्ब अमेरिकी डलर लुम्बिनी विकासमा खर्च गर्नेगरी एपेक र संयुक्त राष्ट्रसंघीय औद्योगिक विकास संगठन (युनिडो) बीच सम्झौता भएको सार्वजनिक भएको थियो। 

बेइजिङमा मुख्यालय रहेको एपेकले लुम्बिनी विकासमा देखाएको अग्रसरताप्रति भारत रुस्ट बन्यो भने अमेरिका, जापान तथा युरोपेली मुलुकले समेत शंका व्यक्त गरे। त्यसबेला माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई सहअध्यक्ष र पूर्वयुवराज पारस समेत एपेकको पदाधिकारी रहेको सार्वजनिक भएको थियो। 

यहीबीच तत्कालीन परराष्ट्रमन्त्री उपेन्द्र यादवले एपेक र युनिडोबीचको सम्झौताबारे सरकार बेखबर रहेको र सरकारलाई सम्झौता मान्य नभएको बेहोराको पत्र युनिडो मुख्यालयलाई लेखिदिएपछि लुम्बिनीलाई ‘बौद्धमार्गीको मक्कामदिना’ बनाउने चिनियाँ संस्थाको योजना तुहिएको थियो।  

विज्ञहरुका अनुसार चिनियाँ एनजीओ एपेकले लुम्बिनीमा गर्न लागेको लगानीप्रति भारत असन्तुष्ट बन्नुमा दुई कारण थिए। पहिलो, भूराजनीतिक र दोश्रो धार्मिक।

पहिलो, भारतीय भूभागबाट केही किलोमिटरको दुरीमा पर्ने लुम्बिनीमा चीनले आँखा लगाएकोमा भारतले त्यसलाई आफ्नो राष्ट्रिय सुरक्षा चुनौतीका रुपमा लिएको थियो। दोश्रो, गौतम बुद्धको जन्मस्थल लुम्बिनीको विकासमा चीन अघि सर्दा भारतले अघि सारेको लुम्बिनी समेत समेटेर बुद्धिस्ट सर्किट बनाउने योजनामा धक्का लाग्ने भारतीय बुझाइ थियो। 

भारतबाहेक अन्य मुलुक लुम्बिनीका मामिलामा प्रत्यक्ष सहभागी भएको वा परोक्ष रुपमा संलग्न भएको थाहा पाए भारतले त्यसलाई संशयका नजरले हेर्ने गरेको पाइन्छ। यो कुरालाई बल दिनेगरी भारत सरकार मातहतको नेसनल सेक्युरिटी एड्भाइजरी बोर्डका पूर्व सदस्य समेत रहेका सुरक्षा तथा गुप्तचर मामिला विज्ञ जयदेव रानाडेले सन् २०१६ मे महिनामा सन्डे गार्जियनमा एक लेख लेखे। 

लेखमा उनले लुम्बिनीमा त्यसवर्ष नेपाल सरकारद्वारा आयोजित अन्तर्राष्ट्रिय बुद्धिस्ट सम्मेलनलाई चीनको प्रत्यक्ष सहयोग गरेको दाबी गरे। उनले लुम्बिनीमा चीनको संलग्नता भारतका लागि सिधै सुरक्षा चुनौती हुने निष्कर्ष निकाले। 

‘चीनलाई लुम्बिनीमा आउन नदिनु भारतको राष्ट्रिय सुरक्षा चासोभित्र पर्छ,’ भारतीय बाह्य खुफिया एजेन्सी रिसर्च एन्ड अनालिसिस विङ (रअ) का पूर्व कर्मचारी समेत रहेका रानाडेले लेखेका छन्। 

माथि उल्लेख गरिएको युनिडो र एपेकबीचको सम्झौता तुहिएयता उत्तरी छिमेकी चीनले लुम्बिनीमा ठूलो लगानी गर्ने चाहना नदर्शाएको सरकारी अधिकारीहरु बताउँछन्। ठूलो लगानीमा जोड नगरे पनि लुम्बिनीमा चीनको चासो घटेको छैन। चीनले आफूलाई लुम्बिनीसँग जोडिएको एउटा सरोकारवाला पक्षको रुपमा प्रस्तुत गर्दै आएको छ। 

चीनले लुम्बिनीलाई रेलसँग जोड्ने महात्वाकांक्षी प्रस्ताव नेपालसँग राखेको केही वर्ष बितेको छ। केरुङदेखि काठमाडौँ, पोखरा हुँदै लुम्बिनीसम्म रेल जोड्ने विषय नेपाल र चीनबीच कूटनीतिक वार्ताका एजेन्डा बनेका छन्। यसबाट पनि चीनको लुम्बिनीप्रतिको रणनीतिक र धार्मिक चासो अझ बढेको बुझ्न सकिन्छ। 

चिनियाँ सरकारी अधिकारी एकाध वर्षको अन्तरमा लुम्बिनी पुगिरहेका हुन्छन्। सन् २०१५ अप्रिल महिनामा नेपाल आएका चीनको स्टेट एडमिनिस्ट्रेसन फर रिलिजियस अफेयर्सका निर्देशक वाङ चुओअनले राष्ट्रपति रामवरण यादव र तत्कालीन संस्कृतिमन्त्री दीपक अमात्यसँग लुम्बिनी विकासमा चीन इच्छुक रहेको बताएका थिए। उनी लुम्बिनी भ्रमणमा पनि गए। 

सन् २०१८ मा तत्कालीन पर्यटनमन्त्री रवीन्द्र अधिकारीले चीनसँग ‘ट्रान्स हिमालयन बुद्धिस्ट सर्किट’ निर्माणका लागि सहकार्य गर्न एक अवधारणा पेस गरे। चीनले सकारात्मक जवाफ दिए पनि उक्त अवधारणा अघि बढेन। 

चीनले लुम्बिनीमा चासो बढाउनुमा मुख्यतः तीन कारण देखिन्छन्। पहिलो, भारतसँग जोडिएको लुम्बिनीमा आफ्नो रणनीतिक उपस्थिति बलियो पार्न।

दोश्रो, चिनियाँ कम्युनिस्ट पार्टीले अरुभन्दा बौद्ध धर्मलाई बढी महत्व दिँदै आएको छ। किनकि चीनमा ठूलो संख्यामा बौद्धमार्गी छन्। तथापि चिनियाँ कम्युनिस्ट पार्टीले कुनै धर्म विशेषको वकालत चाहिँ गर्ने गरेको पाइँदैन। 

तेश्रो, आर्थिक र राजनीतिक रुपमा नेपालसँग विस्तार हुँदै गएको चीनको सम्बन्धमा लुम्बिनी चीनका लागि आफ्नो ‘सफ्टपावर’ बढाउने अर्को अस्त्र हुनसक्छ। चीनले तिब्बती बौद्ध धर्मलाई आफ्नै ढंगले व्याख्या गर्दै आएको छ भने दलाइ लामा समर्थक प्रवासी तिब्बतीको आफ्नै व्याख्या छ। 

लुम्बिनीमा देखिएको शक्तिराष्ट्रको राजनीतिका केन्द्रमा भारत र चीन नै छन्। भूराजनीतिक मामिलाका जानकार डा. चन्द्रदेव भट्ट लुम्बिनीलाई चीन वा अन्य शक्तिराष्ट्रले ‘हाइज्याक’ नगरुन् भन्ने भारतले चाहेको बताउँछन्। 

‘लुम्बिनी र बुद्धिस्ट सर्किटमा नेपाल र भारतको स्वामित्व रहन्छ। त्यसमा अरुको उपस्थिति बलियो भएको भारतले चाहँदैन भन्ने लाग्छ,’ उनले भने। 

पछिल्ला दिनमा चीनले आर्थिक तथा राजनीतिक रुपमा आफूलाई मजबुत बनाएको भए पनि उसको सौम्य शक्ति (सफ्ट पावर) अझै कमजोर रहेको डा. भट्टको तर्क छ। 

‘चीन आर्थिक रुपमा सशक्त भएको छ। उसको अन्तर्राष्ट्रिय राजनीतिमा प्रभाव पनि बढ्दो छ। तर उसको सफ्ट पावर बलियो छैन। सफ्ट पावरका लागि भारतजस्तै उसले पनि बुद्धिजमलाई नै लिएको छ। बुद्धिजमको केन्द्र त नेपाल र भारत नै हुन्। लुम्बिनी बुद्धिजमको केन्द्र भएको हुनाले चीनले पछिल्लो दिनमा लुम्बिनीमै सक्रियता बढाएको छ,’ उनले भने।

चिनियाँ राजदूत होउ यान्छी बौद्ध भिक्षुहरूसँग लुम्बिनीको चिनियाँ गुम्बा अगाडि

लुम्बिनीवरपरको पूर्वाधार विकासमा चिनियाँ संलग्नताले भारतलाई संशय
संयोग कस्तो परेको छ भने भारतीय प्रधानमन्त्री मोदी आउने दिनमा नै भैरहवा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आउँदैछ। प्रधानमन्त्री देउवाले त्यही दिन उक्त विमानस्थल उद्घाटन गर्दैछन्। लुम्बिनीबाट केवल १८ किलोमिटर मात्रै दुरीमा रहेको नेपालको दोश्रो अन्तर्राष्ट्रिय विमानस्थल उद्घाटन कार्यक्रममा मोदी सहभागी हुने छैनन्। 

उक्त विमानस्थल उद्घाटनमा भारतीय प्रधानमन्त्रीलाई नेपालले डाकेको भए राम्रो हुने थियो। तर सरकारी अधिकारीहरुका अनुसार चिनियाँ ठेकेदारले बनाएको विमानस्थल उद्घाटनमा भारतीय प्रधानमन्त्रीलाई बोलाउनु उपयुक्त नहुने निष्कर्षसहित नेपालले मोदीलाई त्यहाँ नबोलाएको हो। 

पाँच दशक अघिदेखि अन्तर्राष्ट्रिय समुदायको चासो
सन् १९६७ मा संयुक्त राष्ट्रसंघका तत्कालीन महासचिव उ थान्त लुम्बिनी आए। म्यानमारका नागरिक उ​ थान्तले आफैँ बुद्धिस्ट भएका कारण लुम्बिनीमा चासो दिए। उनको समेत अग्रसरतामा लुम्बिनीमा पूर्वाधार विकासका लागि अन्तर्राष्ट्रिय समिति बनाएर गुरुयोजना अघि बढाइयो। जसमा १३ बुद्धिस्ट मुलुकले चासो दिए। तर लुम्बिनीमा पूर्वाधार विकास गर्ने उक्त गुरुयोजनाले अहिलेसम्म पूर्णता पाउन सकेको छैन। 

लुम्बिनीको विकासबारे नेपालका तर्फबाट पटक—पटक चीन, भारत, थाइल्यान्ड, म्यानमार, श्रीलंका, दक्षिण कोरिया र जापान लगायत बौद्धमार्गी भएका मुलुकसँग विभिन्न अवसरमा सहकार्यको प्रस्ताव गरिए पनि त्यसमा कुनै प्रगति भएको देखिँदैन। ती मुलुकले आफ्ना गुम्बा लुम्बिनीमा खडा गरेको केही वर्ष बितिसकेको छ। 

लुम्बिनीमा भारतको चासो के छ? अब के गर्ला? 
एकदेखि डेढ अर्ब रुपैयाँ खर्चेर लुम्बिनीमा भारतले बौद्ध सांस्कृतिक केन्द्र बनाउने काम अघि बढाउन लागेको सरकारी अधिकारीहरु बताउँछन्।

लुम्बिनीको साझा विकासका लागि भारतले नयाँ पहल लिन खोजेको हुनसक्ने उनीहरुको बुझाइ छ। भारतीय प्रधानमन्त्री मोदीको भ्रमणमा भारतले बनाउने बौद्ध सांस्कृतिक केन्द्रको मोदी र देउवाले शिलान्यास गर्ने तयारी रहेको अधिकारीहरु बताउँछन्। त्यसका अलावा भारतले बुद्धिस्ट सर्किट निर्माणलाई पनि प्राथमिकतामा राखेको छ। 

भारतले लुम्बिनीको विकासमा आफ्नो चासो बढाएको एकाध वर्ष मात्रै भएको छ। सन् २०१४ मा भाजपाका मोदी सत्तामा आएपछि लुम्बिनीमा चासो बढेको देखिन्छ। चार पटक नेपाल आउँदा उनको प्राथमिकतामा लुम्बिनी समेत परेपनि भ्रमण भएको थिएन। अहिले चाहिँ उनी लुम्बिनीको मात्र भ्रमणमा आउँदैछन्। 

भूराजनीतिक मामिलाका जानकार डा. भट्ट मोदीले लुम्बिनी भ्रमण गर्नुलाई दुई देशबीचको धार्मिक तथा सांस्कृतिक सम्बन्ध विस्तारमा सकारात्मक मान्छन्।

‘नेपालमा गौतम बुद्धको जन्म र ज्ञान पाएका ठाउँलाई राष्ट्रवादको विषय बनाइन्छ। तर मलाई के लाग्छ भने भारतीय प्रधानमन्त्री मोदी त्यसमा प्रस्ट छन्। उनी आफैँ धर्म र अध्यात्ममा गहिरो विश्वास राख्ने राजनीतिज्ञ हुन्। उनलाई थाहा छ कि बुद्ध जन्मेको लुम्बिनीमै हो। उनले लुम्बिनीले कसरी नेपाल र भारतलाई धार्मिक तथा सांस्कृतिक रुपमा जोड्छ र त्यसबाट भारतको सौम्य शक्ति कसरी बढाउन सकिन्छ भन्नेमा ध्यान केन्द्रित गरेको देखिन्छ,’ डा. भट्टले नेपालखबरसँग भने। 

रामायणपछि अब बुद्धिस्ट सर्किट भारतको प्राथमिकतामा 
भारतले लुम्बिनीलाई जोडेर बुद्धिस्ट सर्किट बनाउने विषयमा नेपालसँग ठोस कुरा अघि बढाउन चाहेको विज्ञहरु बताउँछन्। 

‘लुम्बिनीलाई भारतको बोधगया, सारनाथ र कुसीनगरसँग जोड्ने गरी बौद्ध सर्किट निर्माण गर्न सकिए त्यसबाट लाखौं बौद्ध धर्मावलम्बी र पर्यटक भित्र्याउन सकिनेछ। त्यसले हाम्रो दुई देशबीचको धर्म, संस्कृतिक र सभ्यतामा आधारित सम्बन्ध अझ विस्तार गर्न मद्दत पुग्छ,’ पूर्वराजदूत रेले भने। 

डा. भट्ट पनि लुम्बिनीलाई मोदीले साझा सांस्कृतिक सम्पदाका रुपमा अघि बढाउन चाहेको हुनसक्ने बताउँछन्। 

‘मोदी लुम्बिनीलाई साझा सम्पदाको रुपमा अघि बढाउन चाहन्छन्। भारततर्फ भारतले कुशीनगर एयरपोर्ट बनाइसकेको छ। बुद्धिस्ट सर्किट विस्तारको कुरा छ। रामायण सर्किटको कुरा पहिल्यै भइसकेको छ,’ उनले भने, ‘मोदीले सांस्कृतिक सम्बन्ध बढाएर भारतको सौम्य शक्ति बलियो पार्न चाहेको देखिन्छ। सफ्ट पावरले नेपाल र भारत दुवैको हित हुन्छ किनकि हामी सांस्कृतिक रुपमा नजिक छौँ। केही राजनीतिक मुद्दामा समस्या रहे पनि धर्मले हाम्रा दुई देशलाई एकआपसमा जोड्छ।’​

अमेरिकी उपसहायक विदेशमन्त्री केली कीडरलिङ १९ अप्रिल २०२२ मा लुम्बिनी पुगेकी थिइन्

अमेरिकाको पनि चासो 
पछिल्लो समय संयुक्त राज्य अमेरिकाले पनि लुम्बिनीमा चासो देखाइरहेको छ।

दक्षिण एसिया मामिला हेर्ने अमेरिकी उपसहायक विदेशमन्त्री केली किडरलिङले तीन साताअघि मात्रै लुम्बिनी भ्रमण गरेर लुम्बिनी विकास कोष र लुम्बिनी बौद्ध विश्वविद्यालयका प्रतिनिधिसँग भेटेर अमेरिकाको चासो दर्शाएकी थिइन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .