ad ad

राजनीति


लुम्बिनी आउन लागेका मोदीलाई मानार्थ विद्यावारिधि दिने कार्यक्रम रद्द

नेपालको बौद्ध विश्वविद्यालयमा ‘इन्डिया चेयर’ स्थापना हुने
लुम्बिनी आउन लागेका मोदीलाई मानार्थ विद्यावारिधि दिने कार्यक्रम रद्द

सन्तोष घिमिरे
जेठ १, २०७९ आइतबार २१:२१, काठमाडौँ

लुम्बिनी बौद्ध विश्वविद्यालयमा भारतका तर्फबाट पनि एकजना बौद्ध अध्ययन विषयका प्राध्यापक राखिने भएको छ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको सोमबार हुने लुम्बिनी भ्रमणमा क्रममा त्यससम्बन्धी एक समझदारीपत्रमा हस्ताक्षर हुने भएको हो।

भारतीय प्रधानमन्त्री मोदी ६ घण्टे भ्रमणमा सोमबार लुम्बिनी आउँदैछन्। भारतको कुशीनगर विमानस्थलसम्म जहाजमा र त्यहाँबाट हेलिकोप्टरमा मोदी नेतृत्वको उच्चस्तरीय प्रतिनिधिमण्डल लुम्बिनी उत्रनेछ। 

प्रधानमन्त्री शेरबहादुर देउवाको निमन्त्रणामा भारतीय प्रधानमन्त्री मोदी व्यस्त कार्यक्रम लिएर औपचारिक भ्रमणमा आउन लागेका हुन्।

मोदी लुम्बिनी भ्रमण गर्ने पहिलो भारतीय प्रधानमन्त्री हुन्। यसअघि कुनै पनि भारतीय प्रधानमन्त्रीले लुम्बिनी भ्रमण गरेका छैनन्। 

लुम्बिनी बौद्ध विश्वविद्यालयका उपकूलपति हृदयरत्न बज्राचार्यले समझदारीपत्र अनुसार विश्वविद्यालयमा ‘इन्डिया चेयर’ स्थापना हुने जानकारी दिए। 

‘इन्डिया चेयर’ को व्यबस्था बमोजिम बौद्ध विषय पढाउने एकजना भारतीय प्राध्यापक नियुक्त हुनेछन्। समझदारीपत्र तत्कालका लागि पाँच वर्षका लागि कायम रहने भएको छ। 

पाँच वर्षसम्म भारत सरकारले हरेक वर्ष नयाँ प्राध्यापक खटाउनेछ। ती भारतीय प्राध्यापकले ६ महिना लुम्बिनी बौद्ध विश्वविद्यालयमा एक सेमेस्टर अध्यापन गर्नेछन्। 

‘भारत सरकारले तलब सुबिधा दिएर बौद्ध विषयका प्राध्यापक खटाउनेछ। उनले विश्वविद्यालयमा बौद्ध विषयबारे अध्यापनका अतिरिक्त खोज, अनुसन्धान र कार्यालयका काममा समेत सघाउनेछन्’ बज्राचार्यले नेपालखबरसँग भने। 

भारतीय सांस्कृतिक सम्बन्ध परिषद् (आइसिसिआर) र लुम्बिनी बौद्ध विश्वविद्यालयबीच ‘इन्डिया चेयर’ स्थापना गर्ने सम्बन्धमा समझदारीपत्रमा हस्ताक्षर हुन लागेको हो। 

प्रधानमन्त्री देउवा र भारतीय प्रधानमन्त्री मोदीको उपस्थितीमा समझदारीपत्रमा भारतीय दूतावासका उच्च अधिकारी र लुम्बिनी बौद्ध विश्व विद्यालयका पदाधिकारीले हस्ताक्षर गर्नेछन्। 
 

एकअर्को मुलुकबीच विश्वविद्यालयमा चेयर स्थापना गर्ने अन्तर्राष्ट्रिय अभ्यास छ। नेपालले पनि १० वर्षअघि भारतको काशीस्थित बनारस हिन्दू विश्वविद्यालयमा ‘नेपाल चेयर’ स्थापना गरेको थियो। 
नयाँ दिल्लीस्थित तत्कालीन कार्यवाहक नेपाली राजदूत खगनाथ अधिकारी र काशी हिन्दू विश्वबिद्यालयका पदाधिकारीबीच त्यससंबन्धि समझदारीपत्रमा हस्ताक्षर भएको थियो। समझदारीपत्रअनुशार नेपालका तर्फबाट एकजना प्राध्यापक राख्ने सहमति भएको थियो। 

परराष्ट्र मन्त्रालयका अधिकारीहरुले पनि ‘इन्डिया चेयर’ स्थापना संबन्धि समझदारीपत्रमा हस्ताक्षर हुन लागेको पुष्टि गरे। 

‘बौद्ध अध्ययन तथा अनुसन्धानका लागि नेपाल र भारतबीच सहकार्यका लागि यो महत्वपूर्ण छ’ मन्त्रालयका एक उच्च अधिकारीले नेपालखबरसँग भने। 

मोदीलाई मानार्थ विद्यावारिधि दिने कार्यक्रम रद्द 
लुम्बिनी बौद्ध विश्वविद्यालयले भारतीय प्रधानमन्त्री मोदीलाई अनररी डक्टरेट (मानार्थ विद्यावारिधि) दिने तयारी गरे पनि अन्तिम समयमा प्राविधिक कारण देखाएर उक्त कार्यक्रम रद्द गरिएको छ।

विश्वविद्यालयका उपकुलपति बज्राचार्यले भारतीय प्रधानमन्त्रीलाई मानार्थ विद्यावारिधि दिने कार्यक्रम समय अभावका कारण सोमबार नहुने बताए। 

‘मोदीजीलाई अनररी डक्टरेटका दिनका लागि तयारी गरेका थियौं। त्यसका लागि सिनेट बैठक बसेर अन्तिम निर्णय गर्नुपर्ने थियो। तर, समय अभावका कारण बैठक बस्न सकेन। त्यसैले तत्कालका लागि त्यो कार्यक्रम सम्भव भएन’ उनले भने। 

यसअघि लुम्बिनी बौद्ध विश्व विद्यालयको एकेडेमिक काउन्सिलले मोदीलाई अनररी डक्टरेट दिनका लागि प्रमाणपत्रको व्यहोरासमेत पास गरिसकेको थियो। मोदीले बौद्ध धर्मका क्षेत्रमा पुर्याएको योगदानका लागि विश्व विद्यालयले अनररी डक्टरेट दिने तयारी गरेको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .