राजनीति


देउवालाई जसपा नेताको प्रश्न : गठबन्धनबाटै प्रधानमन्त्री हुने, हामीलाई धोका दिने?

भन्छन् : यस्तो गठबन्धनको औचित्य रहेन
देउवालाई जसपा नेताको प्रश्न : गठबन्धनबाटै प्रधानमन्त्री हुने, हामीलाई धोका दिने?

फाइल तस्बिर


शैलेन्द्र महतो
जेठ १०, २०७९ मंगलबार ११:५९, जनकपुरधाम

नेपाली कांग्रेसको असहयोगका कारण जनकपुरधाम उपमहानगरपालिकामा पाँचदलीय गठबन्धनबाट मेयर पदका उम्मेदवार लालकिशोर साह पराजित भएका छन्। जनकपुरको यो घटनाले कांग्रेस र जसपाबीचको सम्बन्धमा दरार आउने देखिएको छ।

नेपाली कांग्रेसले अन्तरघात गरेको र धोका दिएको भन्दै जनता समाजवादी पार्टीका नगर सभापति विष्णुदेव साहले प्रधानमन्त्री शेरबहादुर देउवा र नेता विमलेन्द्र निधिमाथि प्रश्न उठाएका छन्।

जनकपुरधाम उपमहानगरमा जनता समाजवादी पार्टीको भागमा उम्मेदवार बनेका निवर्तमान मेयर लालकिशोर चौथो नम्बरमा सीमित भए। जसपासमेतको भोटले कांग्रेसले उपमेयरमा समेत जित हात पार्यो।

नेपाली कांग्रेसका बागी उम्मेदवार मनोजकुमार साह मेयरमा निर्वाचित भएका छन्। त्यस्तै, गठबन्धनअन्तर्गत कांग्रेसबाट उपमेयर पदमा किशोरी साह विजयी भएका छन्।

गठबन्धनको भागवण्डा अनुसार जसपाको भागमा मेयर परेपछि कांग्रेस नेता मनोज साहले पार्टीबाट विद्रोह गर्दै स्वतन्त्र उम्मेदवारी दर्ता गराएका थिए। उनी कांग्रेसका नगर सभापतिसमेत हुन।

०७४ को चुनावमा जसपाका लालकिशोर मेयरमा निर्वाचित हुँदा कांग्रेसबाट उम्मेदवार रहेका मनोज निकटतम प्रतिद्वन्द्वी थिए। उनी सोहीबेलादेखि मेयरमा फेरि कांग्रेसबाट चुनाव लड्ने तयारी गर्दै थिए।

यसपालि बागी उम्मेदवारलाई कांग्रेसले मतदान गरी जिताएर गठबन्धनसँग अन्तरघात गरेको जसपाको आरोप छ। उपमहानगरको चुनावको नतिजा र गठबन्धनको विषयमा केन्द्रित रहेर जसपाका जनकपुर नगर अध्यक्ष विष्णुदेव साहसँग नेपालखबरले गरेको कुराकानीको सम्पादित अंश :    

जनकपुरधाम उपमहानगरमा पाँच दलभित्र चुनावी गठबन्धन भएको हो कि होइन?
जनकपुरधाम उपमहानगरमा पाँचदलीय चुनावी गठबन्धन भएकै हो। यो कुरा कसैबाट लुकेको छैन। 

तर, पाँचदलीय गठबन्धन हुँदाहुँदै कांग्रेसका बागी उम्मेदवार मनोज साहले मेयरमा जिते, गठबन्धनका उम्मेदवार लालकिशोर किन हारे?
जनताको मत नआएपछि पराजित भएको हामीले स्वीकार गरेकै हौँ। तर, गठबन्धनभित्रको दल कांग्रेसले ठूलो धोकाधडी र अन्तरघात गर्यो। कांग्रेसले गठबन्धनको परिपालना गरेन।

गठबन्धनकै बलमा आज शेरबहादुर देउवा प्रधानमन्त्री हुनुहुन्छ। राष्ट्रियसभामा ८ वटा सिट कांग्रेसले जितेको छ। सबै लाभ लिने काम कांग्रेसले गर्यो। तर, आज आएर कांग्रेसको विश्वासघाती राजनीतिले जनकपुरमा गठबन्धनबाट मेयरका उम्मेदवार पराजित हुनुपर्यो।

जनकपुरमा कांग्रेस मात्र अन्तर्घात गर्यो कि गठबन्धनभित्रका माओवादी केन्द्र, एकीकृत समाजवादीले पनि?
होइन, यी पार्टीहरूको जनकपुरमा उपस्थिति धेरै कमजोर छ। यी दुई दलले सकेजति सहयोग गरेकै छन्। तर, प्रमुख षडयन्त्र गठबन्धनको खिलाफमा कांग्रेसले गरेको छ। कांग्रेसका जुन यहाँका नेतृत्वकर्ता छन्, तिनले यसको जिम्मेवारी लिनुपर्छ।

जनकपुरका २५ वटै वडाको मतपत्रमा कांग्रेसीहरुले एउटा घण्टाघरमा र बाँकी रुख चिन्हमा मतदान गरेका छन्। त्यसैले कांग्रेसले ठूलो विश्वासघात गरेको छ। जसपाले गठबन्धन अनुसार कांग्रेसबाट उपमेयरको उम्मेदवार रहेका किशोरी साहलाई मतदान गरेकै छन्। यो सबैले मूल्यांकन गरिरहेका छन्। 

गठबन्धनमा कांग्रेसले धोका दियो, विश्वासघात गर्यो भन्नुभयो, त्यसो भए कांग्रेससँग जसपाको सम्बन्ध कस्तो रहन्छ?
हामी भन्छौं, जसले एकपटक धोका दिइसकेपछि उसँग सम्बन्ध राख्नु ठीक होइन। तर, निर्णय गर्ने अधिकार केन्द्रीय नेताको छ। कांग्रेसले गरेको अन्तर्घातको संज्ञान हाम्रो पार्टीको केन्द्रीय नेताले नलेला जस्तो लग्दैन। पक्कै पनि यो विषयमा केन्द्रले गम्भीर छलफल, बहस, विश्लेषण र समीक्षा गरी कुनै निर्णय लिन्छ भन्ने मलाई विश्वास छ।

अगामी प्रदेशसभा र प्रतिनिधिसभा चुनावमा जनकपुरमा कांग्रेससँग गठबन्धन हुन्छ कि हुँदैन?
गठबन्धन रहन सक्छ। तर, अन्तरघात गर्ने नेताहरूमाथि कारबाही गरेको खण्डमा खण्डमा। तब मात्रै अगाडि गठबन्धन बढ्न सक्छ। यदि यही हिसाबले रह्यो भने यो गठबन्धनको कुनै औचित्य रहँदैन। आज कांग्रेसले गर्यो भने भोलि जसपाले गर्दैन भन्ने ग्यारेन्टी रहँदैन। त्यसैले यो विषयमा छलफल, समीक्षा, बहस हुन जरुरी छ।  

जनकपुरमा गठबन्धन किन असफल भयो?
यो विषयमा कांग्रेस नेता विमलेन्द्र निधिले जवाफ दिनुपर्छ । निधिले विभिन्न स्थानमा गठबन्धनको खिलाफमा अभिव्यक्ति दिनुभएको छ। विभिन्न क्रियाकलाप गर्नुभएको छ। कांग्रेस सभापति शेरबहादुर देउवाले यसको नैतिक जिम्मेवारी लिनुपर्छ।

बिराटनगर, जनकपुरधाम उपमहानगर र कलैया उपमहानगरमा जुन कांग्रेसले अन्तरघात गरेको छ, यो सबैको जवाफ देउवाले नै दिनुपर्छ। कांग्रेस हरेक ठाउँमा अन्तरघात गरेको छ। गठबन्धनको धर्म निभाएन।

कांग्रेसले किन यसरी धोका दिएको होला?
कांग्रेस धोखाधडीको राजनीति गर्ने पार्टी हो। जनकपुरमा विगतमा पनि यस्तै काम गरेको छ। धनुषा जिल्लामा विश्वासघात गर्नु विमलेन्द्र निधिको पुरानो इतिहास छ। निधि व्यक्तिवादी चरित्रको मान्छे हुनुहुन्छ। 

हाम्रो पार्टी यो विषयमा शिक्षा लिन्छ। अन्तरघात गर्ने नेतामाथि कारबाही हुनुपर्छ। नभए यो गठबन्धन लामो समयसम्म चल्न सक्दैन।

कांग्रेसले अन्तरघात गरेकोमा माफी माग्नुपर्छ भन्न खोज्नुभएको हो?
कांग्रेसले अन्तरघात गरेकोमा माफी मात्र मागेर पुग्दैन। माफी मागेर मात्र समस्याको समाधान हुँदैन। गठबन्धनविरुद्ध लाग्ने, षडयन्त्र गर्ने, अन्तरघात गराउने नेतामाथि कांग्रेस नेतृत्वले कडा कारवाही गर्नुपर्छ। नभए हामी आफ्नो नेतालाई कांग्रेससँग गठबन्धन अगाडि नबढाउन माग गर्छौँ।

अन्तरघात, विश्वासघात गर्ने गठबन्धनको कुनै औचित्य छैन। यदि त्यस्ता नेतामाथि कांग्रेसले कारबाही गर्यो भने लोकतन्त्र, संघीयता, गणतन्त्रको रक्षाको लागि गठबन्धन कायम राख्नुपर्छ  

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .