ad ad

राजनीति


जिसस कैलालीको निर्वाचनमा स्वतन्त्र र विद्रोही निर्णायक

जिसस कैलालीको निर्वाचनमा स्वतन्त्र र विद्रोही निर्णायक

यज्ञराज जोशी
जेठ १९, २०७९ बिहिबार ८:५३, काठमाडौँ

जिल्ला समन्वय समिति(जिसस)कैलालीको निर्वाचनमा स्वतन्त्र र विद्रोही उम्मेदवारको मत निर्णायक बन्ने भएको छ।

संवैधानिक व्यवस्थाअनुसार स्थानीय तहको निर्वाचन भएको एक महिनामा जिससको निर्वाचन भइसक्नुपर्छ। सोही व्यवस्थाअनुसार कैलाली जिससको निर्वाचन यही जेठ ३० गते गर्ने निर्णय भएको छ।

धनगढी उपमहानगरपालिकामा स्वतन्त्रतर्फबाट विजयी गोपाल हमाल र कैलोरी गाउँपालिकामा गठबन्धनविरुद्धमा गई विजयी भएर कारबाहीमा परेका कांग्रेस नेता रामसमझ चौधरीको मत निर्णायक बन्ने देखिएको छ।

जिसस निर्वाचनमा कैलालीका १३ स्थानीय तहका २६ प्रमुख, उपप्रमुख तथा अध्यक्ष, उपाध्यक्षले मतदान गर्नेछन्।

जिससको नेतृत्व हत्याउन १४ मत आवश्यक पर्छ। यहाँ गठबन्धनबीच तालमेल हुँदा तथा गठबन्धन बाहिर तालमेल हुँदा पनि ठूला दलको बहुमत नपुग्ने अवस्था छ।

कैलालीमा सत्ता गठबन्धनसँग कांग्रेसका ७, माओवादीका ४ र एकीकृत समाजवादीले १ गरी १२ मत छ। यदि धनगढी उपमहानगरपालिकाको मेयरमा स्वतन्त्र रुपमा विजयी गोपाल हमाल र कारबाहीमा परेका कैलोरी गाउँपालिकाका रामसमझ चौधरीले गठबन्धनलाई साथ दिने हो भने जिसस कैलालीको नेतृत्व गठबन्धनले हत्याउन सक्छ।

नेपाली कांग्रेसबाट कैलारी गाउँपालिका उपाध्यक्ष, गोदावरी नगरपालिका प्रमुख, गौरीगंगा नगरपालिका उपप्रमुख, घोडाघोडी नगरपालिका उपप्रमुख, चुरे गाउँपालिका उपाध्यक्ष, मोहन्याल गाउँपालिका उपाध्यक्ष र लम्की चुहा नगरपालिका प्रमुख जिससका मतदाता हुन्

त्यस्तै, माओवादीबाट जिससका मतदातामा गौरीगंगा नगरपालिका प्रमुख, टिकापुर नगरपालिका उपप्रमुख, बर्दगोरीया गाउँपालिका उपाध्यक्ष र मोहन्याल गाउँपालिका अध्यक्ष हुनेछन् ।

माधव नेपाल नेतृत्वको एकीकृत समाजवादी पार्टीबाट घोडाघोडी नगरपालिकाका प्रमुखले जिससको चुनावमा मतदान गर्न पाउनेछन् ।

यी ४७ जिल्ला : जहाँ गठबन्धनबिना जिसस बन्दैन, २ वटामा कांग्रेस-एमाले बराबर

कैलालीमा एमालेले गठबन्धनबाहेकको विपक्षी गठबन्धन गर्दा पनि स्थिति त्यस्तै छ। यहाँ रेशम चौधरीको नागरिक उन्मुक्ति पार्टीको मत ७ र एमालेको ५ मत छ। यसमा हमाल र रामसमझ चौधरी मिसिने हो भने जिससको नेतृत्व गठबन्धन बाहिर जाने निश्चित छ।

कैलालीमा बुधबार बसेको सर्वपक्षीय बैठकले जेठ ३० गते जिससको निर्वाचन गर्ने मिति तय गरेको छ।

मुख्य निर्वाचन अधिकारी जयानन्द पनेरुका अनुसार २० गते मतदाता नामावली प्रकाशनबाट हुनेछ। जेठ २२ गते उम्मेदवारको मनोनयन दर्ता, २४ गते उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्दै २५ गते उम्मेदवारलाई चुनाव चिह्न प्रदान गर्ने कार्यक्रम  छ। जेठ ३० गते जिसस कैलालीमा बिहान ७ बजेदेखि दिउँसो १ बजेसम्म मतदान हुनेछ।

कैलारी गाउँपालिकामा गठबन्धनको सिट बाँडफाँटमा माओवादी केन्द्रको भागमा परेको थियो । तर, उम्मेदवारी फिर्ता लिने बेलासम्म गठबन्धन दलमा सहमति नजुट्दा कांग्रेसका तर्फबाट अध्यक्षमा राजसमझ चौधरीको उम्मेदवारी कायम रह्यो र उनले गठबन्धनका उम्मेदवारलाई पराजित गर्दै जिते । चुनाव जितेपछि कांग्रेसले उनलाई पार्टीबाट कारबाही गरेको छ। जिससको निर्वाचनमा चौधरी निर्णायक मध्येका एक बन्नेछन्।

धनगढी उपमहानगरपालिकाका प्रमुख गोपाल हमाल पनि स्वतन्त्रतर्फबाट जिससका मतदाता हुन् ।

एमालेका तर्फबाट जिससका मतदातामा धनगढी उपमहानगरपालिका उपप्रमुख, गोदावरी नगरपालिका उपप्रमुख, चुरे गाउँपालिका प्रमुख, बर्दगोरिया गाउँपालिका अध्यक्ष र लम्कीचुहा नगरपालिका उपप्रमुखसमेत ५ जना सहभागी हुनेछन् ।

रेशम चौधरीको पार्टीसँग कैलालीमा एमालेको भन्दा बडी भोट छ । चौधरीको नागरिक उन्मुक्ति पार्टीबाट टीकापुर नगरपालिकाका प्रमुख, भजनी नगरपालिकाका प्रमुख र उपप्रमुख, जानकी गाउँपालिका अध्यक्ष र उपाध्यक्ष एवं जोशीपुर गाउँपालिका अध्यक्ष र उपाध्यक्षले जिससमा भोट हाल्नेछन् । 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .