ad ad

राजनीति


दुईदिन पनि टिकेन कैलालीमा माओवादी एमाले सहमति, फेरि गठबन्धनमै फर्कियो माओवादी

दुईदिन पनि टिकेन कैलालीमा माओवादी एमाले सहमति, फेरि गठबन्धनमै फर्कियो माओवादी

यज्ञराज जोशी
जेठ २१, २०७९ शनिबार ९:०, काठमाडौँ

दुईदिन अगाडिमात्रै कैलाली जिल्ला समन्वयन समिति(जिसस)मा गठबन्धन बाहिर गई नेकपा एमालेसँग लिखित बागबन्डाको सहमति गरेको नेकपा माओवादी केन्द्र पुनः सत्ता गठबन्धनमै फर्किने भएको छ।  

शनिबार बिहान कैलालीको मसुरियामा बसेको गठबन्धनको बैठकमा माओवादी केन्द्रले सत्ता गठबन्धनसँगै जाने निर्णयक गरेको हो। मसुरियामा गठबन्धनका नेपाली कांग्रेस, माओवादी केन्द्र र एकिकृत समाजवादीले जिससमा एक भएर जाने सहमति गरेका हुन। 

बैठकको नेतृत्व गरेका नेपाली कांग्रेस कैलालीका जिल्ला सभापति नारायणदत्त भट्टले गठबन्धनलाई निरन्तरता दिने लिखित सहमति नै भइसकेको बताए। 

‘जिससमा गठबन्धनलाई नै निरन्तरता दिने हस्ताक्षरसहितको सहमति भइसकेको छ। प्रमुख कांग्रेसले र उपप्रमुख माओवादीले पाउँने सहमति भएको हो,’ भट्टले नेपालखबरसँग भने, ‘समाजवादी र हाम्रोबीचमा अलिकति सदस्यमा सहमति हुन बाँकी छ। बाँकी कुरा मिलिसक्यो।’

भट्टका अनुसार माओवादीले उपप्रमुखसहित चार सदस्य पाउने सहमति भएको छ। तर एकिकृत समाजवादी र कांग्रेसबीच सदस्यको भागबन्डा मिलेको छैन। आइतबारसम्म सहमति हुने उनले बताए। बिहीबारमात्रै कांग्रेस र एकिकृत समाजवादीलाई वाइपास गर्दै माओवादीले जिसस कैलालीमा नागरिक उन्मुक्ति पार्टी, र नेकपा एमालेसँग भागबन्डाको सहमति गरेको थियो। 

यो पनि: कैलालीमा भत्कियो गठबन्धन, जिल्ला समन्वय समितिमा एमाले-माओवादी मिल्ने

उक्त सहमति अनुसार ३० गते हुने तय भएको जिसस कैलालीको निर्वाचनमा प्रमुखसहित दुई सदस्य नागरिक उन्मुक्ति पार्र्टीलाई, उपप्रमुखसहित २ सदस्य एमालेलाई र ४ सदस्य माओवादी केन्द्रलाई दिने लिखित सहमति गरेका थिए। 

तर उक्त सहमति भएको दुई दिन नबित्दै माओवादीले पुनः गठबन्धनमै रहने निर्णय गरेको हो। 

‘गठबन्धन कायम राख्ने, निरन्तरता दिने सहमति भएको छ,’ गठबन्धनको बिहान भएको बैठकमा सहभागी माओवादी केन्द्रका जिल्ला संयोजक लाजुराम चौधरीले भने, ‘आज मसुरियामा बसेको बैठकले माथि गठबन्धन हुने भएपछि तलपनि गठबन्धन गर्ने भन्ने सैद्धान्तिक र नीतिगत रुपमा सहमति भएको छ।’  

यो पनि: कैलालीमा किन भत्कियो गठबन्धन ? माओवादी इञ्चार्ज भन्छन् – कांग्रेसले पेल्न खोज्यो, एमालेसँग मिलेर जवाफ दियौँ

१३ स्थानीय तह रहेको कैलालीमा जिससको निर्वाचनका लागि २६ मत छ। जितका लागि १४ मत आवश्यक पर्छ।

कैलालीमा कांग्रेसको ८ (कारबाहीमा परेका सहित), माओवादी केन्द्रको ४ र एकिकृत समाजवादीको १ मत रहेको छ। नेतृत्व हत्याउँनका लागि गठबन्धनले अझै एमालेसँग नमिल्ने हो भनेपनि  रेशम चौधरीको नागरिक उन्मुक्ति पार्टी, स्वतन्त्र उम्मेदवारसँग सहयोग माग्नु आवश्यक देखिन्छ। 

उन्मुक्ति पार्टीको ७ र एमालेको ५ मत छ। यस्तै धनगढी उपमहानगरपालिकाको मेयर जितेका स्वतन्त्र उम्मेदवार गोपाल हमालको पनि १ मत रहनेछ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .