नेकपा एमालेका स्थायी कमिटी सदस्य घनश्याम भुसालले पार्टी अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री हुँदा दुई पटकसम्म गरिएको संसद विघटनको निर्णय क्षम्य हुन नसक्ने बताएका छन्।
'कम्युनिस्ट आन्दोलन : संकट र अबको बाटो' शीर्षकको अन्तरक्रिया कार्यक्रमलाई बुधबार काठमाडौंमा सम्बोधन गर्दै भुसालले यस्तो बताएका हुन्।
'नेकपा मिल्दा केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री र अध्यक्ष आधा आधा समय बाँडफाँटको सहमति दुई वर्षसम्म गोप्य राखे', उनले भने, 'जुवा खेलेर यिनीहरुले गाउँभरी हल्ला गर्दै हिँडे। सहमतिको पोल खुलेपछि समस्या भयो।'
उनले नेकपाकालमा ओलीले बैठक नबोलाएपछि प्रचण्ड र माधव नेपालले अविश्वास प्रस्ताव राखेको टिप्पणी गरे।
'ओलीले पार्टी बैठक नबोलाएपछि प्रचण्ड र माधवले अविश्वासको प्रस्ताव अघि सारे। उनीहरुले पनि प्रक्रियासम्मत अविश्वास राख्नुपर्थ्यो', उनले भने, 'एउटाले बैठक बोलाउँदैन, अर्काले सही गर्दै हिँड्छ। दुईजनाको गोप्य सम्झौताको पोल खुलेपछि संसद विघटन गरियो। यो क्षम्य हुने कुरा होइन।'
भुसालले नेपाली कम्युनिष्ट आन्दोलन विग्रहको बाटोमा गएको पनि बताए। भुसालले महाकाली सन्धिसँगै संसदमाथि आक्रमण सुरु भएको बताए।
'यो त हुने कुरा होइन, राम्रो गरिरहेका छैनौँ हामीले। म मात्रै होइन, हरेक नेपाली किन संसदको पक्षमा उभिनुपर्छ', उनले भने, 'महाकाली सन्धिपछि भारतले पनि संसदमा हान्न थाल्यो। राजा पनि संसद अस्थिर बनाउन लागे। जनयुद्धको नेतृत्व गरेको माओवादी पनि संसद हान्न थाल्यो।'
त्यहीकारण संसद विघटन नै गर्न नसकिने गरी संविधान बनाइएको स्मरण उनले गरे। 'संसद विघटन नगर्ने गरी चार दिशा बाँधेर संविधान बनाइयो। तर गोप्य कुरा नमिलेपछि हामीले संसद हानिदियौँ', उनले भने, 'जनवादी केन्द्रीयताअनुसार तिमीहरु नबोल भनेर रोक्न खोजेर हुन्छ? संसद विघटन गलत थियो। यो राम्रो काम भएन।'
उनले ओलीतिर लक्षित गर्दै घरमा बसेको गौँथलीको गुँडमा घरमुलीले आगो लगाए जस्तै नेकपामा विवाद हुँदा संसदमा विघटन गर्नु सर्वथा अनुचित रहेको बताए।
'एउटा घरमुलीले घरमा गौँथली बस्यो भनेर गुँडमा आगो लगायो। अनि घर मूली आगो लगाएर मादल बजाउँदै हिँड्यो', संसद विघटनबारे उनले भने, 'बच्चाको टाउकोमा लिखा पर्यो भनेर मट्टीतेल खन्याएर आगो लगाए जस्तै गरियो। दुईजनाबीचको सहमतिको प्यान्डोरा बक्स खुल्दै गएपछि हाम्रो यो हालत भयो।'
भुसालले संसदको पहिलो तेस्रो र पाँचौँ, सातौँ पार्टी कम्युनिष्ट भए पनि देशमा शासन भने कांग्रेसले गरिरहेको बताए।
Shares

प्रतिक्रिया