ad ad

राजनीति


अब असारभित्रै कांग्रेसले गति लिन्छ : गगन थापा

अब असारभित्रै कांग्रेसले गति लिन्छ : गगन थापा

केशव सावद
असार ११, २०७९ शनिबार १७:२८, काठमाडौँ

नेपाली कांग्रेसका महामन्त्री गगन थापाले स्थानीय चुनावमा व्यस्त भएका कारण भ्रातृ संस्था र विभागले पूर्णता पाउन ढिलाइ भएको बताएका छन् । विभाग र भातृ संस्थाको चाबी सभापति शेरबहादुर देउवासँग रहेको बताउँदै थापाले आगामी सातासम्म यी काम पूरा हुने र कांग्रेसले गति लिने बताए ।

‘हामी ६ महिनामा गर्नुपर्ने काम गर्न चुक्यौँ। तर, ८–१० दिनभित्रै सबै काम टुंग्याउँ भन्ने हाम्रो प्रयास छ’ महामन्त्री थापाले नेपालखबरसँग भने, ‘वैशाखको ४–५ गतेदेखि हामी लगातार चुनावमै व्यस्त भयौँ। चुनावको लगत्तै हामी बाँकी कुरा टुंग्याउने तयारीमा थियौँ, सभापतिजीलाई शोक पर्यो। १४–१५ दिन हाम्रा सबै गतिविधि रोकिए।’

यसैबीच कांग्रेसको १४ औं महाधिवेशन सकिएको ६ महिना बित्दा पनि विभाग र भातृ संगठनले पूर्णता नपाएको भन्दै नेतृत्वको आलोचना हुन थालेपछि शुक्रबार सभापति शेरबहादुर देउवाले केही विभाग र भातृ संगठन बनाएका छन् । देउवाले उपसभापति पूर्णबहादुर खड्कालाई केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठान प्रमुखमा मनोनयन गरेका छन्।

कांग्रेसको विधान २०१७ (संशोधन सहित) को धारा ३६ (१) (क) र नियमावली २०७६ को नियम ३३ बमोजिम खड्कालाई प्रतिष्ठान प्रमुखमा मनोनित गरेका हुन्।

सभापति देउवाले पार्टीका दुई भातृ संगठन नेपाल किसान संघ र नेपाल आदिवासी जनजाति संघका अध्यक्ष पनि मनोनित गरेका छन्। सभापति देउवाले किसान संघको अध्यक्षमा गणेश तिमिल्सिना र आदिवासी जनजाति संघको अध्यक्षमा ओमबहादुर घर्ती मगरलाई नियुक्त गरेका हुन्।

यसअघि नेपाल विद्यार्थी संघ (नेविसंघ) र नेपाल तरुण दलको अध्यक्ष पनि मनोनित गरिएको थियो। अब फागुन ३ गते केन्द्रीय कार्यसमिति विघटन गरिएका १० मध्ये ६ भ्रातृ संगठनका प्रमुखहरु मनोनित गर्न बाँकी छ।

पार्टीको १४ औं महाधिवेशन सकिएको ६ महिना पूरा भएको सन्दर्भमा नेपाली कांग्रेसले संगठनात्मक काममा कस्तो गति समात्यो भन्नेबारे नेपालखबरको प्रश्नमा महामन्त्री थापाको समीक्षात्मक विश्लेषण उनकै शब्दमा- 

नेपाली कांग्रेसको नयाँ केन्द्रीय कार्यसमितिमा यो ६ महिनाभित्र आएको सबैभन्दा ठूलो राष्ट्रिय संलग्नता भनेको स्थानीय चुनाव हो हाम्रा लागि। निर्वाचनको परिणामको पृष्ठभूमिमा थुप्रै साथीहरुले स्वीकार गर्नुभएको कुरा हो– घरघर जाऔँ, कांग्रेसलाई जिताऔँ। यो अभियान देशभर संगठित ढंगबाट भयो। योबेला पार्टी कमिटीहरु सबै परिचालित भए। सिंगो पार्टीपंक्ति एउटा ठाउँसम्म पुग्ने परिस्थिति बन्यो। यसलाई सबै साथीहरुले स्वीकार गर्नुभएको अवस्था छ। 

पार्टी केन्द्रीय कार्यालयबाट चुनावमा जुन परिचालन भयो, चाहे त्यो घोषणापत्र बनाउने कुरा होला, चाहे अरु बाँकी रहेका परिचालनका कुराहरु होलान्, यी सबै पक्षमा हामीले ठीक ढंगबाट काम सम्पन्न गर्यौँ। 

पार्टीलाई प्रारम्भिक चरणमा नियमितरुपमा केन्द्रीय कार्यसमितिको बैठक राख्ने, कार्यसम्पादन समिति गठन गर्ने र भ्रातृ संस्थाका प्रमुखहरु नियुक्त गर्ने कुरा सुरुको चार महिनामा हामीले लय पनि ठीक ढंगले समात्यौँ। सबै ठीकठाक भयो। यसमा हाम्रो अलि बढी पहलकदमी पनि रह्यो। हामीले यसमा सभापतिमाथि एक प्रकारको प्रभाव र दबाव पनि राख्न सक्यौँ। उहाँले पनि यो कुरालाई सहजतापूर्वक लिनुभयो र ठीक ढंगले गयो। तर, जब हामी स्थानीय तहको निर्वाचनमा प्रवेश गर्यौँ, जब हामी तालमेल, गठबन्धनमा गयौँ, त्यस पछाडि सबै कुरा रोकिए।
अहिले खासमा तीनवटा कुरा उठेका छन्।

प्रथमतः ६ महिनाभित्र बनाइसक्नुपर्ने तोकिएको जुन विभाग हुन्, ती तोकिएकै समयमा बनुन् भन्ने हामी चाहन्थ्यौँ। त्यसका लागि गर्नुपर्ने गृहकार्य गरिसकेका छौँ। महामन्त्रीका तर्फबाट, पदाधिकारीको तर्फबाट गर्नुपर्ने सबै कुराहरु भइसकेको छ। तर, यसको चाबी सभापतिसँग हुने नै भयो।

यसो भनेर मैले दोष पन्छाएको होइन। अगाडि जुन कुरा सभापतिबाट गराउन सकेका थियौँ, यसपटक गराउन सकेनौँ। कार्यसम्पादनका बेला पनि तोकिएकै मितिभित्र काम हुनुपर्छ भनेर हामीले सभापतिलाई दबाव पनि दियौँ। सभापतिले गर्न सक्नु पनि भयो। हामीले विभाग पनि त्यही गर्न खोजेको हो, सकेनौँ। सायद हाम्रो दबाव पुगेन कि। प्रभाव राख्न सकेनौँ कि। यहाँनेर अहिले प्रश्न उठेको छ।

वैशाखको ४–५ गतेदेखि हामी लगातार चुनावमै व्यस्त भयौँ। सायद हामी एक महिना अगाडि नै यो कुरा सक्थ्यौँ होला। चुनावको लगत्तै हामी बाँकी कुरा टुंग्याउने तयारीमा थियौँ, सभापतिजीलाई शोक पर्यो। १४–१५ दिन हाम्रा सबै गतिविधि रोकिए। त्यसलगत्तै सरकार नीति तथा कार्यक्रममा संलग्न भयो। सभापतिजीले मेरो प्राथमिकता यो छ भनेपछि त्यसलाई हामीले पनि स्वीकार गर्यौँ। यस कारण हामी ६ महिनामा गर्नुपर्ने काम गर्न चुक्यौँ। तर, ८–१० दिनभित्रै सबै काम टुंग्याउँ भन्ने हाम्रो प्रयास छ।   

दोस्रो विषय हो– भ्रातृ संस्था। भ्रातृ संस्थाहरु वर्षौँदेखि, महिनौँदेखि खाली भएर बसेको अवस्था थियो। हामीले लगातार दबाव दियौँ अथवा भनौं, लय समात्यौँ। भ्रातृ संस्थाहरुको प्रमुख छानिने काम भयो। त्यसपछि पार्टीकै बैठक बसेर बाँकी रहेको काम सभापतिलाई जिम्मा दिने निर्णय गरिदियो। व्यवहारिक हिसाबले सजिलो होला भनेर हामीले जिम्मा दियौँ। 

योबीचमा हामीले दर्जनौँ पटक सभापतिजीलाई भेट्यौँ। अर्को महामन्त्री (विश्वप्रकाश शर्मा) जीले त यसरी भ्रातृ संस्थालाई पूर्णता दिउँ भनेर आइडियासमेत प्रस्ताव नै गर्नुभएको छ। तर, अघि भनेको जस्तो चाबी सभापतिजी कहाँ भयो। किनकि बैठकले निर्णय गरेर जिम्मा उहाँलाई दिएको छ। उहाँले त्यसलाई अगाडि नबढाउने बेलासम्म त्यसलाई अगाडि बढाउनुस् भन्ने अवस्था मात्र रहन्छ। दोस्रो हामी चुकेको भनेको यहाँ हो। 

तेस्रो– यति समयभित्र केन्द्रीय कार्यसमिति, यति समयभित्र केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्नुपर्छ भनेर बैठकको समयावधि विधानले तोकिदिएको छ। चुानाव अगाडिसम्म हामीले यसलाई ठीक ढंगले लगेका थियौँ। चुनावको एक महिनाको बीचमा यो बिग्रियो। अब यसलाई हामी तुरुन्तै लयमा ल्याइहाल्छौँ। मलाई लाग्छ, एक साताभित्र हामी बैठक बस्छौँ। बैठक बसेपछि केन्द्रीय कार्यसमिति को बैठक र केन्द्रीय कार्यसम्पादन समितिको बैठक ठूलो कुरा हुन्न। लयमा लिएर आउँछौँ।

हाम्रो अगाडिको च्यालेन्ज भनेको अहिलेसम्म जुन–जुन त्रुटि कमजोरी भए, ती त्रुटि कमजोरीलाई हामी यो असार महिना ननघाई विभाग पनि सबै बनाइसक्छौँ । भ्रातृ तथा शुभेच्छुक संस्था सबै बनाएर पार्टीको संरचनालाई पूर्णता दिने काम सम्पन्न गर्छौँँ । र, आगामी निर्वाचनका लागि पुरानो अनुभवका आधारमा गर्नुपर्ने तयारी छन्, चाहे त्यो घोषणापत्रको तयारी होस् वा अरु तयारी, यो पनि सुरु गर्छौँ, यसले गर्दा पछि समयको दबाव नरहोस्। यो खालको हाम्रो तयारी छ। 

अर्को कुरा– निर्णय गरेको तर कार्यान्वयनमा लैजान थोरै ढिलो भएको भनेको क्रियाशील सदस्यता खुलाउने विषय हो। कांग्रेसको विधानअनुसार क्रियाशील सदस्यता सधैँ खुला छ, जो आए पनि हुन्छ भनिन्छ। तर, अधिवेशनको वर्ष भने हामी सदस्यता दिन्नौँ। व्यवहारतः हामी अधिवेशनको वर्ष मात्रै क्रियाशील सदस्यता खोल्छौँ। त्यो पनि रजिस्ट्रेसन (दर्ता) गर्छौँ। 

यसपालि हामीले प्रस्ताव गरेर केन्द्रीय कार्यसमिति बैठकबाट निर्णय नै गराएर अहिले जुन गाउँमा जसले पनि क्रियाशील सदस्यता मागे सदस्य बन्न पाउने भनेर खुलाएका छौँ। त्यसलाई अगाडि बढाउन सदस्यता छाप्ने, बाँड्ने भन्ने कुराले गर्दा थोरै ढिलो भएको हो। तर, अब साता दिनभित्रै यो पनि सुरु हुन्छ। 

पार्टीमा संरचनागत सुधार ल्याउने कुरा भने ठीक ढंगले सुरुवात भएको छ। तर, यी सबै कुरा हुँदै गर्दा विभाग समयभित्र नबनेको र भ्रातृ संस्थाहरुले पूर्ण नपाउँदा प्रश्न उठेको हो, जुन स्वाभाविक पनि हो। यी दुवै कुरा थोरै ढिलो भएको छ । सभापतिजीको हातमा चाबी छ तर चाबी प्रयोग गर्न लगाउने बनाएरै छाड्छौँ भन्ने कुरा हो। 

केन्द्रीय कार्यसमिति बैठकमा जानुअघि नै हामी विभाग र भ्रातृ संस्था टुंग्याएर जान चाहन्छौँ। बैठकमा ७–८ दिन लाग्छ। हामी छलफलै गरिरहेका छौँ। तत्कालै कम्तिमा ८–१० वटा विभाग भए पनि बनाएर सुरुवात गर्ने भन्ने सोचाइले दुबै महामन्त्रीले काम गरेका छौँ। अलि भनेजस्तो हाम्रो गतिमा गर्न सकिएन। पार्टीको नेतृत्वलाई सँगसँगै लिएर हिँडाउनुपर्यो। एकलै हिँडेर मात्र हुँदैन। कहीँ न कहीँ अलिकति समस्या आएको छ। 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .